कोही तर्सनु पर्दैन : ढकाल

दृष्टि न्यूज

काठमाडौं, ४ वैशाख ।  नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले जुम्लाबाट फोन गरेर मंगलबार दृष्टि साप्ताहिकमा प्रकाशित महासंघसम्बन्धी समाचारप्रति ध्यानाकर्षण गरेका छन् ।
ढकाल भन्छन्– विधान संशोधन नियमित प्रक्रिया हो । विधान संशोधन गर्ने भन्नासाथ कोही आत्तिनु पर्ने कारण म देख्दिनँ । महासंघका प्रतिनिधिहरुलाई आवश्यक पर्यो भने जहिले पनि विधान संशोधन हुन सक्छ । नेपालको संविधानजस्तै महासंघको विधान पनि गतिशील दस्तावेज हो । १८ महिना अगाडि महासंघमा गुटबन्दी भयो, गुटबन्दीले महासंघ कमजोर बन्यो भनेरै गुटबन्दी अन्त्य गर्नका लागि विधान संशोधन गरिएको हो । संशोधित विधानले महासंघभित्रको गुटबन्दी अन्त्य गर्नुका साथै चुनावमा लाग्ने ठूलो खर्च पनि जोगिएको थियो । यसबाट कसैलाई नोक्सान भएको थिएन । मैले एक जना व्यक्तिलाई अध्यक्ष बनाउनका लागि विधान संशोधन गरेको होइन, त्यो विधान सबैलाई लागू हुन्छ । गत वर्ष संशोधित विधानबाट वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बन्नुभयो । अब अध्यक्ष बन्ने पालो शेखर गोल्छाको हो ।
ढकाल भन्छन्– विधान अधिवेशनमा आफूलाई लागेको मत जाहेर गर्न सकिन्छ । त्यसबाट कोही तर्सनु पर्ने आवश्यकता म देख्दिनँ ।

Related News