​कहाँ अलमलियो पार्टी एकता ?

गणतन्त्र दिवसको दिन घोषणाको तयारी

दृष्टि न्यूज

काठमाडौं, १ जेठ । मे १ मजदुर दिवसका दिन राष्ट्रिय सभागृहमा देखिएको माओवादी लडाकुहरुको बितण्डा र पछिल्लो समय चर्चामा आएको प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ट्वीट’ प्रकरणपछि पार्टी एकताको कुरा भन्दा पनि माओवादी नेताहरुको असन्तुष्टिले समाचार माध्यमहरुमा प्राथमिकता पाउन थालेको छ ।
केही समययता विकसित घटनाक्रमपछि नेकपा एमाले र माओवादीबीचको पार्टी एकताले अनपेक्षित मोड लिएको छ । खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरिएको व्यवहारका कारण एकता प्रक्रिया अन्योलमा परेको छ । 
हुन त प्रचण्डको राजनीतिक उदय नै छलछामबाट भएको हो भन्ने छर्लंगै छ । आफ्नो फाइदा जतातिर हुन्छ, त्यसैमा हाम फाल्ने प्रवृत्तिका कारण उनको अस्थिर छवि बनेको छ । पछिल्लोपटक आफैले समर्थन गरेको एमाले नेतृत्वको सरकार आफै ढालेका प्रचण्ड पछि एकाएक एमालेसँगै चुनावी गठबन्धन गर्न पुगेका थिए । कांग्रेसजस्तो अलोकप्रिय पार्टीसँग मिलेर चुनावमा जाँदा देशैभरिबाट आफ्नो पार्टी बढारिने र राजनीतिक अस्तित्व नै समाप्त हुने देखेर उनी रातारात एमालेको कित्तामा हाम फाल्न तयार भएका थिए । यति मात्र होइन, चितवन महानगरपालिकाको मेयरमा कांग्रेसको मतले छोरी रेणु दाहाललाई जिताउन त्यसै पनि हम्मे परिरहेको, त्यसमाथि त्यहीँका कांग्रेस नेता—कार्यकर्ताको मन जितेर आफ्नो पक्षमा मत माग्नु प्रचण्डका निम्ति थप चुनौतीपूर्ण थियो । आफ्नो व्यक्तिगत सुरक्षाका निम्ति पनि प्रचण्ड नयाँ राजनीतिक समीकरण बनाउन बाध्य भएका हुन् ।
एमालेले बृहत् कम्युनिस्ट पार्टी निर्माणको आशयबाट एकता प्रक्रिया अघि बढाएको भए पनि प्रचण्डले व्यक्तिगत चुनाव जित्ने रणनीतिअन्तर्गत बाम गठबन्धनमा सामेल हुने निर्णय गरेका थिए भन्ने कुरा विस्तार बाहिर आउन थालेको छ । बाम गठबन्धन घोषणा गर्दा पार्टी एकता गर्नेसम्मको उद्घोष गरियो र संयुक्त चुनावी घोषणपत्रसमेत तयार पारियो । त्यो उनको चतु¥याइँ मात्र थियो भन्ने कुरा उनका अहिलेका व्यवहारबाट देखाएको छ । चुनावी तालमेल वा गठबन्धन मात्र भन्दा निर्वाचनमा एमालेका सबै मत आफ्नो पक्षमा नपर्ने देखेर उनले पार्टी एकतालाई ‘तुरुप’का रुपमा उपयोग गरेको घटनाक्रमबाट प्रस्ट भएको छ ।
एमालेले हासिल गरेको लोकप्रियताको बलमा पार्टी जोगाएका प्रचण्डलाई यतिखेर ‘बार्गेनिङ’ गर्ने सुविधाजनक हैसियत मिलेको छ । त्यसैले उनी जनमत चिढिन नदिन बाध्यतावश एकता र छलफलको  अभिनयमा सामेल भइरहेका छन् । तर, एकतालाई टुंगोमा पु¥याउने, समाधानमुखी बन्ने र जनमतले दिएको हैसियत स्वीकार्ने सोचबाट उनी प्रस्तुत भइरहेका छैनन् । त्यसैले प्रचण्डले एकातिर एकता मिति चाँडै घोषणा हुन्छ भन्ने र अर्कोतिर बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतलाई पार्टी एकताको लागि आह्वान गरेका छन् । यहाँनिर अर्को उल्लेख्य पक्ष के छ भने आफ्नो स्वार्थमा उपेन्द्र यादवलाई प्रयोग गर्न र यादवलाई ओलीतिर ढल्किन नदिन विदेशी शक्तिको इशारामा उनले यो खेल खेल्दै छन् । बाबुराम र उपेन्द्रसँगको बैठक उनले श्यामशरणसँग डेढ घन्टा वार्तापछि गरेकाले पनि बाम एकता शंकाको घेरामा परेको बुझिन्छ ।
