किन रातारात सहर सफा गरिँदै छ ?

दृष्टि न्यूज

काठमाडौं । राजधानीलाई सुन्दर बनाउने काम धमाधम भइरहेको छ । बिम्स्टेक शिखर सम्मेलन नजिकिँदै गएपछि काठमाडौं महानगरपालिकाले सडक छेउका अव्यवस्थित रुपमा छरिएका तार व्यवस्थापन गर्न थालेको छ भने सडकका खाल्डाखुल्डी पुरिने काम पनि रातारात भइरहेको छ ।
आउँदो १४ र १५ भदौमा काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन आयोजना हुँदैछ । त्यसकै तयारीका क्रममा सहरलाई सुन्दर बनाउन कामपा लागेको हो । 
अव्यवस्थित रूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउन लागिएको कामपाले जनाएको छ । कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाका अनुसार अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरुप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थित रूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ ।
सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउनका लागि व्यवस्थापनको काम अघि बढाइएको बताइएको हो । 
त्यस्तै, धुलो संकलन गर्ने, गैरकानूनी रूपले फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा सम्बन्धित निकायले काटेका तार व्यवस्थापन गर्ने कार्य विभागको नियमित काम भएको छ । साथै सडकको बीचमा रहेको खम्बा र आसपासमा भएका जीर्ण रुखका हाँगा हटाउने काममा पनि कामपाको ध्यान जान थालेको छ । यस किसिमको समस्या विशषेगरी म्हेपी क्षेत्रको सडकमा रहेको छ । 
सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, भुटान र श्रीलंका सदस्य राष्ट्र छन् । सन् २००४ मा नेपालले बिम्स्टेकको सदस्यता पाएको हो । बिम्स्टेकको यसअघिको सम्मेलन सन् २००४ मा थाइल्यान्डमा, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यानमारमा भएको थियो ।

Related News