​अपराध अनुसन्धानमा खस्कदै प्रहरी

ठूला घटनाको अनुसन्धानमा प्रहरी असफल

दृष्टि न्यूज

काठमाडौं । कुनै समय नेपाल प्रहरीलाई अपराध अनुसन्धानको क्षेत्रमा एशियाकै उत्कृष्ट प्रहरीका रुपमा चिनिन्थ्यो । अन्तर्राष्ट्रिय जगत्मै नेपाल प्रहरीले उच्च  सान थियो । 
तर, अहिले यस्तो अवस्था सिर्जना भएको छ कि प्रहरीका हरेक अनुसन्धान नागरिककै आँखामा शंकामा पर्न थालेका छन् । प्रहरीका पछिल्ला केही विवादास्पद अनुसन्धानले यस्तो अवस्था सिर्जना गरेको हो । कतिपय ठूला अनुसन्धानमा प्रहरीले मुख्य अभियुक्तलाई जोगाउने प्रयास गरेको छ भने, कतिपय घटनामा अनुसन्धान नै गर्न सकेको छैन । 
कञ्चनपुर घटनाः प्रहरीको आरोलो यात्रा 
सुन तस्करी घटनामा प्रहरीले मुख्य अभियुक्तलाई जोगाउन खोजेको घटनाले प्रहरीकै मिलेमतोमा देशमा सुन तस्करी भइरहेको पुष्टि भयो । सिंगो प्रहरी संगठन सुन तस्करीमा मुछिए जस्तो देखियो । ९ जना प्रहरी अधिकारी जेल गए । 
दरबारमार्गमा भएको सामूहिक बलात्कारमा प्रहरीले मिलापत्र गराएपछि  प्रहरीको झन् आलोचना भयो । पैसा लिएरै प्रहरी अधिकारीहरुले मिलापत्र गराएका थिए । 
यही बेला कञ्चनपुर घटना भयो । सन्की स्वभावका एसपी डिल्लीराज बिष्टका कारण यतिबेला सिंगो प्रहरी बदनाम भएको छ । किनकि यति संवेदनशील घटनाको अनुसन्धानमा उनले गम्भीरता देखाएनन् । पीडितहरुसँग रुखो व्यवहार गरे । सोही कारण प्रहरी संगठन नै ओरालो लागेको अवस्था छ । घटनामा प्रहरीले नक्कली अभियुक्त सिर्जना गरेको आरोप समेत लागेको छ । 
 उच्चस्तरीय छानबिन समितिका सदस्य रहेका उपसचिव वीरेन्द्र केसीले समितिबाट सोमबार राजिनामा दिएपछि यो घटनामा झन् रहस्य थपिएको छ । उनले आफ्नो ज्यानमा समेत खतरा रहेको पत्रकार सम्मेलनमार्फत दाबी गरेका छन् । सरकारले समितिको म्याद थपेकोमा असन्तुष्टि जनाउँदै उनले यसले पन्तका परिवारलाई न्याय नमिल्ने भन्दै राजिनामा गरेको बताएका छन् । 
अनेक छानबिन समिति गठन हुँदा पनि घटनाको वास्तविकता बाहिर आउन सकेको छैन । प्रहरीको आलोचना बढीरहेको छ । 
राजधानीकै ठूला घटनाको अनुसन्धान असफल  
राजधानीकै ठूला घटनाको अनुसन्धानमा प्रहरी चुकेको छ । 
पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको २१ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर प्रहरीले केही पत्ता लगाउन सकेको छैन । 
गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भएको थियो । घरमा झादम्पती मात्रै बस्दै आएका थिए । श्रीमती पहिलो तलामा सुत्थिन् भने उनी भुइँ तलामा । घर बन्द भएकाले कसरी हत्यारा घरभित्र छिरे भन्नेमै प्रहरी अल्झिएको छ । जसले ‘हाइप्रोफाइल मर्डर’ अनुसन्धानमा प्रहरीले केही तथ्य भेटाउन सकेको छैन ।
तीन सातासम्म प्रहरी अनुसन्धान झाको घरमा काम गर्ने तीन कामदारमाथि नै घुमेको छ । झाको घरमा काभ्रे स्थायी घर भएका ४८ वर्षीय कान्छाराम तामाङ घरेलु कामदारका रुपमा कार्यरत थिए । बेलुका सुरक्षागार्डको काम पनि उनले नै गर्दथे । गेट नजिकैको टहरोमा सुत्दथे । प्रहरीको सबैभन्दा ठूलो आशंका उनैमाथि छ । त्यस्तै सो घरमा हरेक दिन बिहान मालीका रुपमा काम गर्ने नुवाकोटका ५३ वर्षीय आइतेसिंह तामाङ र गोरखाका ५६ वर्षीय जयबहादुर गुरुङलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि झुटो बोलेको पत्ता लाग्ने ‘पोलिग्राफ टेस्ट’ समेत भइसकेको छ । तर, हत्यामा संलग्नताको कुनै तथ्य भेटेको छैन । कान्छारामको पोलिग्राफ टेस्टमा कैफियत भेटिएको स्रोत बताउँछ । सोही कारण उनीहरुलाई प्रहरीले थुनामा राखेको छ । 
