लोकमानजस्तै सरकार नांगिँदै छ : ओली


'ज्ञानेन्द्रको वक्तव्य एक नागरिकको विचार'

दमक, २७ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  सरकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीजस्तै आलोचित भएको बताएका छन । 

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको ‘अपवित्र गठबन्धन’बाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढंगले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नुपरेको उनको भनाइ छ । उनले सरकारको योग्यता नै निलम्वित अख्तियार प्रमुख कार्कीजस्तै अपुग भएको तुलना गरे । 

झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । कार्की जसरी नांगिए त्यसरी नै यो सरकार जनताका बीच आफंै नांगिँदै गएको उनको जिकिर थियो । 

सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको देखिन्छ । निर्वाचनबिना संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै उनले मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको छ भने । 

उनले संविधान संशोधन विधेयक संसद्मा लुकेर पेस गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याए । संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको विचार थियो । उनले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने बताए । 

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ उनको भनाइ थियो । 

Related News