​कठिन यात्रा– समृद्धिको

बिन्दिया प्रधान । समृद्धिको कहिल्यै नटुंगिने यात्राबाट हामी विचलित र थकित भयौँ । गन्तब्य धेरै टाढा भइरह्यो । माकुरोले पटक–पटक अग्लो पहराको उचाई तय गर्ने कोसिसझैँ जमर्को फेरि जुर्मुराएको छ । तर यो अति नै कठिन यात्रा हो । पटक–पटक राजनैतिक निकास नेपालीले प्राप्त गर्दै आएका छन् । तर, राजनैतिक परिवर्तनसँगै देशप्रतिको उत्तरदात्वि बहनको चेतना, जुन मानसिकता परिवर्तनबाट मात्र सम्भव हुन्छ, त्यो बर्षौपछि पनि हामीमा आएन । समृद्धिको गन्तब्य टाढा भइरहनुमा अन्य धेरै कारणसहित मानसिकतामा परिवर्तन हुन नसक्नु पनि मुख्य कारण रह्यो ।
समृद्धिको उचाई प्राप्त गर्न वित्तीय पहुँच ब्यापक मात्रामा बढाएर आर्थिक क्रियाकलाप वृद्धि गर्न बिगतदेखि नै प्रयास भएकै हो । आज देशमा बैंक तथा बित्तीय संस्थाहरुको उल्लेख्य संख्यामा बृद्धि भएको छ र यो क्रम अझै जारी नै छ । हाल बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या झण्डै पाँच हजार पुगिसकेको र प्रत्येक यी शाखाहरुले औसतमा झण्डै ६ हजार जनसंख्यालाई बैंकिङ सेवा पु¥याइरहेको देखिन्छ । यस अनुसार बित्तीय पहँुच बढेको अनि बचत संकलन र कर्जा प्रवाहमार्फत बैंकिङ कारोबारमा वृद्धि भइरहेको देखिन्छ । कुल गार्हस्थ्य उत्पादनमा अंश हेर्दा आथर््िाक वर्ष ०५८÷५९ मा निजी क्षेत्रमा लगानीमा रहेको बैंक कर्जाको प्रतिशत २९ थियो भने हाल यो बढेर त्यस्तो अंश ७५ प्रतिशतभन्दा धेरै भएको अवस्था छ । तर शहरी क्षेत्रमा एकै ब्यक्तिको धेरै वटा बैंक शाखाहरुमा खाता तथा कारोबार हुनु र दुर्गम पहाडी भेगमा बैंक शाखाहरु नै नभई त्यहाँका मान्छेका बैंक खाता तथा कारोबार नहुनुले अझै दूरदराजका जनसंख्या वित्तीय पहुँचबाट टाढै रहेको यथार्थ पनि हामीसँग छँदैछ । जे होस, बित्तीय पहुँचले हुन सकेका कारोबारका प्रकृतिचाहिँ आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सहयोगी हुने खालको छन् वा छैनन् भन्ने कुरा नै अहिलेको प्रमुख सवाल हो । 
आर्थिक समृद्धि हासिल हुन देशमा कृषि, उद्योग, उर्जा र पर्यटनको उत्पादन वा आयमा बृद्धि हुनुपर्छ । यसका लागि यी क्षेत्रमा ब्यापक रुपमा लगानी बृद्धिको आश्यक्ता पर्दछ । वर्तमान आर्थिक स्थितिका विवरणले ब्यक्तिगत घर, होटेल तथा जलविद्युत परियोजनाहरुको निर्माण बढ्दो क्रममा रहेको जनाएको पनि छ । निर्माण क्षेत्रमा यो सकारात्मक हुँदाहँुदै पनि सामग्रीहरु भने धेरैजसो विदेशबाटै आयात गर्नुपर्ने बाध्यताले हाम्रो आयातमा सधैँ चाप परिरहन्छ । त्यसैले नेपाल