स्रोतका अनुसार घटनास्थलमा भेटिएको ‘फिंगरप्रिन्ट’ लगायतको रिपोर्ट नआएसम्म उनीहरुलाई थुनामै राख्ने प्रहरी तयारी छ । अनुसन्धानमा आबद्ध प्रहरीको भनाईमा घटनामा घर बाहिरका सदस्यको संलग्नता ज्यादै न्यून देखिन्छ । जसकारण प्रहरीले कामदार बाहेक अन्य व्यक्तिमाथि अनुसन्धानमा चासो दिएको छैन । प्रहरीको तालिमप्राप्त कुकुरले पनि घटनामा घरभित्रकै व्यक्तिको संकेत गरेको थियो ।
घटनास्थलको प्रकृतीका आधारमा यो निकै योजनाबद्ध र रहस्यमय हत्या भएको प्रहरी अधिकारीहरु बताउँछन् ।  किनकि हत्या बन्द घरभित्र भएको  थियो । 
अहिलेसम्मको अनुसन्धानमा हत्या गर्ने व्यक्तिहरु पहिलो तलामा रहेको झ्यालको जाली काटेरभित्र छिरेको आँकलन गरिएको छ । तर, त्यसको विश्वस्त आधार छैन । झ्यालको जाली थोरै मात्र काटिएको छ, जहाँबाट मान्छे भित्र छिर्न सम्भव छैन । त्यसबाट हात छिराएर झ्यालको लक खोलेर भित्र छिरेको हुनसक्ने अर्काे आँकलन गरिएको छ । तर, जाली पहिले नै काटिएको जस्तो खिया लागेको छ र झ्यालको धुलो हेर्दा त्यहाँबाट कोही प्रबेश गरेको जस्तो देखिन्छ । घरका अन्य सबै झ्याल ढोका बन्द थिए । जून झ्यालको जाली काटिएको छ, त्यही कोठामा झाकी श्रीमती सुत्ने भएकाले उनले थाहा नपाउनु घटनाको अर्काे रहस्य छ । उमेर र रोगका कारण उनकी श्रीमतीको अवस्था कमजोर भएकाले पनि उनले भनेका कतिपय कुरामा प्रहरीले विश्वास गरेको छैन । कसैले प्रहरी अनुसन्धानलाई तोडमोड गराउन पनि झ्यालको जारी काटिएको आँकलन समेत गरिएको छ ।
पहिलो तलाको झ्यालबाट छिर्न पनि कम्तीमा २५ फिट लामो भ¥याङ प्रयोग गर्नुपर्छ । तर, भ¥याङ प्रयोग गरिएको कुनै संकेत भेटिन्न । आपँको रुखबाट घरको छतमा जान सक्ने अवस्था छ । तर, छतबाट घरभित्र छिर्ने ढोकामा डबल लक थियो । 
हत्या गर्ने व्यक्तिले झाकै घरको किचनमा रहेको चक्कु प्रयोग गरेका छन् । किचनमा चक्कु राख्ने छुट्टै ड्रयर छ । किचनमा सो ड्रयरमात्र खोलिएकाले पनि घरको बारेमा जानकार नै व्यक्तिले हत्या गरेको हुनसक्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । अर्काेतर्फ छोरा–बुहारी विदेश गएको दोस्रो दिनमा हत्या हुनुले पनि परिचित व्यक्तिको संलग्नताको आधार बलियो छ ।
झाको कसैसँग दुश्मनी रहेको पनि पत्ता लागेको छैन । बुढानिलकन्ठको जग्गा बेच्ने क्रममा भने उनको केही सामान्य विवाद भएको थियो । त्यसलाई आधार बनाएर पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 
हत्या गर्ने व्यक्तिले घरबाट केही लगेका पनि छैनन् । हालसम्म प्रहरीले अनुसन्धानको बाटो नै पत्ता लगाउन सकेको छैन । दुई साता बित्दा पनि ‘हाइप्रोफाइल मर्डर’ पत्ता नलाग्दा प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ । अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंह भने ढिलो भएपनि बास्तविकता पत्ता लगाइने दाबी गर्छन् । 
कसले ताक्यो सांसदलाई पेस्तोल  ?
