कान्तिपुर अस्पतालको पहलमा नेपालमा पहिलोपटक ब्रेन डेथ भएका व्यक्तिबाट मृगौला प्रत्यारोपन

    काठमाडौं, ४ जेठ 
  कान्तिपुर अस्पतालको पहलमा नेपालमा पहिलोपटक मष्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिबाट सफल रुपमा मृगौला प्रत्यारोपन सम्पन्न भएको छ ।   सडक दुर्घटनामा घाइते भई उपचारका लागि गत बैशाख २७ गते कान्तिपुर अस्पतालमा भर्ना  भएका खाङगसाङ –८ सिन्धुलीका ३० वर्षिय गोविन्द बहादुर भुजेलको उपचारको क्रममा बैशाख २८ गते ब्रेन डेथ भएको थियो । उनको दुई मृगौला दुई बिरामीमा प्रत्यारोपन भएको हो । 
उनको उपचारमा  चिकित्सकहरु कन्सलटेन्ट न्यूरोसर्जन डा.राजेन्द्र श्रेष्ठ र एनेष्थेसिया चिकित्सकद्वय डा.सन्तोष खड्का र डा.किरण अधिकारी आबद्ध  थिए । ब्रेन डेथ भएको अवस्थामा निज भुजेलका अंगहरु अन्य व्यक्तिलाई प्रत्यारोपन गर्न सकिने कानुनी प्रावधान भएकाले मानव अंग प्रत्यारोप केन्द्रका चिकित्सकहरुलाई जानकारी गराइएको थियो । कान्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.राजिव पाण्डेको संयोजकत्वमा यस अस्पतालका  सम्बन्धित चिकित्सकहरु  र मानव अंग प्रत्यारोपन केन्द्रका चिकित्सकहरु बसी निज भुजेलका आफन्तहरुसँग उनका अंग प्रत्यारोपनका लागि छलफल गरी मञ्जुरी लिएका थिए ।  । 
सबै कानुनी प्रक्रिया पुरा गरी कान्तिपुर अस्पतालकै अप्रेसन थियटरमा निज भुजेलको शरिरबाट प्रत्यारोपन  गर्ने अंग निकालिएको  डा.पणडेले बताए ।  उनको मृगौला मानव अंग प्रत्यारोपन केन्द्रमा उपचाररत बिरामीद्वय सुनसरीका ५१ वर्षिय गोविन्द प्रसाद तिमल्सिना र लाजिम्पाटका १५ वर्षिय मिलन श्रेष्ठमा बैशाख २८ गते नै सफल प्रत्यारोपन भएको छ ।  विगतमा नेपालमा पनि ५ पटक ब्रेन डेथ भएका व्यक्तिबाट अंग प्रत्यारोपन प्रयास भएपनि कान्तिपुर अस्पतालबाट अंग निकाली प्रत्यारोपन गर्न पहिलोपटक सफल भएको हो । ‘नेपालमा मानव अंग प्रत्यारोपनसम्बन्धि कानुन निर्माण भएपछि  पहिलोपटक कान्तिपुर अस्पतालकै पहलमा सफल मृगौला प्रत्यारोपन गर्न पाउदा हामीलाई खुशी लागेको छ ,’ कान्तिपुर अस्पतालद्वारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ,‘यसले ब्रेन डेथ भएका व्यक्तिहरुको अंगदानसम्बन्धि चेतना र महत्व नेपालमा बढ्ने हाम्रो बिश्वास छ ।’ 
  

Related News