जस्तो ७० देखि ८० प्रतिशतको हाराहारीका जनसंख्या अझै पनि कृषिमा निर्भर रहेको अवस्थामा यो क्षेत्रमा ब्यापक उत्पादन बृद्धि गराई खाद्यान्न, तरकारी, फलफूलमा मात्र आत्मनिर्भर हुन सक्यौं भने खर्बौ रुपैयाँको देशको ब्यापार घाटामा केही कम हुन सक्थ्यो । यसका लागि ब्यवसायिक तवरले कृषि क्षेत्रको विकास गर्न बैंक कर्जा बढी प्रबाहित हुन आवश्यक हुँदाहँुदै पनि यो हुन सकेको छैन । बैंकिङ क्षेत्रको ऋण थोक तथा खुद्रा ब्यवसाय, उपभोग्य बस्तुहरुमा, घर जग्गा, हायर पर्चेज अनि दुई र चारपांग्रे सवारी साधनहरु जस्तामा बढी प्रवाहित भइरहेको देखिन्छ । यी क्षेत्रहरुको तुलनामा कृषि, खानी र उद्योगमा कुल कर्जा प्रबाहको नगण्य प्रतिशत मात्र गएको देखिन्छ । 
लघुवित्त संस्थाहरु र ग्रामीण क्षेत्रका सहकारी संस्थाहरुले आफ्नो अधिकांश ऋण लगानी कृषि तथा साना ब्यवसायको क्षेत्रमा गरिरहेपनि शहरी बचत तथा ऋण सहकारीहरुले धेरै ब्यापारिक र सामाजिक शिर्षकमा कर्जा प्रबाह गर्दै आएका छन । देशभरी अधिक संख्यामा रहेका अधिकांश यस्ता सहकारी संस्थाहरुको लगानी उत्पानशील प्रकृतिको छैन । यसो हुनमा केवल बैंक बित्तीय संस्थाहरु र सहकारी संस्थाहरुको मात्र दोष भने पक्कै छैन । 
२०÷२५ बर्षयता नेपालले अपनाउँदै आएको नीति पनि दोषी छ भन्न हामी सक्छौँ । किनभने विगतमा आफ्नै देशमा औद्योगिक उत्पादन बढाउन बिभिन्न क्षेत्रगत रुपमा औद्योगिक क्षेत्रहरुको निर्माण, कृषि र उद्योगहरुलाई संरक्षण र सरकारी अनुदानको ब्यवस्था, कृषि र औद्योगिक उत्पादनहरुको निर्यातमा सहुलियत आदिको ब्यवस्था गएिको थियो । यसपछि अपनाइएको आर्थिक उदारीकरणको नीतिले सरकारी संस्थान र उद्योगहरुको निजीकरण गरियो । कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशत मात्र योगदान रहेको औद्योगिक क्षेत्रको निजीकरण गरेर ठूलो उपलब्धि त केहि भएन उल्टै गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान भने घटेर ६ प्रतिशतको औसतमा झर्न पुग्यो । अनुदान हटाइएको, राजश्व बढाउन ब्यापक र खुला रुपमा विदेशी सामानको आयात बढाइएको, भरमार भित्रिएका विदेशी सामानसंग आफ्ना स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु आदि जस्ता कारणले निजी क्षेत्रका उद्योगीहरु पनि हतोत्साही भए । आयातमा सरलिकरण हुदा निजी क्षेत्रको ब्यापार ब्यवसाय बढेर बिदेशी उत्पादनको माग भने उच्च भइरह्यो । फलस्वरुप हाम्रा ठूला उद्योगीहरु उद्योग धन्दामा दुःख गर्न छाडेर विदेशी सामानहरुको ब्यापारी बने । बिलासिताका सामग्रीहरु, नाम चलेका विदेशी ब्राण्डका असल गुणस्तरका फेसन र कपडाहरु टोल टोलका पसलहरुमा पाइने भएपछि ब्राण्डेड पोशाकहरुमा नेपाली युबा युवतीहरुको आकर्षण एकदमै बढ्यो । जिन्स पुस्ताहरु छपक्कै बढे जताततै शहर र सडकभरी नै । 
