​किन उदाए रन्जु दर्शना ?

विशाल छेत्री । काठमाडौँ महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय दुवै दलका केन्द्रीय नेताहरुले गरे । त्यही निर्णयअनुरुप एमालेले उपमेयरमा आफ्नो उम्मेदवार उठाएन र राप्रपाले मेयरमा एमालेलाई छाडिदियो । तर, ५० प्रतिशत मत गन्दासम्म एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँग ९ हजार हाराहारी मतले अग्रता लिइरहँदा उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठ निकै पछाडि छन् । बरु मेयरमा एमालेले पाएकै मतको हाराहारी कांग्रेसका उपमेयरका हरिप्रभा खड्गीले मत पाएकी छन् । 
कतिपय ठाउँमा एमालेप्रेमी मतदाताले उम्मेदवार नै नभएका ठाउँमा समेत सूर्य चिन्हमा मतदान गरेका छन् । कतिसम्म भने ललितपुरको एउटा वडामा त उम्मेदवारविहीनरुपमा सूर्य चिन्हले पाएको मत नै त्यहाँ पहिलो भएको छ । यो खालको मतदान जनताले एमालेलाई गरेको प्रेम वा सूर्य चिन्हप्रतिको लगाव मात्रै होइन, तालमेलका नाममा नेताहरुले गरेको सिद्धान्तहीन सम्झौताप्रतिको सांकेतिक विरोध हो । यो जनताको आत्माले अस्वीकार गरेको कुनै पनि अप्राकृतिक र अनैतिक गठजोड नगर्न नेताहरुलाई चेतावनी हो ।
केन्द्रमा नेताहरुले राजनीतिक सिद्धान्त, आस्था, मूल्य र मान्यताबाट प्रभावित हुने भन्दा पनि जनमतलाई जसरी लेनदेनको विषय बनाएका छन् भन्ने कुरा यो तालमेलले देखाएको छ । अर्को कुरा त्यसप्रति नेपाली जनताले कुन हदसम्म चित्त दुखाएका छन् भन्ने कुराको दृष्टान्त समेत मतदानको यो प्रवृत्तिलाई लिन सकिन्छ । यसपटक मतदाताहरुले नेता र जनताको सोचको दूरीलाई समेत देखाइदिएका छन् । नेताहरु केवल शक्ति देख्छन्, सत्ता देख्छन् । जनताका भावना, आकांक्षा र आस्थाको विषयलाई अंकगणितमा हिसाब गर्छन् । तर, उनीहरुको अन्तहृदयको आवाज बुझ्न सक्दैनन् भन्ने कुरा पनि यसपटकको चुनावी तालमेलबाट प्रस्ट भयो । हाम्रा नेताहरु कुन हदसम्मको मूल्यहीन राजनीति गरिरहेका छन् भन्ने कुराका प्रशस्तै दृष्टान्त देखेका नेपाली जनताले आफ्नो आक्रोश पोख्ने मौकाका रुपमा यो चुनावलाई लिएको पाइयो । चुनावी तालमेलको  नाममा भएको सिद्धान्त र मूल्य मान्यतबाट स्खलित नेताहरुको सोचमा गतिलो झापड समेत जनताले लगाइदिएका छन् । र, रञ्जु दर्शना, किशोर थापा र ललितपुरका रमेश मर्जनहरुले पाएको मत समेत यी परम्परागत शक्तिहरुको अर्घेल्याइँप्रति पोखिएको भडास हो । एमालेले राप्रपा, कांग्रेसले माओवादीलाई बोक्नु भन्दा बरु समाजमा स्थापित यी अनुहारलाई स्वतन्त्र उम्मेदवारकै रुपमा स्वीकारेको भए जनताले ठिक गरे भन्थे होलान् । अबका दिनमा ठूला पार्टीको ध्यान यता जानु पर्छ । 
