कविता संग्रह बेचेर बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण

दाङ, ५ पुस । कवि तिलक अधिकारीको कविता संग्रह हिमाल चढ्ने पाइलाहरुको बिक्रीबाट आएको रकमले बृद्धबृद्धाहरुलाई न्यायो कपडा सहयोग गरिएको छ । ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुको पहलमा १९ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा सहयोग गरिएको हो ।
कलेजका कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुले घोराही उपमहानगरपालिका तेरौटेस्थित वृद्धाश्रममा पुगेर एक कार्यक्रमको आयोजना गरी १९ जना वृद्धवृद्धाहरुमध्ये ९ जना वृद्धालाई जाडोमा लगाउने चौबन्दी र १० जना वृद्धालाई सुइटर बाँडेका हुन् । नेपाली विषयका शिक्षक कवि एवम् साहित्यकार तिलक अधिकारीको २०७१ सालमा प्रकाशित कविता संग्रह हिमाल चढ्ने पाइलाहरु कविता संग्रहको विक्रीबाट उठेको रकम वृद्धवृद्धाको लागि खर्च गरेको विद्यार्थीहरुले बताएका छन् ।
कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु निम विक र विक्रम खड्काको पहलमा तथा विद्यालयको सहयोगमा कार्यक्रम भएको थियो । कक्षा ११ र १२ मा अध्ययनरत करिव २० जना विद्यार्थीको उपस्थितिमा भएको कार्यक्रमको क्याम्पस प्रमुख हुकुम बुढाथोकीले विद्यार्थीहरुले गरेको कार्य प्रशंसनीय भएको भन्दै अगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यमा लाग्न आग्रह गरे ।
अगामी दोस्रो कार्यक्रम अन्तर्गत घोराही १५ मा रहेको बाल मन्दिरका अपाङ् विद्यार्थीलाई सहयोग गर्ने बताएका छन । यस्तै विद्यार्थीहरुको यस्तो सामाजिक काममा स्कूल प्रशासनको पूर्ण साथ रहने कुरा क्याम्पस प्रमुख हुकुम बुढाथोकीले बताए । 

Related News