प्योङयाङमा खुशीयाली | किम–ट्रम्पको तस्बिरले पत्रिका रंगिए

दृष्टि न्यूज

प्योङयाङ, (एजेन्सी) ।
उत्तर कोरियाको सत्तारुढ वर्कस पार्टीको मुखपत्र बुधबार पहिलो पृष्ठ उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोशिलो किसिमले हात मिलाएका तस्वीरले रंगिएको छ ।  
किम र ट्रम्पबीच ‘सिंगापुर शिखर बैठक’लाई ‘ऐतिहासिक’ भन्दै प्योङयाङले प्रचार गरेको छ । उसकै शब्दमा यो ‘अभूतपूर्व’ हो । यसमा किमले ठूलो सफलता हासिल गरेको जनाएका छन् । 
प्राविधिक रुपमा दुवै मुलुक अद्यापि युद्धकै स्थितिमा रहेपनि उनीहरुबीच नयाँ सम्बन्धको सूत्रपात गरेको चित्रित गर्दै प्योङयाङबाट बुधबार प्रकाशित पहिलो समाचार (रिपोर्ट)ले दक्षिण कोरियासँगको संयुक्त सैनिक अभ्यास बन्द गराउन किमको आग्रहलाई अमेरिकाले स्वीकार गरेको कुरालाई जोड दिएको छ । 
‘केही महिना अघिसम्म सशस्त्र युद्धको चरम खतराको परिस्थिति उल्टाएर कोरियाली प्रायःद्वीप र यस क्षेत्रमै शान्ति र स्थायित्वको वातावरण सिर्जना भएकोमा राष्ट्रपति ट्रम्पले प्रशंसा व्यक्त गर्नुभएको छ’, कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले उल्लेखल गरेको छ, ‘यसै वर्षको सुरुदेखि नै सम्मानित सर्वोच्च नेता (कीम) ले कोरियाली क्षेत्रमा शान्तिका लागि उपाय अपनाएकोमा धेरैधेरै बधाई ।’ 
नयाँ वर्षको आगमनसँगै किमले आणविक कार्यक्रम सम्पन्न भएको जनाउँदै विश्व समुदायसँग निकटमा रहेर कार्य गर्ने घोषणा गरेका थिए । चीन र दक्षिण कोरियाका नेतासँगको भेटघाट समेतका विभिन्न कुटनैतिक गतिविधिमा उनले विशेष ध्यान दिएको देखिन्छ र यी कुटनीतिक गतिविधि आणविक परीक्षण तथा लामो दूरीका क्षेप्यास्त्रको एकपछि अर्को परीक्षणसँग विल्कुलै मेल खाँदैनन् । गतवर्ष एकअर्का प्रति लक्षित चेतावनी र गालीगलौजले कोरियाली प्रायःद्वीपमा युद्धको त्रास निम्त्याएका थिए । 


किमले अमेरिकालाई साँच्चिकै अप्ठ्यारोमा पार्न सक्ने किसिमका आधुनिक हातहतियार विकास गरिसकेकोमा जोड दिएका छन् । शिखर बैठकमा किमले त्यही आडमा समान हैसियत राख्दै सहभागी भएको देखाउँदैछन् ।
आणविक निःशस्त्रीकरणप्रतिको किमको प्रतिज्ञालाई उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले बुधबार यही सन्दर्भका साथ उच्च महत्व दिएर प्रकाशन गरेका छन् । 
‘किम जोङ उन र ट्रम्पबीच कोरियाली प्रायःद्वीपमा शान्ति, स्थायित्व र निःशस्त्रीकरणमा अघि बढ्न क्रमिकरुपमा कार्य गर्नेमा सैद्धान्तिक प्रतिबद्धता व्यक्त भएको छ,’ केसीएनएले लेखेको छ । 
दुवै पक्ष यो प्रक्रियालाई अझ चाँडो अघि बढाउन प्रतिबद्ध छन्, र ट्रम्प र कीम दुवैले आ–आफ्ना देशको भ्रमणका लागि निम्तो दिएका छन् । 
रमाइलो कुरा, उत्तर कोरियाले शिखर बैठकमा पर्दा पछाडि चीन छैन भन्ने लुकाएन । किमले प्योङयाङबाट सोझै सिंगापुर आउँदा एयर चाइनाको चार्टर बिमान  प्रयोग गरे । 

Related News