हामीकहाँ लोकतन्त्रको अभ्यास परिपक्व हुन पाएको छैन । विभिन्न शक्तिहरुले यहाँ स्थायी विधि व्यवस्था बस्न दिएका छैनन् । तसर्थ यहाँ निरन्तर चुनाव हुन पाएको छैन । कहिले हाम्रै नेताहरुको कमजोरीले त कहिले प्रजातन्त्रविरोधी शक्तिहरुको प्रहार र अवरोधका कारण । यसकारणले पनि हुन सक्छ, बहुदलीय व्यवस्थाका हिमायती भनेर चिनिन चाहने दलहरुमा समेत आवधिक निर्वाचन र जनमतको कदर गर्ने संस्कार बसिसकेको छैन । जनमतप्रति विश्वास र कदरभाव नभएका नेताहरुले कहिल्यै जनभावनाको आकलन पनि गर्न सक्दैनन् । यसपटक एमाले नेताहरुले पनि आफ्ना मतदाताको भावना के छ भन्ने कुरा पहिल्याउन नसकेको पाइयो । एउटा दूरदर्शी नेतृत्वले पहिले नै आफ्ना मतदाताको भावना पर्गेल्छ । 
निर्वाचनमा जनताले दिने मत भनेको उनीहरुको हृदयको आवाज हो । सामूहिक रुपमा व्यक्त हुने जनताको हृदयको आवाज नै नेता एवं दलहरुका नीति, सिद्धान्त, आचरण र व्यवहारका निम्ति दिग्दर्शन हो । जनताको यो अन्तरहृदयको आवाज बुझ्न सक्ने नेतृत्व जनतासँग भिजेको हुन्छ  र हुनुपर्छ । अझ भन्दा जनतासँग भिजेको र जनचाहना बुझेको नेतृत्वले नै यो अन्तरहृदयको आवाज बुझ्न सक्छ । स्थानीय तहको निर्वाचनमा भएका तालमेलका सन्दर्भमा हेर्दा एमाले नेतृत्वले नेपाली जनताको हृदयको धड्कन अनुभव गर्न नसकेको पाइयो । 
एमालेले तालमेल गरेको पार्टी को हो भनेर चिनाइरहनुपर्दैन । र, तिनको चरित्रचित्रण गरेर अखबारका पाना भर्नु पनि आवश्यक छैन । घोषित रुपमै लोकतन्त्रमा क्षति पु¥याउन, लोकतन्त्रको आन्दोलनलाई दबाउन र मुलुकमा सीमित परिवारको शासन व्यवस्था चलाउन जुनसुकै हर्कत गर्न तत्पर भएर जनताले पटकपटक दण्डित गरिसकेका कमल थापासँग घाँटी गाँस्दै जनताको घरदैलोमा भोट माग्न हिँड्नु भनेको एमाले नेतृत्वले जनभावनामाथि गरेको कठोर व्यंग्य थियो । सत्तामा उक्लिन र टिक्न जस्तासुकै हर्कत गर्ने भएर नै तिनले मुसा प्रवृत्तिको संज्ञा पाएका हुन् । 
पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्मको सत्ताराजनीतिबाट लाभान्वित हुँदै आएका कमल थापाको वास्तविक अनुहार अन्तर्राष्ट्रिय रुपमै भ्रष्टाचारी भनेर चिनिने गणेश थापाले छातीमा टाँस्ने सांसदको लोगोमा देखिन्छ । भाइलाई भ्रष्टाचारको कारावाहीबाट जोगाउन सांसदको लोगो लगाइदिएर उनको पार्टीको उपादेयता र उनले पाएको गाईछापे जनमतको सदगद एकैचोटि गरिसकेका थिए । अनुहारभरि कालो पोतिएर जनताका आँगनमा जान नसक्ने भएपछि कमल थापाप्रवृत्ति कहिले हिन्दू धर्मको जयगान गर्दै गाई र त्रिशूल बोक्न पुग्छन् त कहिले एमालेको व्यापक संगठनलाई आकर्षित गर्न केपी ओलीको बुँइ चढ्छन् ।
