​​​काठमाडौं महानगरमा मनोरेलको सपना

मेयर शाक्यको चुनौती र अवसर

काठमाडौं, १० साउन । भारतीय नाकाबन्दीले नेपालीहरुको जनजीवन अस्तव्यस्त बनायो । पेट्रोलियम पदार्थदेखि औषधिसम्म ल्याउन नदिन भारतले मधेसी मोर्चालाई उचालेर सीमामा अघोषित नाकाबन्दी लगायो । घरका चुल्हो बल्न छाडे । सरकारले जनतालाई हातमुखजोर्न दाउराको व्यवस्था ग¥यो । सवारी साधनको अभावमा स्कुल कलेज बन्द भए । सरकारी कार्यालयका कर्मचारी पैदलै हिंडेर आफ्नो अफिस पुगे । अहिले सम्झँदा ती दिन सपनाजस्तै लाग्छ । यस्तो भयावह अवस्थामा प्रधानमन्त्री थिए केपी शर्मा ओली ।
भारतको अघोषित नाकाबन्दीले हताहत र निराश भएका नेपाली जनतालाई धैर्य गर्न आह्वान गरे । राष्ट्र र राष्ट्रियताप्रति एकजुट हुन र आफ्नो स्वभिमान झुक्न नदिन उनले नेपाली जनतालाई सपना बाँडे– घर घरमा ग्यासको पाइप, काठमाडौं र मेची–महाकाली मेट्रो रेलको सपना देखाए । भावी पुस्ताले यस्तो दुःख पाउन नपरोस् भनेर चीनसँग व्यापार पारवहान सन्धि गरे । नेपाल प्राकृतिक सम्पदाको धनी देश भएर पनि आफ्नै स्रोत साधन परिचालित गर्न नसक्दा नेपाली जनता गरिबीको रेखामुनि बाँच्न बाध्य भएका छन् । त्यसैले अबको एजेन्डा तत्कालीन प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हो भनेर हरेक मञ्चमा त्यसप्रति नेकपा एमाले दृढ संकल्प रहेको प्रतिबद्धता जनाए । हो, हामीले पेट्रोलियम पदार्थ उत्पादन गर्न नसके पनि जलविद्युत उत्पादन गर्न सक्छौं । वार्षिक एक खर्बको पेट्रोलियम पदार्थ आयात गर्ने देशले वार्षिक एक खर्ब जोगाउन सक्यौं भने मात्रै पनि १० वर्षमा दशौं हजार मेगावाट जलविद्युत उत्पादन गर्न सक्छौं । पेट्रोलियम पदार्थमा आधारित भारतीय कम्पनीका गाडी आयात गरेर वार्षिक एक खर्ब व्यापार घाटा हामीले व्यहोरेका छौं । त्यसको विकल्पमा काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, महेन्द्रनगरजस्ता सहरमा मनोरेल विस्तार गर्न सक्यौं भने नेपालीको जीवन १० वर्षमा परिवर्तन गर्न सक्ने छौं । त्यसका लागि सरकारको प्रतिवद्धता आवश्यक छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका मेयर विद्यासुन्दर शाक्यका लागि काठमाडौंको मनोरेल प्रोजेक्ट चुनौती र अवसर दुवै हो । यदि मेयर शाक्यले मनोरेल सम्बन्धी कामलाई तत्कालै अगाडि बढाए भने पाँच वर्षभित्रै काठमाडौंमा मनोरेल सञ्चालन हुनेछ । नेपालको साइमेक्स इंक र काठमाडौं महानगरपालिकाबीच गत फेब्रुअरीमा मनोरेल सम्बन्धी सम्भाव्यता अध्ययन भएको थियो । चिनियाँ कम्पनी बीवाईडीसँग मिलेर साइमेक्स इंकले चार महिनामा तयार पारेको मनोरेलको प्रारम्भिक अध्ययनमा जर्मन र बेलायतका विज्ञहरुको समेत संलग्नता थियो । उक्त प्रतिवेदन साइमेक्स