​केसीविरुद्ध विषवमन ?

शम्भु श्रेष्ठ

– शिक्षण अस्पतालमा जागिर खाने । सरकारी सेवा सुविधा लिने । अनि जुम्लामा गएर आन्दोलन गर्ने ? अनसन बस्ने वाह, डाक्टर केसी  ?
– सरकारी जागिर खाएर सरकारकै विरोध गर्न पाइन्न । अनसन बस्ने रहर छ भने टिचिङ अस्पतालको जागिरबाट राजीनामा गर, डा. केसी ।
– अस्पताल निषेधित क्षेत्र हो । डाक्टरको काम विरामीको सेवा गर्ने हो । निषेधित क्षेत्रमा गएर अनसन बस्नेलाई सरकारले पक्राउ नगरे कसलाई पक्राउ गर्ने, डा. केसी ?
– नेपाली जनताका छोराछोरी आफ्नो देशमा एमबिबिएस (डाक्टर) पढ्न नपाएर विदेशिन बाध्य छन् ।  यस्तै डा. केसीका कारण बंगलादेश पढ्न गएर फर्किएका नेपाली विद्यार्थीहरुको युएस बंगलादेशको विमान दुर्घटनामा ज्यान गुमाउनु पर्यो, डा. केसी ।
– अहिले पनि सयौं नेपाली विद्यार्थी डाक्टर पढ्न चीन, भारत, बंगलादेश जान बाध्य छन् । देशको अर्बौ रुपैयाँ विदेशिएको छ, डा. केसी काठमाडौंमा मेडिकल कलेज खोल्न हुन्न भन्छन् । लज्जाशरणम् डा. केसी ।
– नेपाली विद्यार्थीलाई नेपालमा पढ्न नदिने । करोडौं लगानी गरेर नेपालमै खुलेका अस्पताललाई मेडिकल कलेज खोल्न नदिने ? यो कहाँको नियम हो ? डा.केसी ?
– अनसनकै भरमा आफ्नो माग पूरा गराउन खोज्नु अधिनायकवादी चरित्र हो । लोकतन्त्रमा जायज माग पूरा हुन्छ । नाजायज माग पूरा हुन सक्दैन, डा. केसी ।

जुम्लामा अनसनरत डा. गोविन्द केसीका बारेमा दिनहुँ सामाजिक सञ्जालमा यस्ता कुरा पढ्न पाइन्छ । मानौं, डा. केसीले आमरण अनशन बसेर ठूलै अपराध गरेका छन् । त्यसैले उनको माग पूरा गर्नै हुन्न भन्ने जस्ता प्रतिक्रिया सामाजिक सञ्जालमा व्याप्त छ । सामाजिक सञ्जालमा डा. केसीविरुद्ध उठेको यो आवाजले कसलाई बल पु¥याइरहेको छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ । तर, सत्य नै शक्ति हो । सत्यको पराजय असम्भव छ । बरु, कसैलाई खुशी पार्न व्यक्त गरिएका यस्ता शब्दहरु समयक्रममा निस्तेज बन्नेछन् । डा. केसी टिचिङ अस्पतालका एक जना सरकारी सेवामा कार्यरत डाक्टर मात्र होइनन् । उनी एक सचेत नागरिक पनि हुन् । उनले उठाएका मागमा सरकारलाई के चित्त नबुझेको हो ? त्यस विषयलाई वार्ताद्वारा हल गर्न सकिन्छ । डा. केसी अनसन बसे भन्दैमा दुईतिहाईको सरकार आत्तिहाल्नु पर्दैन । किनभने विधेयक पारित गर्ने, नगर्ने भन्ने कुरा त दुईतिहाई मत प्राप्त सरकारकै हातमा छ । त्यसमा पनि प्रतिपक्षको साथ लिन सक्यो भने ‘सुनमा सुगन्ध’ हुने थियो । सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको छ । रिस, आवेग पोख्ने माध्यम सामाजिक सञ्जाल बन्नु हुँदैन । अहिले डा. केसीका विपक्षमा जे जस्ता प्रतिक्रिया सामाजिक सञ्जालमा आएका छन्, त्यसले समस्या समाधानमा जटिलता थप्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु यस कुरामा सचेत भएर डा. केसीले उठाएका माग कुन–कुन  ठिक हो ? कुन–कुन बेठिक हो ? छुट्याएर सम्प्रेषण गर्न सके जनतालाई बुझ्न सजिलो हुन्थ्यो कि ?

Related News