बालाजु र हेटौडा कपडा उद्योगहरुका उत्पादनहरु कता गए । उहिले पद्यम कन्या कलेजमा र अन्य संस्थाहरुमा अनिबार्य गरिएको स्वदेशी खद्दरका साडीहरु एकादेशका कथा भए । 
यही सन्दर्भमा प्रत्येक नागरिकहरुको मानसिकतामा परिवर्तन हनुपर्ने कुराले धेरै ठूलो अर्थ राख्दछ । प्रत्येक जनताको मन दुख्नु पर्छ आफ्ना स्वदेशी उत्पादनहरु चौपट हुदै गएकोमा । तर स्थिति भने रेमिटेन्सले आयात धानेकै छ, ब्यापार ब्यवसाय फस्टाएकै छ । विदेशी सामान ल्यायो, नाफा जोड्यो बेच्यो । सजिलो काम हँुदाहँुदै कृषि र उद्योगमा किन दुःख गर्ने भन्ने सोच बढ्दै गयो । तर कृषि र उद्योगमा जति रोजगारी श्रृजना ब्यापारमा पक्कै हुदैन र भएननै । त्यसैले सवल पाखुरी भएका युवाहरु जति विदेशिए । भएका युवाहरु मध्ये धेरैजसोहरु भने मौलाएको डन समूह, बिना मेहेनत बीचमा कुरा मिलाएकै भरमा बिचौलिया कार्य गर्ने, लुटपाट आदि बिकृतिको जालोमा फसेका छन । प्रश्न उठ्छ कि यो बीस तीस बर्ष यता हामीले देशलाई कतातिर लगेछौँ ? कस्तो परनिर्भर अर्थतन्त्र र कुसंस्कृतिको निर्माण गरेछौँ ? र त्यस्तो संस्कृति भित्र हाम्रो मानसिकता टालटुले, अल्छी, बिलासी, बिना मेहेनत धनी हुने लालसा आदिले पुरै एकोहोरो भएछ । यसलाई पुरै परिवर्तन गर्नुपर्छ । र, यो धेरै गाह्रो काम हो । 
भारतमा समेत कृषि र उद्योगमा सरकारी संरक्षण र अनुदानको ब्यवस्था छ । चीनले बिश्वभरी आफ्नो उत्पादनको प्रचुर निर्यात गरी समृद्धि प्राप्त गरेको छ । बीचमा हामीचाहिँ रमिते र अल्छे बजार मात्र भइरह्यौ ।
जे होस, अब आउँदा दिनमा बन्ने स्थिर सरकारले देशको तीनखम्बे अर्थनीतिको रुपमा सरकारी, सहकारी र निजी क्षेत्रको भूमिका बराबरी हुने भनिएको नीति सफलतापूर्वक कार्यान्वयण गर्ला । आशा गरौँ देशको कृषि र औद्योगिक क्षेत्रमा ब्यापक उत्पादन बढाउन केहि बर्ष संरक्षण, अनुदान र सहुलियत दिने आर्थिक नीति आउला । कृषक र उद्यमीहरु प्रोत्साहित होलान, सहकारीहरु र निजी क्षेत्रका बैंक वित्तीय संस्थाहरु सरकारी प्रत्याभूतिमा कृषि, जलस्रोत, पर्यटन र उद्योगमा लगानी बढाउन प्रेरित होलान । उत्पादन बढेर आत्मनिर्भर सहित हाम्रो निर्यात बढ्ला, बढेको निर्यात र पर्यटनले विदेशी मुद्राको आर्जनमा बढोत्तरी हुँदा हाम्रो समृद्धिको गन्तब्य नजिकिँदै जाला । 

Related News