​काष्ठमण्डप पुनर्निर्माणमा जुँगाको लडाइँ


काठमाडौं, १९ साउन ।  काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको काष्ठमण्डप पुनर्निर्माण गर्ने विषयमा स्थानीय बासिन्दा र महानगपालिकाबीच जुँगाको लडाइँ सुरु भएको छ ।  दुई वर्षअघि भूकम्पमा पूर्णरूपमा क्षति भएको काष्ठमण्डप कसले र कसरी बनाउने भन्ने विषयमा महिनौंदेखिको विवाद टुङ्गिनुको साटो झन् जटिल बन्दै गएको छ । गोरखापत्रमा खबर छ ।
पुनःनिर्माणको कार्य अगाडि बढ्न नसकेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार सरोकारवाला निकायसँग गरेको छलफल पनि निष्कर्षमा पुग्न नसकेपछि यसले काष्ठमण्डप पुनःनिर्माणको विषयममा अन्योल थपेको छ । यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काष्ठमण्डप पुनःनिर्माण अभियान र काठमाडौँ महानगरपालिकाबीच सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार काष्ठमण्डप निर्माण गर्ने समझदारी भएकोे थियो । त्यसमा पुरातत्व विभागले काष्ठमण्डपको डिजाइन नक्सा तयार गरिदिने र आवश्यक प्रविधिक सहयोग र अनुगमन गर्ने, आवश्यक काठ महानगरपालिकाले खरिद गरिदिने र स्थानीय वासिन्दाको समेत सहयोगमा अमानत प्रक्रियाबाट निर्माण गर्ने भनिएको थियो । सोहीअनुसार काष्ठमण्डप पुनःनिर्माण लागि अभियानले पुनःनिर्माण थाल्ने भन्दै जीवित देवी कुमारीलाई साक्षी राखेर स्थानीय वासिन्दाबाट काष्ठमण्डप बनाउन आर्थिक सहयोगको प्रतिबद्धता जुटाएको छ । स्थानीय वासिन्दाले गरेको प्रतिबद्धताबाट करिब नौ करोड रुपियाँसम्म जम्मा हुने अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले बताउनुभयो । अभियानले हाल भइरहेको जग संरक्षणका लागि ट्रस हाल्न सुरु गर्दा महानगरपालिकाका सुरक्षाकर्मीले त्यसलाई भत्काइदिएका थिए ।  त्यसपछि महानगरपालिकाले जग संरक्षणको लागि भनेर ट्रस हालेको छ ।  
बुधबार प्राधिकरणमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जननिर्वा्चित प्रतिनिधि आइसकेको अवस्थामा महानगरपालिकाकै नेतृत्वमा काष्ठमण्डप पुनःनिर्माण गर्नुपर्ने जिकिर गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘काष्ठमण्डपबारे हल्ला धेरै भयो, काम हुन सकेन । अब महानगरपालिका आफैले बनाउँछ । ’ 
प्रमुख शाक्यले पुरातत्व विभागले बनाइदिएको डिजाइन र नक्साका आधारमा, आवश्यक विज्ञहरूको समेत सहभागितमा स्थानीय वासिन्दालाई पनि साथ लिएर महानगरपालिका काष्ठमण्डप बनाउन तयार रहेको बताउनुभयो । तर, काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानका प्रतिनिधिहरू भने काष्ठमण्डपमा स्थानीय वासिन्दाको अमूर्त संस्कृति पनि जोडिएकाले स्थानीय वासिन्दालाई नै सहभागी बनाएर उनीहरूकै खर्चमा पुनःनिर्माण गर्नुपर्ने जिकिर गर्नुभयो ।  
अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले विभिन्न देशलाई ऐतिहासिक सम्पदा निर्माणको जिम्मा दिन हुने र काठमाडौंँवासीले आफ्नै लगानीमा काष्ठमण्डप निर्माण गर्छु भन्दा किन दिन नहुने भन्ने प्रश्न गर्नुभयो ।  उहाँले अभियानले नौदेखि १० करोड रुपियाँको लागतमा काष्ठमण्डप बनाउँछु भनेर काम गरिरहँदा महानगरपालिकाले १९ करोड रुपियाँको प्रस्ताव अघि सारेको टिप्पणी गर्नुभयो ।  

Related News