​खोइ, नैतिकता ?

शम्भु श्रेष्ठ । प्रतिनिधिसभाको निर्वाचन परिणाम बाहिर आइसकेपछि नेपाली जनता जनादेशबमोजिमको सरकार कहिले बन्ला भन्ने प्रतिक्षामा छन् । जनताले राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि वाम गठबन्धनलाई पत्याएको अवस्था हो । निर्वाचनमा एमाले र माओवादीले गठबन्धनदेखि पार्टी एकता गर्नेसम्मका प्रतिबद्धता जनाएको हुँदा जनताले यी पार्टीलाई पत्याएर दुईतिहाइ छेउ पु¥याइदिएका हुन् । त्यसैले एमाले र माओवादीका नेताहरु आफ्नो प्रतिबद्धताबाट पछाडि हट्लान् भन्ने विश्वास गर्न सकिँदैन । तर, पार्टी एकतामा भएको विलम्वले वाम शक्ति विरोधीलाई खेल्ने मौका मिलेको छ । अझ भन्ने हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता अस्थिर नेताका कारण आम जनमानसमा शंका उत्पन्न भएको छ ।
प्रचण्ड स्वयंले माओवादी बैठकमा शेरबहादुर देउवाले पाँच वर्ष प्रधानमन्त्री खान आफूलाई आग्रह गरेका कुरा बताएपछि कतै ‘प्रचण्ड’ जनादेशविपरीत जान्छन् कि भन्ने आशंका पनि व्याप्त छ । तर, त्यो सम्भव किन पनि छैन भने निर्वाचनपूर्व नै प्रचण्ड र ओलीबीच एकखालको समझदारी भएर यो परिणाम वाम गठबन्धनले हात पारेका हो । यो परिणामलाई सदुपयोग गर्न सकिएन भने वाम गठबन्धन नेपालको कम्युनिष्ट इतिहासमै नालायक सावित हुनेछ र, अर्को चुनावमा जनताले धुलो चटाउनेछन् ।
जहाँसम्म पार्टी एकताको कुरा छ, त्यो दुवै पार्टीलाई नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा अड्किएको छ । त्यसलाई पनि फराकिलो छाती बनाएर अगाडि बढ्न सकियो भने अरु बीस वर्षसम्म वामपन्थीको सरकारलाई जनताले निरन्तरता दिनेछन् । त्यसैले अहिले नै ठूलो भाग खान पाइएन भनेर असन्तुष्टि पोख्नुभन्दा अलि दूरदर्शी भएर सोच्नु पर्छ । दुवै पार्टीका शीर्ष नेताहरुले जे मन लाग्यो बोल्नु भएन । पदीय मर्यादालाई ख्याल गरेर चित्त नबुझेको कुरा आमनेसामने गर्ने संस्कृतिको विकास गरिनु पर्छ ।
पार्टी एकीकरण भएर मात्रै हुँदैन, त्यो एकीकृत पार्टीलाई वर्षौवर्षसम्म टिकाउन पनि पार्टीभित्र उच्च नैतिकता, उच्च संस्कृतिको विकास हुनु आवश्यक छ । विगतमा कांग्रेस पार्टी एउटै भएर पनि त्यसका नेताहरुबीच मनमुटाव उत्पन्न हुँदा जनताले बहुमत दिएर पनि पूरा कार्यकाल सरकार चलाउन नसकेको उदाहरण छ भने कम्युनिष्ट पार्टीहरुभित्र पनि त्यस्तै खाले समस्या भएकोले ओली सरकारविरुद्ध माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्नुप¥यो । अहिले पनि प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा अगाडि सारेका छन् । यदि त्यो सहमति हो भने जनतालाई भन्नुप¥यो । होइन भने यस्ता कुरा सहमति नभईकन बाहिर आउनु भएन । त्यसले आफ्नै उचाई कम गर्छ भन्ने कुरा प्रचण्ड जत्तिको नेताले ख्याल गर्नुपर्छ ।
अब कुरा आयो नैतिकताको । लोकतन्त्रमा नैतिकताको ठूलो स्थान छ । नैतिकहीन नेताले देश डोहो¥याउन सक्दैनन् भन्ने कुराको पछिल्लो उदाहरण देउवा बनेका छन् । निर्वाचनमार्फत् जनताले वाम गठबन्धनलाई सरकार बनाउने अभिमत जाहेर गरिसक्दा पनि देउवा भने कांग्रेसलाई नै बहुमत दिएजसो गरी सत्तामा टास्सिरहेका छन् । उनले वाम गठबन्धनका नेताहरुलाई बधाई शुभकामना समेत दिएका छैनन् । जनमत आफ्नो विपक्षमा आउनासाथ लोकतन्त्रका ठूला–ठूला गफ हाँक्ने देउवाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो । तर, दुर्भाग्य तिनै देउवा प्रधानमन्त्रीको हैसियतमा दिनहुँ चाहिने, नचाहिने नियुक्ति र कार्यकर्तालाई हण्डी बाँडेर बदनाम भइरहेका छन् । वामपन्थीको सरकार आयो भने रुन पनि पाइन्न भन्ने देउवा आफ्नो अनुहार हेरेर आफँै हाँसिरहेका छन् ।
देउवाको असफलताबाट शिक्षा लिएर वाम गठबन्धनको सरकार अगाडि बढ्नु पर्छ । विगतमा जस्तो अस्थिरता अहिले छैन । पाँच वर्षसम्म ढुक्कले सरकार चलाउने अवस्था छ । विगत ७० वर्षमा नभएको विकास पाँच वर्षभित्र गर्न सक्ने क्षमता वाम गठबन्धनको सरकारले राख्नुपर्छ । त्यसका लागि उच्च नैतिकता र राजनैतिक संस्कार भने हुनै पर्छ ।

Related News