​क्रान्तिवीरको सपना

दृष्टि न्यूज

श्याम रिमाल । सन् १९४५ अगष्ट १८ देखि नेताजी सुभाषचन्द्र बोसको मृत्यु एउटा नसुल्झेको रहस्य बनेको छ । ‘तिमी मलाई रगत देऊ, म तिमीलाई स्वतन्त्रता दिन्छु’ भन्ने बोसले आजाद हिन्द फौज स्थापना गरेका थिए । ‘जय हिन्द’को नारा दिने भारतीय स्वतन्त्रता सेनानी बोस यात्रा गरेको जापानी विमान ताइवानमा दुर्घटनामा पर्दा शव नभेटिएकाले उनी मरेबाँचेको अझै स्पष्ट हुन सकेको छैन । उनको अस्थिपञ्जर जापानको एक मन्दिरका पुजारीले अहिलेसम्म राखेको हल्ला पनि छ । कसैले सो समयमा विमान दुर्घटना नभएको, कसैले उनी जापानबाट रुस गएको र त्यहीँ फाँसी दिइएको, अयोध्यामा गुमनाम बाबा बनी बसेको र सन् १९८५ मा निधन भएको, उनी अहिले पनि जीवितै रहेको जस्ता अनेक तर्क दिइएको छ । 
नेपालमा पनि भोजपुर घर भएका एक त्यस्तै क्रान्तिकारी चरित्र रामप्रसाद राईको निधनबारे अझै स्पष्ट हुन सकेको छैन । विसं १९६२ मा जन्मिएका राई आफ्नै मुक्ति सेना गठन गरी प्रजातन्त्र प्राप्तिमा होमिएका थिए  र काठमाडौँ आई वास्तविक प्रजातन्त्र प्राप्त नभएको बताउँदा जेल परेकामा पछि केआइ सिंहसँगै सिंहदरबार ४३ वर्षका उमेरमा रसुवा जिल्लाबाट बेपत्ता भएका थिए । तिनै राईका बारे उपन्यासकार प्रदीप नेपालले ‘क्रान्तिवीरको सपना’ उपन्यास ल्याएका छन् रामप्रसाद राई स्मृति प्रतिष्ठानमार्फत  । 
वामपन्थी नेता प्रदीप भूमिगतकालमा सञ्जय थापा भए र लेख्ने खुला वातावरण आएकाले फेरि आफ्नै नाममा फर्किए । धेरै राजनीतिज्ञ लेखक हुन सक्दैनन् र धेरै लेखक राजनीतिज्ञ हुन सक्दैनन्, घोष्ट राइटिङको कुरा त अर्कै भयो ।  मातृकाप्रसाद कोइराला, पुष्पलाल, बिपी कोइराला, हृषिकेश शाह, मोदनाथ प्रश्रित, बाबुराम भट्टराई, झलनाथ खनाल, ईश्वर पोखरेल आदि यसमा अपवाद भए ।  नेपालले पनि राजनीति र साहित्य वा अन्य लेखनलाई सँगसँगै लगे । पत्रपत्रिकामा नियमित लेख लेखिरहने नेपालका थापा र नेपाल नामबाट २२ उपन्यास, ११ कथासङ्ग्रह र १२ नियात्रासङ्ग्रह प्रकाशनमा आइसकेको छ भने आगामी माघमा उनी एकल कविता पनि वाचन गर्दैछन् । 
उपन्यासमा उनले माओवादी क्रान्तिको विसङ्गतिमाथि ‘आकाशगङ्गाको तीरैतीर’ शीर्षकमा लेखे भने कम्युनिष्ट नेता मदन भण्डारीमाथि ‘वर्वरिक’ र रत्नकुमार वान्तवामाथि ‘देउमाईको किनार’ लेखिसकेका छन् ।  नख्खुजेल विद्रोहका एक नाइके नेपालको यो पछिल्लो उपन्यास ‘जननायक रामप्रसाद राईको जीवनीमा आधारित’ छ । उपन्यास ऐतिहासिक तथा क्रान्तिकारी चरित्र राईको वरिपरि घुमेको छ । भोजपुरे नेपाललाई भोजपुरकै चरित्रमाथि उपन्यास लेख्न केही अनुकूलता भए पनि लेखकलाई उनीसम्बन्धी शोधग्रन्थहरु अध्ययन गर्नुपरेको थियो । उपन्यास पूर्वकथन(पूर्वदीप्ति) अथवा फ्ल्यासब्याक शैलीमा लेखिएको छ जसको कथा लेखकलाई आफ्ना पिताले सुनाएका(यथार्थ चाहिँ होइन) छन् । 
