​धेरैपटक रोएकी छु- केशु गुरुङ, गायिका

दृष्टि न्यूज

पेसाले स्वास्थ्यकर्मी हुन् केशु गुरुङ तर, रहर र रुचिले भने गायिका । तनहुँको धरमपानीकी केशु दमौलीस्थित ‘कम्युनिटी सर्पोट ग्रुप’ नामक गैरसरकारी संस्थामा आवद्ध छिन् । जसले एचआईभी एड्ससम्बन्धी कार्य गर्छ । यी स्वास्थ्यकर्मी गायन क्षेत्रमा भने ‘कौरा गायिका’का रुपमा चर्चित छिन् । ‘आँशु तालमा’, ‘धरमपानी’, ‘बन्दीपुरमा रोदी जमाउँला’जस्ता चर्चित लोक तथा कौरा गीतका गायिका केशुले हालै ‘बुकी फूल’ बोलको कौरा रेर्कड गराएकी छन् । जसमा केशुसँगै दुर्गा गुरुङले स्वर दिएका छन् । उक्त कौरा रेकर्डिङका लागि  काठमाडौं आएकी केशुसँग जम्काभेट :
रेकर्डिङकै लागि मात्र काठमाडौं आउनुभएको हो कि ?
हो, यो ‘बुकी फूल’ बोलको गीत पहिल्यैदेखि रेर्कड गर्ने सोच थियो । समय मिल्यो । त्यसैले रेर्कड गरिहालौँ भनेर आएकी हुँ ।
‘बुकी फूल’ पनि कौरा नै हो ?
हजुर, म कौरा गीत बढी गाउँछु । यस अघिका मेरो गीत अधिकांश कौरा छन् । तनहुँ, लम्जुङ र गोरखातिर बढी चल्ने पनि कौरा नै हो ।
कौरामा के छ त्यस्तो र सधैं कौरा गाउँनुहुन्छ ?
कौरा, चुट्का र घाटु भनेको हाम्रो गुरुङ समुदायको संस्कृति हो । कौराविना गुरुङ कला र संस्कृति अधुरो हुन्छ । लिम्बूमा धाननाचमा ‘पालम’ गाएजस्तै तमु गुरुङले रोधी बस्दा कौरा, चुट्का र घाटु गाउने गरिन्छ । म पनि गुरुङ समयदायकै भएकाले आफ्नो कला संस्कृति जर्गेनाका लागि कौरालाई प्राथमिकता दिएकी हुँ ।
गायन क्षेत्रमा कहिलेबाट लाग्नु भएको नि ?
धेरै भएको छैन । औपचारिक रुपमा भन्ने हो भने २०७१ सालदेखि मात्र हो । ‘आँशु तालमा’ बोलको लोक गीतमार्फत गायन सुरु गरेकी हुँ । तर, अनौपचारिक रुपमा भने स्कुल पढ्दैदेखि कौरा गाउँथेँ । गाउँमा रोधी बस्दा म पनि नाच्न र गाउन जान्थेँ । तर, अहिले पनि आफूलाई गायिका भन्दा स्वास्थ्यकर्मी एवं समाजसेवी भन्न रुचाउँछु ।
स्वास्थ्य सेवामा चाहिँ कहिलेबाट हुनुहुन्छ ?
६ वर्ष भयो । पढाइ सकेसँगै २०६९ सालदेखि स्वास्थ्य सेवा जागीर सुरु गरेकी हुँ । त्यसअघि पनि मेडिकलमा थोरै समय काम गरेकी थिएँ ।
गायन र स्वास्थ्य फरक पाटा हुन् । कसरी समय मिलाउनुहुन्छ ?
मेरो पेसा गायन होइन । त्यसैले पेसालाई नै बढी प्राथमिकता दिँदै आएकी छु । तैमाथि एचआईभी एड्स संक्रमितहरुको सेवामा दिनरात खट्नुपर्छ । समय–समयमा फिल्डमा पनि जानुपर्ने हुन्छ । यता गायनचाहिँ रहर र रुचि भएकाले समय मिलाएर गाउँदै आएकी छु । 
एचआईभी संक्रमितहरुको सेवा गर्दा भोगेका केही अनुभव ?
पछिल्लो समय नेपालमा एचआइभी संक्रमितहरु पनि खुल्न थालेका छन् । पहिले–पहिले खुल्दैन थिए । मैले स्वास्थ्य सेवा गरेका धेरै जना त बिति पनि सके । कतिको पीडा र कथा सुनेर देखेर म धेरैपटक रोएकी छु । जुन यहाँ बयान गर्न सक्दिनँ ।
व्यस्तताले अहिलेसम्म अविवाहित बस्नुभएको हो ?
हो, त्यसै त भन्नुपर्ला । पहिलो कुरा व्यस्ताको कारण । अर्को कुरा विवाह गर्नका लागि लगन र साइत जुर्नुपर्छ । सायद साइतै नजुरेकाले होला
प्रस्तुति : एमपी सुब्बा

Related News