प्रहरी अनुसन्धान असफल भएको राजधानीको अर्काे घटना सांसद निरुदेवी पालमाथि पेस्तोल देखाएर धम्काइएको घटना हो । 
प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको संसदीय सुनुवाइ चलिरहँदा १५ साउनमा एक समूहले नेकपाकी सांसद पाललाई पेस्तोल देखाएर मोबाइल  लुटेको  छ ।  साँझ दूध किन्न पसल गएका वेला मोटरसाइकलमा आएका युवकले पेस्तोल देखाई धम्क्याएर मोबाइल लुटेको उनले संसद् सचिवालयमा दिएको उजुरीमा उल्लेख छ ।
घटनाको अनुसन्धानका लागि  पालले अहिलेसम्म प्रहरीमा जाहेरी दिएकी छैनन् ।  जाहेरी नपरे पनि संसद्ले दिएको सूचनालाई नै आधार बनाएर अनुसन्धान अघि बढाइएको छानबिन टोलीका संयोजक महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए । 
सांसद पालले नै अनुसन्धानमा धेरै चासो नदिएकाले प्रहरीले यो अनुसन्धानलाई गम्भीरताका साथ लिएको छैन । पालले प्रहरीलाई भनेका कुरा र अनुसन्धानका कतिपय प्राविधिक नतिजामा भिन्नता देखिएको छ । स्वीच अफ रहेको मोबाइल लुटिएको उनको भनाई थियो । जून मोबाइल अहिलेसम्म स्वीच अन भएको छैन । जसले अर्काे हाइप्रोफाइल घटनाको अनुसन्धान रहस्यमै अल्झेको छ ।  
साँझको समयमा व्यस्त सडकमा भएको घटनामा प्रत्यक्षदर्शी कोही नहुनु, पेस्तोल देखाएर धम्काउँदा पनि पालले प्रहरीलाई जानकारी नगराउनु, अनुसन्धानमा पीडितले धेरै चासो नदिनुले घटना रहस्यमय बनेको हो । 
थप हत्याहरु रहस्यमै 
राजधानीमा अन्य हत्याका घटना पनि रहस्यमै छन् । तीन महिनाअघि सानेपाको कालो पुलमुनि पोखराकी पूजा गुरुङको शव भेटिएको थियो । हत्या गरेर फालिएको अवस्थामा उनको शव भेटिएको थियो । तर, अहिलेसम्म त्यसको रहस्य पत्ता लागेको छैन । 
त्यस्तै गत साता स्वयम्भुमै जंगलमा संगीत जिसीको शव भेटियो । काठमाडौंको एक कलेजमा पढ्ने उनको हत्या भएको आशंका गरिएको छ । तर, प्रहरीले बास्तविकता पत्ता लगाउन सकेको छैन । 
प्रहरीलाई विवादमा तानेको दरबारमार्ग बलात्कार घटनाकै तीन अभियुक्त अझै फरार छन् । उनीहरु पहुँचवाला भएकाले प्रहरीले पक्राउ गर्न चाँसो नदिएको आरोप लागेको छ । 
कतिपय घटनामा आर्थिक प्रभावका कारण तथा कतिपय अवस्थामा लापरबाहीले गर्दा नेपाल प्रहरीको अनुसन्धान खस्किएको छ । अनुसन्धानमा हुने लापरबाहीमा प्रहरी नेतृत्व गम्भीर नहुँदा पनि छवि बिग्रिदै गएको छ । 

Related News