एमाले अध्यक्ष केपी ओलीले यो कुरा नबुझेको पक्कै होइन, अहिले नेकपा एमालेप्रति देखिएको देशव्यापाी जनलहर कमल थापासँगको साझेदारीमा सत्ताभोग गरेका कारणले होइन, राष्ट्रिय मुद्दामा एमालेले लिएको सही अडानका कारणले हो । प्रकाशमान सिंहहरु नाकाबन्दीको नाम समेत उच्चारण गर्न डराइरहेका बेला एमालेले दृढतापूर्वक त्यसको सामना गर्ने नीति लिएकाले हो । वाणिज्य तथा यातायात पारवहनमा भारतीय एकाधिकार तोड्न मार्गप्रशस्त गर्ने रणनीतिक महत्वका सम्झौता चीनसँग गर्ने आँट गरेकाले हो । संवैधानिक निकायमा बसेर विधि र व्यवस्थालाई खल्बल्याउने लोकमानसिंह कार्कीजस्ताअराजकहरुलाई तह लगाएकाले हो । र, सरकारमा बसेर न्यापालिकालाई कठपुतली बनाउन खोज्ने शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको कलंकपूर्ण हर्कतलाई असफल पारेकाले हो । र, आगामी दिनमा पनि यस्ता प्रवृत्तिका विरुद्ध एमालेले दृढतापूर्वक लडोस् र लोकतान्त्रिक विधि, मूल्य, मान्यताको जगेर्ना एमालेको नेतृत्वमा होस् भनेर जनताले एमालेप्रति सहानुभूति प्रकट गरेका हुन् । यी कुरा नबुझेजस्तो गरी कमल थापाहरुसँग घाँटी गाँस्दै जनताका घरदैलामा भोट माग्न जाने हो भने त्यो प्रत्युत्पादक हुन सक्छ भनेर पहिलो चरणको स्थानीय तहको निर्वाचनले देखाएको छ ।
एमाले मात्र होइन, कांग्रेसले समेत माओवादीसँग तालमेल गरेर अर्को अनैतिक हर्कत गरेको छ । कांग्रेसको वास्तविक सिद्धान्त बुझेका मतदाताहरु माओवादीलाई मत दिन सक्दैनन् । गान्धीवादी आदर्शको परख गर्ने कांग्रेसका नेता कार्यकर्ताहरु १० वर्ष नेपाली जनताका घाँटी रेटेका प्रचण्डहरुका रक्तमुछेल हातमा हातेमालो कसरी गर्न सक्छन् ? एमालेको शक्ति र प्रभावबाट त्रसित भएका कांग्रेस र माओवादीका नेताहरुको साँठगाँठलाई समेत उनीहरुका कार्यकर्ताले धेरै ठाउँमा तिरस्कार गरेका छन् ।
क्षणिक स्वार्थ र नेताहरुको तुष्टिका निम्ति जनताले आफ्नो आस्था र सिद्धान्तलाई बलि चढाउँदैनन् भन्ने यस निर्वाचनको मतपरिणामको सार हो । चुनाव जित्न र शक्ति हासिल गर्नका लागि समाजका जस्तासुकै तत्वहरुसँग साँठगाँठ गर्न खोज्नेहरुलाई पनि जनताले पठाएको पाठ हो यो । साथै, यो चुनावी तालमेल केन्द्रका नेताहरुमा रहेको ठेकेदारी शैली र सामन्ती सोचको एउटा दृष्टान्त थियो । म नै राज्य हुँ, म नै सर्वाधिकार हुँ भन्ने लुई चौधौँको सोच पालेका नेताहरुलाई समेत यसपटक नेपाली जनताले गतिलोसँग स्वाद चखाएका छन् । र, सिद्धान्तलाई बन्धकी राखेर गरिने कुनै पनि प्रकारका सम्झौता, खुसामद वा गठजोड अमान्य रहेको सन्देशसमेत नेपालीले दिएका छन् । सहमतिका नाममा हुने मिलिजुली प्रथालाई जनताले तिरस्कृत गरेका छन् ।

Related News