​किन अलमलमा वाम गठबन्धन ?

रमेश घिमिरे । वाम गठबन्धनले सत्ता सम्हाल्न केही दिन मात्र बाँकी रहँदा समेत पार्टी एकीकरण हुन नसकेकोमा नेपाली जनता चिन्तित छन् । यस बीचमा पार्टी एकीकृत नहोस् भन्ने चाहना राख्ने विभिन्न तत्वहरु सलबलाइनै रहेका छन् । वाम गठबन्धनविरुद्ध सल्बलाइरहेका तत्वलाई खेल्ने ठाउँ दिनु हुँदैन । किनभने नेपाली जनमत वाम गठबन्धनको पक्षमा प्रकट भएको छ र वाम गठबन्धनको सरकारले मात्रै स्थिरता, सुशासन र आर्थिक समृद्धि दिन सक्छ भन्ने विश्वास जनतामा छ । 
यहाँनिर दुवै पार्टीका अध्यक्षले हेक्का राख्नुपर्ने कुरा के हो भने नेपाली जनताले आम निर्वाचनमा मुलुकमा राजनैतिक स्थिरता आओस् भनेरै वाम गठबन्धनलाई अत्यधिक बहुमतले विजयी गराएका हुन् । कुनै एक व्यक्तिलाई होइन । अहिलेसम्म पनि एमाले र माओवादीको पार्टी एकीकरणको प्रक्रिया कहाँ पुग्यो भन्ने कुरा नेपाली जनताले थाहा पाउन सकेका छैनन् । जबकि चुनावमा गरिएको बाचा भने सरकारमा जानुअघि नै पार्टी एकीकरण गर्ने भन्ने थियो । प्रदेश सरकारको गठन पार्टी एकीकरणअघि नै भइसक्यो । केन्द्र सरकार गठन हुँदा समेत पार्टी एकीकरण हुने कुनै सम्भावना छैन । यो देखेर नेपाली जनता चिन्तित भएका छन् । केन्द्रमा पार्टी एकीकरण नगरी सरकार बनेमा त्यसको स्थायित्वमाथि अवश्य पनि प्रश्न उठ्नेछ । एमालेमा प्रचण्डलाई एकीकृत पार्टी अध्यक्ष बनाउनु हुँदैन भन्नेहरु बलियो हुँदै गएका छन् । वाम गठबन्धनका नेताहरु अहिलेसम्म एकतामै अल्मलिएका छन् । अब पनि जनादेशको कदर नगरी पुरानै पाराले अघि बढ्ने हो भने एमाले र माओवादी दुवैको अस्तित्व संकटमा पर्ने छ । किनभने नयाँ जनादेश, पूर्ण परिणाम आइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा लाज शरम पचाई कुर्सीमा टाँस्सिएर आउँदो सरकारलाई अप्ठ्यारो पार्ने गरी अलोकप्रिय निर्णय गरिरहेका छन् । उनी वाम गठबन्धनलाई कसरी फोर्ने भन्ने दाउमा छन् । यस्तो परिस्थितिमा एमाले र माओवादी दुवैले पार्टी एकीकरण गरेर मात्र सरकारमा जानु पर्दछ भन्ने आम जनताको सुझाव छ । अनि मात्र नेपाली जनताले चाहेजस्तो राजनैतिक स्थिरता र मुलुक समृद्धितर्फ अगाडि बढ्नेछ । यसो गर्दा कहीँकतैबाट पनि व्यक्तिगत स्वार्थको गन्ध आउनु हुँदैन । यदि त्यसो भएमा मुलुकको राजनीति पुनः अस्थिरतातर्फ धकेलिने छ । यसतर्फ सबैले सचेतता अपनाई मुलुकलाई अगाडि बढाउनु पर्छ । नेपाली जनताले वाम गठबन्धनलाई दिएको मत बाँदरको हातमा नरिवल नहोस् भन्ने सुझाव छ ।
(स्वतन्त्र पत्रकार) rmshghimire@yahoo.com

Related News