एमालेले पार्टी एकताको विषय जनताको आदेशका रुपमा लिएको छ । निर्वाचनमा संयुक्त चुनावी घोषणापत्र, नारा र आश्वासनहरु पार्टी एकतामार्फत् बलियो सरकार, स्थायी व्यवस्था र आर्थिक समृद्धिमा केन्द्रित भएर व्यक्त गरिएको थियो । त्यसैले जनताले निर्वाचनमार्फत् व्यक्त गरेको अभिमतको सम्मानका निम्ति पनि एमालेका लागि पार्टी एकता बाध्यता बनेको छ । साथै, एकता भएन भने ओली सरकारकै भविष्यमाथि प्रश्न उठ्नेछ । माओवादीबाहेक अन्य ससाना दलको समर्थनमा सरकार टिकाउनु र चलाउनु न त जनमतअनुकूल हुन्छ, न त्यस्तो सरकारको राजनीतिक धरातल बलियो हुन्छ । त्यसैले एमालेले माओवादीसँगको एकतालाई बढी जोड दिएको प्रष्ट छ । तर, माओवादी भने कहिले एमाले नेतृत्वको कार्यशैलीका नाममा त कहिले आफ्नो सम्मानजनक हैसियतका बहानामा पार्टी एकता टार्ने र त्यसको दोष एमालेमाथि थोपर्ने रणनीतिमा कुदिरहेको छ । 
चुनावी गठबन्धन गर्नुअगाडि प्रचण्डले प्रधानमन्त्रीको कार्यकाल र एकीकृत पार्टीको अध्यक्षमा आधा—आधा कार्यकाल दावी गरेका थिए । त्यो कुरा अहिले उनले लिखित हुनुपर्ने माग गरेको कुरा बाहिर आउन थालेको छ । एमालेमा पनि दोस्रो तहका केही नेताहरु पार्टी एकता हुँदा आफ्नो भूमिका खोसिने र ओझेल पर्ने भयले दोहोरो भूमिका खेलिरहेका छन् । र, एमाले नेतृत्वप्रति असन्तुष्टि, आशंश र भयको सिर्जना जति धेरै गर्न सक्यो, त्यति नै आफू सुरक्षित हुने उनीहरुले ठानेका छन् । प्रचण्डले पनि आफू तेस्रो पार्टी हुनुको फाइदा उठाउन जतातिर ठूलो भाग आफ्नो पक्षमा पर्छ, त्यतै ढल्किने नीतिअनुरुप स्वदेश र विदेशका सबै खालका शक्ति र स्वार्थसँग साँठगाँठ गर्न तयार हुने संकेत देखाएका छन् । त्यसैले पार्टी एकताको मिति ‘ड्याम्मै’ घोषणा हुने भन्दै एकता पक्षधर जनमतलाई थामथुप पार्दैछन् । तर, बाम एकताको मिति लेनिन जयन्तीमा मात्र होइन, मे दिवस र कार्ल माक्स जयन्तीमा पनि हुन सकेन । अब कहिले हुन्छ भन्ने कुरा ओली र प्रचण्डले पनि ठोकुवा गर्न सकेका छैनन् ।
बाम एकता नहोस् भन्ने पक्षमा भारत, अमेरिका र युरोपियन युनियन पनि छन् । नेपालको राजनीतिक अस्थिरता र द्वन्द्वमा खेल्न चाहने शक्तिहरुले यो मुलुकमा बलियो शक्ति र राजनीतिक स्थिरता होस् भन्ने चाहँदैनन् । अझ गएको निर्वाचनको पर्यवेक्षण प्रतिवेदनमा आफ्नो कार्यादेश र मर्यादाभन्दा बाहिर गएर संविधान संशोधनको सुझाव दिने युरोपियन युनियनमाथि प्रधानमन्त्री ओली खनिएपछि प्रचण्डमार्फत् खेल्ने अन्तर्राष्ट्रिय जमात बढेको छ । भारत र पश्चिमाहरु प्रचण्डलाई ‘हेग’को डर देखाएर भए पनि एकता भाँड्ने प्रयासमा रहेको विश्लोषण गरिँदैछ । एकताका लागि प्रचण्डको अलमल र एकता भाँड्न चाहनेहरुको चलखेलको चपेटामा परेकैले प्रचण्ड अनिर्णयको बन्दी बनेका त होइनन् भन्नेतर्फ पनि राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् । नभए एकताका लागि सम्पूर्ण कुरा टुंगिसक्दा पनि मिति घोषणा हुन नसक्नुको कारण के हो भन्ने प्रश्न पनि उठेको छ । तर, एकताका लागि अहोरात्र खटेका एमाले नेता विष्णु पौडेलले भने– जेठ दोस्रो साताभित्र एकताको मिति तय हुन्छ । स्रोतका अनुसार गणतन्त्र दिवस जेठ १५ गते पार्टी एकताको तयारी भइरहेको छ । 

Related News