​नुवाकोटमा कविता विमर्श तथा कविगोष्ठी सम्पन्न

दृष्टि न्यूज

काठमाडौं । वि.सं. २०७५ असार २३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले प्राथमिक कालदेखि वर्तमानसम्म नेपाली कविताको उन्नयनका निमित्त नुवाकोट जिल्लाको विशिष्ट योगदान रहिआएको बताउनु भयो ।
नुवाकोटको विदुर–४, बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको सभाहलमा नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग, नेपाली वाङ्मय परिषद् र नुवाकोट साहित्य प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘कविता विमर्श तथा कवि गोष्ठी’मा उहाँले सो कुरा बताउनु भएको हो ।
यसै सन्दर्भमा नुवाकोटमा कविता विधाको थप विकासका लागि केही योगदान दिन सकियोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको समेत उहाँले बताउनु भयो । यस्ता कार्यक्रमले स्थानीय प्रतिभाको प्रष्फुटन गराउनुका साथै जागरण ल्याउने उहाँको कथन थियो ।
प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य एव्म नेपाली वाङ्मय परिषद्का अध्यक्ष प्राज्ञ शशी लुमुम्बूले यस प्रकारका कार्यक्रमले प्रतिभाहरुको खोजी गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यस कार्यक्रमको उद्देश्य पनि यही हो ।’
कार्यक्रमबारे वाङ्मय परिषद्का सचिव टीका चाम्लिङले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नुवाकोटका कविताबारे शिवसुन्दर पुडासैनीले गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो भने गणेश पाण्डे र सुमित्रा सुमीले पुडासैनीको गोष्ठीपत्रमाथि सुझाव दिनुभएको थियो । 
कार्यक्रममा देउती दीर्घायु, रामप्रसाद चालिसे, प्रमिला परी, जानुका दाहाल, अर्जुनप्रसाद पराजुली, सुमित्रा सुमी, टीका चाम्लिङ, करण तामाङ, विष्णुप्रसाद सापकोटा, रामकृष्ण अमर, शिवसुन्दर पुडासैनी लगायतका कविहरुले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष चिरञ्जीवी भट्ट, नेपाल शिक्षक संघ, नुवाकोटका अध्यक्ष रामबहादुर थापा, नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकुष्ण गजुरेल, सल्लहाकार श्रीराम श्रेष्ठले नुवाकोटेली साहित्यका बारेमा आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । 

Related News