​खगेन्द्रको ‘सिँगौरी’, अलिशाको आनाकानी

दृष्टि न्यूज

काठमाडौं, १३ बैशाख ।
पुर्वेली लोक गीतको कुरा गर्दा खगेन्द्र यक्सोको नामै काफी छ । ‘चुङ्वा दोभान’, ‘माघेनी मेला’, ‘बाँसघरे कान्छी’ जस्ता दर्जनौ टिपिकल पुर्वेली लोक गीतका लोकप्रिय गायक खगेन्द्र यसपटक ‘सिँगौरी...’ लिएर आएका छन् ।
पुर्वेली लोक गीतका ‘मेलोडी किङ’ मानिएका खगेन्द्रले निकै लामो समयको अन्तरालपछि आफ्नै गायनमा यो मिठो भाका पस्केका हुन् । भाषा तथा लय संकलनमा माहिर खगेन्द्रले ‘सिँगौरी...’ बोलको यस लोक गीतमा पनि आफ्नोपना झल्काएका छन् । यसअघिका उनका जतिपनि गीतहरु लोकप्रिय र चर्चित छन् । उनका अधिकांश गीत पुर्वका सुगन्ध र मिठास पाइन्छ ।
त्यस्तै, ‘सिँगौरी...’ मा उनले पुर्वली संस्कृति, माटो र रहन–सहनको सुगन्ध मिसाएका छन् । यसका लागि शीर्षक नै काफी छ जबकि, ‘सिँगौरी’ आफैमा पूर्वमा बोलिने ‘टिपिकल’ शब्द हो । जुहारी, सिँगौरीजस्ता भाषा विशेषगरी पुर्वमै ज्यादा बोलिन्छ । उनले त्यही शब्द तथा भाषालाई आफ्नो यो पछिल्लो गीतमा उनेका छन् । टिपिकल भाषा र शैली नै खगेन्द्रको विशेषता हो । त्यही विशेषताकै कारण उनका गीत सुन्न श्रोता तथा दर्शक आतुर रहन्छन् ।  
खगेन्द्रकै शब्दरचना रहेको यस गीतमा स्वर उनीसँगै बिमला राई र अर्जुन राईको छ । शशी गुरुङको संगीत संयोजन र चन्दु गोर्खालीको एरेञ्ज रहेको ‘सिँगौरी...’को यस भिडियोलाई युगल पोमूले निर्देशन गरेका हुन् ।
भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल तथा नृत्यांगना अलिशा राई, श्याम राई, योगेन्द्र राई, दिनेश गुरुङ र अनुपमको अभिनय रहेको छ । छायांकन अर्जुन तिवारी टिमको रहेको यस गीतको भिडियोलाई खगेन्द्रले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

Related News