नेपाली पल्टनका सुवेदारका कान्छा छोरा रामप्रसाद पनि बेलायती सेनाअन्तर्गत कोलकातामा जागिरमा गयो । भारतमा चलेको स्वतन्त्रता आन्दोलनबाट ज्ञान पाएर ऊ नेपालमै फक्र्याे र नेपाली सेनामा जागीर खायो । सेनामा उसले राणाहरुकै शासनअन्तर्गत जागीर खाए पनि ऊभित्रको क्रान्तिकारी विचार शासनविरुद्ध थियो । सेनामा रहँदा साथीहरु र गाउँलेको मन जितेको थियो ।  उसले मुक्तिसेना गठन गरी राणाशासनविरुद्ध भोजपुर, ओखलढुङ्गामै सङ्घर्ष ग¥यो र सफलता पनि प्राप्त ग¥यो तर काठमाडौँ आउँदा प्रजातन्त्र आएको भनिए पनि श्री ३ मोहनशम्शेर नै प्रधानमन्त्री र क्रान्तिका कमाण्डर मातृकाप्रसाद ढाके्र भएको देखेर रामप्रसाद दिक्क भए र युद्ध जारी राखे । उनी दिल्ली सम्झौतामा नेपाली जनता र मुक्तिसेनाको सहभागिता नभई प्राप्त भएको भनिएको अपूरो प्रजातन्त्रमा अल्मलियौँ भने अर्काे सय वर्ष भारतको गुलामीमा बिताउनुपर्ने बताउँदै काठमाडौँमा भाषण गर्न लागे । उनलाई गिरफ्तार गरी केन्द्रीय कारागारमा थुनियो । मुक्ति सेनाले आक्रमण गरी उनलाई मुक्त ग¥यो र  उनीहरु शासनको केन्द्र सिंहदरबार कब्जा गर्न लागे । त्यहीँ थुनिएका केआइसिंहलाई पनि मुक्त गरे जो सात सालको क्रान्तिलाई अपूरै ठान्थे । सम्झौतामा भुलाउने र सैनिक लगाई समात्ने सरकारको योजना थाहा पाएर दुवै जना चीनका लागि प्रस्थान गरे । बेत्रावतीबाट रसुवागढी जाँदा चिनियाँ प्रहरीले केआईसिंहलाई छाडी राईहरुलाई चाहिँ समातेपछि उनको स्थिति अज्ञात छ । उपन्यासको कथा यही हो ।
उपन्यास भएकाले लेखकले कतिपय  काल्पनिक कुरा पनि थप्न सक्छन् । यसमा रामप्रसादलाई कम्युनिष्ट विचारसँग नजिक देखाइएको छ, यो कति वास्तविक छ, खोजी गर्नु आवश्यक छ । 
उपन्यासका केही पात्रको नाम र प्रसङ्गवश आएका  नामको पछाडि आउने मध्य नाम प्रसाद र  बहादुर केही ठाउँमा उल्टो परेका छन्(पृष्ठ ५५ र ८९) भने एक ठाउँमा जुद्धशम्शेरका ठाउँमा अर्कै नाम हुनुपर्नेमा उनकै नाम दोहोरिएको छ(पृ ४१) । एक ठाउँमा पक्राउ शब्दका ठाउँमा गाउँ भएको छ (पृ २) ।कहीँ कहीँ संवादहरु कसले बोलेको भन्ने बुझ्न गाह्रो छ । वर्णविन्यास त यति गल्ती छन् कि लेखकले अन्तिम प्रुफ चाहिँ कहिल्यै हेर्दैनन् जस्तो लाग्छ, किनकि यसअघिको शायद ‘मुक्त आकाशको खोजी’उपन्यासमा पनि यस्तै गल्ती बग्रेल्ती थिए । कहीँ वचन पनि बिग्रेको छ । रुम्जाटारको कोदाको पीठो... कवितामा केही शब्द र अर्ध शब्द थपघट भएका छन्(पृ ३७)। उपन्यासमा राजा, राणा र काँग्रेसलाई प्रतिगामी देखाई रामप्रसाद राईको वास्तविक प्रजातन्त्र वा गणतन्त्रको सपना पूरा गर्नुपर्ने सन्देश दिएर कृतिलाई सन्देशमूलक बनाउन चाहिँ सकेका छन् । सात सालको क्रान्तिलाई पूर्ण वा अपूरो वा धोका के भन्नेबारे विवाद अहिले पनि जारी छ जसको सही विश्लेषण हुनै बाँकी छ ।   

Related News