​ब्युँतियो केशुको ‘धरमपानी’ (भिडियोसहित)

दृष्टि न्यूज

काठमाडौं । हिजोआज गुरुङ तथा तमु समुदायमा ‘घाटु खोय’ चलिरहेको छ । यो गुरुङ समुदायको एक विशेष सांस्कृतिक पर्व हो । यसैबेला गायिका केशु गुरुङले गाएको कौरा ‘धरमपानी’ अर्थात हितैको सानु बोलको कौरा चर्चामा आएको छ । 
‘धरमपानी’ गीतको यो भिडियो निकै अगाडि नै यु–टयुबमा आएको हो । तर, अहिले ब्युँतिएको छ । हिजोआज यस भिडियोका भ्युअर्स बढ्न थालेको छ । केशुले  केही दिन अघिमात्र एक नयाँ कौरा रेर्कड गराएकी थिइन् ।
 केशुको यस ‘धरमपानी’ गीतमा गायक सुजन तिगेलाको पनि स्वर छ । यो युगल कौरा गीत निकै कर्णप्रिय छ । यस कौरालाई तनहुँकै बन्दीपुरस्थित धरमपानीमा छायांकन गरिएको हो । 


गायिका केशुको घर धरमपानी नै हो । त्यसैले पनि आफ्ना गाउँ चिनाउन एल्बमको नाम ‘धरमपानी’ राखेको केशुले बताइन् । गीतसंगीतलाई रुचि र सौखका रुपमा लिँदै आएकी केशु पेसाले स्वास्थ्यकर्मी हुन् । तर, उनले महिना विराएर गीत रेर्कड गराउँदै आएकी छन् । 
आफ्नो कला, संस्कृति र समुदायका लागि गीत गाउने गरेको केशु बताउँछिन् । उनी कौरा बढी गाउँछिन् । कौरा, चुट्का र घाटुले गुरुङ समुदायको पहिचान झल्काउँछ । केशु त्यही कला र पहिचानका लागि कौरा गाउँछिन् । 
प्रस्तुत कौरामा शंकर बिसी र पार्वती राइले मोडलिङ गरेका छन् । जो कुनै समय लोकगीतको भिडियोमा एकछत्र राज गर्थे । यस भिडियोलाई  राजेश घिमिरेले खिचेका हुन् भने सम्पादन विष्णु शर्माले गरेका हुन् ।

Related News