​कमिशनको कुरा नमिल्दा भण्डाफोर

भैरहवा, ३१ साउन । नेकपा माओवादी केन्द्रको कोटाबाट भुपालराज शाक्य गत वर्ष भैरहवा भन्सार प्रमुख भएर आएदेखि नै राजस्व चुहावटमा बृद्धि भइरहेका घटना सार्वजनिक भइरहेका बेला पछिल्लो पटक यो भन्सारको अर्को कर्तुत छरपष्ट भएको छ । मोटो रकम बुझाएर भन्सार प्रमुख भएर आएका शाक्यले आएदेखि नै गलत कर्मचारीलाई संरक्षण गरेर भन्सार चुहावट गर्दै कमाउधन्दामा लागेका थिए । उनले विगतमा गम्भीर प्रकृतिका राजस्व चुहावटका घटना हुँदासमेत छानबिनको सट्टा उल्टै कर्मचारीको संरक्षण गर्दैआएका थिए । प्रमुख शाक्यकै आड पाएपछि कर्मचारीमा समेत मनोवल बढेको थियो । पछिल्लो समय उनकै संरक्षणमा नेपालको दोस्रो ठूलो भन्सार कार्यालय भैरहवाले नक्कली प्रज्ञापनपत्रका आधारमा मालवाहक ट्रकहरु छोड्ने गरेको पुष्टि भएको छ ।  
भैरहवा भन्सार कार्यालयले साउन २६ गते प्रज्ञापनपत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप्स २ हजार २ सय ७० बण्डलको भन्सार राजस्व असुली गरी छोडेको ट्रकको प्रज्ञापनपत्रको नक्कल गरी अर्को ट्रक ना ४ ख ४१२६ पनि छोडिएपछि यो रहस्य बाहिर आएको हो । भन्सार चेक गरी छोडेको ना ६ ख ५६३५ नम्बरको ट्रकले गरेको भन्सार महशुल तिरेको प्रज्ञाप पत्रलाई नक्कली बनाएर ना ४ ख ४१२६ नम्बरको ट्रक पनि छोडिएको थियो । जुन पछि सुराकीका आधारमा नियन्त्रणमा छ । 
  मनकामना इन्टरनेशनलले आयात गरेको उक्त कपडा दाहाल कमिसन एजेन्ट मार्फत् भन्सार भएको थियो । प्रज्ञापनपत्रबाट भैरहवा भन्सार कार्यालयले ४ लाख ३७ हजार ७ सय ६१ रुपैयाँ र ३ लाख ६२ हजार ९ सय ४३ रुपैयाँ भन्सार महशुल पनि असुली गरेको रेकर्ड देखिन्छ । जुन ट्रक नम्बर फरक पारिए पनि सामान र राजस्वमा भने कुनै फेर बदल देखिंदैन । भन्सार कार्यालयलाई ‘सियो देखाएर हात्ती छिराउने’ गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो । ब्यापारी, भन्सार एजेन्ट र भन्सार कर्मचारीको मिलेमतोमा न्यून मूल्यको सामग्री देखाउँदै कम राजस्व लिएर कर्मचारी धनी बन्ने गरेको आरोप अहिले सत्य सावित भएको छ । भैरहवा भन्सार कार्यालयका कर्मचारीहरुकै असन्तुष्टीका कारण एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी गाडी बाहिर पठाउने गरेको खबर फेला परेको हो ।
  साउन २६ गते नै भन्सार कार्यालयले प्रज्ञापनपत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना ४ ख ४१२६ नम्बरको ट्रकमा पनि सोही कपडाहरुको समान भन्सार महशुल लिएको देखिएको छ ।
  भैरहवा भन्सार कार्यालयले ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको कपडाको भन्सार गरी सोही ट्रकको प्रज्ञापनपत्रबाट ना ४ ख ४१२६ नम्बरको ट्रक पनि छिराउन खोजेपछि केही भन्सार कर्मचारीहरुको असन्तुष्टिका कारण घटना बाहिर आएको हो । बाहिर गइसकेको ट्रक राति साढे ८ बजे फेरि भन्सारमै फर्काएर ल्याइएको थियो । भैरहवा भन्सार कार्यालयका माथिल्ला तहका कर्मचारीहरुको मिलेमतोमै यस्तो कारोबार हुने गरेको स्थानीय व्यापारीहरले बताउने गरेका छन् । यो घटनामा पनि भन्सार अधिकृत मनबहादुर विश्वकर्माले दुईवटै प्रज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । उनले आफुले ना ६ ख ५६३५ नम्बरको ट्रक मात्र चेकजाँच गरेको बताए । 
दाहाल कमिशन एजेन्ट र भन्सार अधिकृतहरुको मिलमतोमा अवैध रुपमा सामान नेपाल छिराउन खोजेपछि कर्मचारीबीच कमिशनको कुरा नमिलेर घटना बाहिर आएको हो ।
 ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको सामानको प्रज्ञापनपत्र देखिए पनि भन्सार कार्यालयको कुनै पनि कम्युटरमा सो को इन्ट्री भएको देखिंदैन । भन्सार एजेन्ट र स्वयं प्रमुख भन्सार अधिकृतकै अनुसार एउटै प्रज्ञापनपत्र नम्बरबाट दुई वटा गाडीको भन्सार तिर्न मिल्दैन । तर भन्सारमा जे नहुनुपर्ने थियो त्यही भइदियो । भन्सार प्रमुख शाक्यले छानबिनको नाटक गरेर आफू चोखिने प्रपञ्च रच्दैछन् । उनले कुनै एक अमुक पात्रलाई दोषी देखाएर आफु उम्कने प्रयत्नमा लागेको स्रोतको दावी छ । 

Related News