इंकका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले गत साता एक समारोहकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । अब उक्त परियोजना प्रारम्भ गर्न डीपीआर गर्नुपर्ने छ । डीपीआरपछि मनोरेलको वास्तविक आम्दानी र खर्च सार्वजनिक हुनेछ । यदि काठमाडौंका मेयर शाक्यमा इच्छाशक्ति छ भने उनले काठमाडौंको प्रदूषण, सवारी चाप, दुर्घटना न्यूनीकरण र इन्धनको बचत गर्न मनोरेलको डीपीआर थाल्नु पर्छ । किनभने काठमाडौंमा सवारी साधनका कारण ३८ प्रतिशत प्रदूषण बढेको छ भने धुलोको कारण २९ प्रतिशत प्रदूषण बढेको छ । मनोरेलको प्रयोगसँगै सवारी आवागमनको चाप कम हुने हुँदा त्यसले धुँवा, धुलो स्वतः नियन्त्रणमा आउँछ भने सवारी दुर्घटनाको न्यूनीकरण गर्ने एक अध्ययनले बताएको छ । त्यो भन्दा पनि महत्वपूर्ण पाटो भनेको मनोरेल विद्युतबाट सञ्चालन हुने हुँदा त्यसले पेट्रोलियम पदार्थको विस्थापित गर्नुका साथै कुनै पनि बेला छिमेकीले निहुँ खोजेर नाकाबन्दी लगाउँदा त्यसले जनजीवनलाई सरल बनाउने छ ।
साइमेक्सका अनुसार सामान्यतया १० किलोमिटर दूरीको रेल लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने दाबी कम्पनीको छ । रेलको एउटा डिब्बामा दुई सय जना यात्रु अट्न सक्ने र एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिने कम्पनीले जनाएको छ । तर, महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने अध्ययनले देखाएको छ । कम्पनीले प्रस्तावित गरेको पाँच वटा रुटमा स्काई रेलको दुई अर्ब १५ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।
साइमेक्सक अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले काठमाडौं उपत्यकामा मनोरेलको सम्भावना धेरै रहेको बताउनुभयो । ‘अहिले पहिलो चरणमा १० किलोमिटर पाइलट प्रोजेक्टका रुपमा सफल गराउन सकियो ने थप विस्तार गर्न सकिन्छ, यात्रुलाई आरामदायी र समयमै यात्रा गराउन स्काई रेल ज्यादै उपयोगी छ, वातावरणीय महत्वले पनि स्काई रेल उपयोगी छ ।’
सम्भावित रुट
पहिलो : सातदोबाटो–लगनखेल–पुल्चोक–हरिहरभवन–त्रिपुरेश्वर–सहिदगेट–रत्नपार्क–नारायणहिटी–लाजिम्पाट–महाराजगन्ज (१२.१० किमी)
दोस्रो : कीर्तिपुर–कलंकी–कालिमाटी–त्रिपुरेश्वर–माइतीघर–नयाँबानेश्वर–तीनकुने–एयरपोर्ट (११.१५ किमी)
तेस्रो : कोटेश्वर–सिनामंगल–चावहिल–नारायणगोपाल चोक–गोंगबु–बालाजु–स्वयम्भु–सीतापाइला–कलंकी– बल्खु–धोबीघाट–एकान्तकुना–ग्वार्को–कोटेश्वर (१२.५३ किमी)
चौथो : स्वयम्भु–छाउनी–गंगालाल–रत्नपार्क–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–चावहिल–बौद्ध (११.७० किमी)
पाँचौं : धोबीघाट–पुल्चोक–मंगलबजार–माइतीघर–सिंहदरबार–डिल्लीबजार–तिलगंगा–नारायणहिटी–नयाँबजार–गोंगबु (१३.८० किमी)

Related News