​सल्यानको कालिमाटी गाउँपालिकाको कुनै पनि वडामा छैन विजुली

इन्टरनेट, बैंक, टेलिफोन त झन परको कुरा

शंकर केसी, सल्यान १९ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा कुनै पनि वडालाई विजुली वत्तीले नछोएकोले गर्दा सिंगो गाउँपालिकाबासी अन्धकारमा बस्न बाध्य भएका छन् । सात वटा वडा रहेको कालिमाटीमा विजुली बत्तीको पहुँच नपुग्दा स्थानीयहरु धेरै कुरामा पछाडि परेका छन् । विद्युत अभावमा गाउँपालिका झनै प्रभावित देखिएको छ । 
स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका कार्यालयले नागरकलाई सेवा प्रवाह गर्दा विद्युत अभावमा प्रभावकारी हुन नसकेको पाइएको छ भने दैनिक कार्यसमपादनमा समेत बाधा पुग्ने गरेको छ । कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले विजुली वत्ती नहुँदा उत्पन्न हुने समस्या आफुहरुले झेल्नुपरिरहेको बताए । 
उनले भने ‘विजुली नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ, विद्युत अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ ।’ कतीपयले वैकल्पीक उर्जाको रुपमा सोलार जोडेको भएपनि अझै स्थानीयहरु टुकी बालेर अध्यारो हटाउनुपर्ने बाध्यतामा रहेको गाउापालिका उपाध्यक्ष शनशिलता ओलीले बताइन् । 
‘गाउँपालिकाबासीलाई कुटान, पिसानदेखि लिएर मोवाइल चार्ज गर्न समेत समस्या छ,’ उनले भनिन् ‘गाउँपालिकाको कार्यालयमा पनि कर्मचारीहरुले विजुली अभावमा काम गर्न कठिनाइ हुने गरेको सुनाइरहन्छन् ।’ अन्धकार हटाउने र विद्युत भित्र्याउने भन्दै गाउँपालिकाले आर्थीक वर्ष २०७४÷०७५ का लागि एक करोड पचास लाख रुपैयाँ विनियोजन गरेको छ । 
छिमेकी जिल्ला सुर्खेत र दाङबाट विद्युत भित्र्याउने तयारीमा आफुहरु लागेको उपाध्यक्ष ओलीले बताइन् । विद्युतको पोल गाड्ने जिम्मा पाएको ठेकेदारको ढिलासुस्तीले गर्दा पनि कालिमाटी गाउँपालिकालाइ विद्युतको पहुँचमा पु¥याउन समस्या भइरहेको गाउँपालिकाले जानकारि दिएको छ । अध्यक्ष केसीले भने गएको भदौमा नै ठेकेदारले पोल गाड्ने जिम्मा पाएको हो तर उसकै ढिलासुस्तीले गर्दा विजुली बाल्ने गाउँपालिकावासिको रहर पूरा हुन सकेको छैन । 
विजुली भित्र्याएपछि आफूहरु टेलिफोन, इन्टरनेट जडान र बैंक ल्याउनका लागि काम अगाडि बढाउने तयारिमा रहेको केसीले बताए । विजुली अभावकै कारण टेलिफोनको समस्या आइपरेको उनको भनाइ छ । अहिले गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा नमस्ते फोन र वडा नम्बर ४, ५, ६ र ७ मा स्काइ तथा एनसेलले आंशिकरुपमा काम गर्ने गरेको अध्यक्ष केसीको भनाइ छ । 
विद्युत नभएकै कारण इन्टरनेट जडान हुन नसकेको तथा बैंक आउन नमानेका कारण विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गाउँपालिकाले जनाएको छ । बैंक नहुँदा सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको छ । 

Related News