ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने

काठमाडौं, १० पुस । अब काठमाडौं उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउने मिल्ने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले ढलको पानी सफा बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

ढलको पानी प्रशोधन गर्न पशुपतिको गुहृयेश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी र धोवीघाटमा केन्द्र सञ्चालन गर्न लागिएको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गर्न लागिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । उनका अनुसार प्रशोधित पानीलाई वाग्मतीमा पठाइनेछ ।

केन्द्र सञ्चालनमा आएपछि दैनिक १० करोड लिटर ढलको पानी प्रशोधन हुनेछ । यसले उपत्यकामा बढ्दो पानीको हाहाकार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Related News