​‘अतिथि’ बन्नमै व्यस्त कोमल वली

दृष्टि न्यूज

काठमाडौं, १० बैशाख । एक समयकी चर्चित लोकगायिका कोमल वली गायनमा सक्रिय हुँदा भन्दा हिजोआज बढी व्यस्त छिन् । 
उनी पहिले कलाकारका रुपमा व्यस्त हुन्थिन्, अहिले अतिथिका रुपमा । राष्ट्रिय सभा सदस्य भएपछि विभिन्न कार्यक्रमहरुमा ‘प्रमुख अतिथि’ बन्नमै व्यस्त छिन् कोमल वली ।
सञ्चारकर्मी समेत रहेकी कोमल गायनमा सक्रिय हुँदा गाएर दर्शकलाई खबै नचाउँथिन् । फरक यति हो, त्यो बेला गीतले नचाउँथिन् तर हिजोआज भाषण आफ्नो भाषणले मख्ख पार्छिन् । 
राष्ट्रिय सभा सदस्य भएयता प्रायः उनी हरेक संगीतसम्बन्धी कार्यक्रमहरुमा प्रमुख अतिथि बन्ने गरेकी छन् । संगीतकर्मीले पनि उनैलाई अतिथि बनाउन चाहन्छन् । 
यसैक्रममा आइतबार कोमल एक एल्बम सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा मञ्चमा देखिइन् । राजधानीको नगरकोट दोहोरी साँझमा आयोजित कार्यक्रममा वलीले गायक प्रेम अर्याल र गायिका सुमना थापा मगरको प्रस्तुति रहेको गीत ‘सुन्तलाको रस’ सार्वजनिक गरेकी थिइन् ।
प्रमुख अतिथि बनेकी राष्ट्रिय सभा सदस्य वलीले गायक अर्यालको क्षमताप्रति आफू् नतमस्तक भएको बताउँदै भनिन्, ‘कला संस्कृतिसँगै संस्कारको पनि विकास गरौं ।’ उनले नेपाली लोक संगीतको प्रवद्र्धनका लागि नयाँदेखि पुराना स्रष्टाहरुले लोक गायनलाई निरन्तरता दिनुपर्ने औल्याइन् ।
सार्वजनिक गीतमा रविन लामिछानेको शब्द र लय संकलन अर्यालकै रहेको छ । गोर्खा चौतारी म्यूजिकबाट सार्वजनिक गरिएको ‘सुन्तलाको रस’ गाउँतिर गाइने भाकालाई मध्यनजर गरिएको गायकले बताए ।
मायाप्रेममा आधारित यस गीतको म्यूजिक भिडियोलाई प्रेम अर्याल र प्रनिल तामाङले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा दिनेश थापा, सिर्जना किराँती, ऋतु तामाङ र प्रनिल तामाङकै अभिनय रहेको छ ।

Related News