​कोविन्द यसरी बने भारतका १४औं राष्ट्रपति

नयाँ दिल्ली (भारत), ६ साउन । भारतको राष्ट्रपति पदमा रामनाथ कोविन्द निर्वाचित भएका छन् । भारतीय राष्ट्रपतिको संवैधानिक पदका लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उनलाई ६५ प्रतिशत मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । 
७१ वर्षीय पूर्वविकल तथा राज्य सरकारका गभर्नर भइसकेका दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)’ तर्फबाट उनको नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो । मतगणना बिहीबार सम्पन्न भएको हो । 
विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वा्चित भएका हुन् । कोविन्दले ६५.३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मत पाए । कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मीरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएको आयोगले जनाएको छ । 
निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए । उत्तर प्रदेशका दलित नेताका रुपमा चिनिएका कोविन्द दुई पटक राज्यसभा सदस्य भएका थिए ।
भारतका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही साउन ९ गते सकिएपछि कोविन्दले राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नेछन् । कानुनको ज्ञाता, विसान तथा गरिब दलित समुदायबाट प्रतिनिधित्व गर्ने कोविन्द उत्तर प्रदेशबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुन् । 
सत्तारुढ दलले दलित उम्मेदवारलाई बनाएपछि प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले पनि पूर्व सभामुख मीरा कुमारलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । कोविन्दलाई राष्ट्रपति बनाएसँगै अछुत भनिने भारतीय दलित समुदायलाई भाजपाले महत्वपूर्ण सन्देश दिएको छ । 
भारतको जम्मा एक अर्व ३० करोड जनसङ्ख्यामा करिब २० करोड जनसङ्ख्या गरीब दलित समुदायको रहेको छ । उनी भारतीय इतिहासमा दलित समुदायबाट राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुन् । एजेन्सी

Related News