​गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरहीन छडको प्रयोग

दृष्टि न्यूज

काठमाडौं । गुणस्तर, प्रविधि, बलियोपना निर्माण सामग्रीहरुले गर्ने बिज्ञापनमा धेरै प्रयोग हुने शब्दहरु हुन् । विभिन्न सञ्चार माध्यमहरुमा बज्दै आएको यस्तै आकर्षक विज्ञापनको प्रलोभनमा पारेर जनतालाई चिसो पानीमा सुताउने व्यापारीलाई सरकारले केही जरिवना लिएर त छोड्ला तर जनताले भोगेको पीडाको क्षति कसले व्यहोर्ला ?
गुणस्तरहीन निर्माण सामग्री छड उत्पादन गरेर लाखौं जनताको जीवन जोखिममा पारिहाल्छ भनेर जो कोहीले हत्तपत्त पत्याउन मुश्किल छ । तर, व्यापारमा केवल मुनाफा मात्रै हेर्ने प्रवृत्तिले नेपाली उत्पादनले विकास पूर्वाधारमा दिनप्रतिदिन विश्वास गुमाउँदैछन् । ठूलो विकासका आयोजनामा गुणस्तरहीन सामग्री प्रयोग भएमा त्यसले ठूलो मानवीय क्षति त हुनसक्छ नै भौतिक क्षतिको मूल्याङ्कन गरी साध्य समेत हुँदैन । 
नेपालको राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको रहस्य खुलेको छ । यस्तो रहस्योद्घाटनसँगै नेपाल गुणस्तर तथा नापतौल विभागले गौतमवुद्ध विमानस्थलमा काठमाडौं स्टील प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । विभागले गुणस्तर परिक्षणको क्रममा काठमाडौं स्टीलको डन्डी गुणस्तरहीन रहेको फेला पारेपछि प्रयोगमा रोक लगाएको हो । 
सो विमानस्थल निर्माणमा काठमाडौं स्टील्सद्वारा उत्पादित प्रिमियम ५ डि ब्राण्डको रड ठूलो मात्रामा प्रयोग गरिएको थियो । हाल परिक्षणको क्रममा सोही स्टिल्सद्वारा उत्पादित एफई–५०० नामक ब्राण्ड कामै नलाग्ने अवस्थामा रहेको पाइएपछि विभागले यस्तो प्रतिबन्ध लगाएको हो । विभाग स्रोतले जनाए अनुसार रडको गुणस्तर कमजोर रहेको तथा बलियो नभएको पाइएपछि काठमाडौं स्टील्सको नेपाल गुणस्तर प्रमाण चिन्ह नै खारेज गरिएको छ । गुणस्तर खारेज गरेपछि पुनः गुणस्तर चिन्ह नलिई उत्पादन तथा बिक्री वितरण गर्न पाइदैन । तर, उद्योगले भने निर्वाध रुपमा उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । नेपालको प्रचलित कानुन अनुसार गुणस्तर चिन्ह नलिएका रड बजारमा बिक्री वितरण गर्न पाईदैन । तर काठमाडौं स्टील्सको टीकापुर, नवलपरासीमा रहेको फ्याक्ट्रीमा दैनिक ३०० मेट्रिक टनको हाराहारीमा रड उत्पादन भइरहेको छ । उत्पादित रड बजारमा बिक्री वितरण भइरहेको छ । 
विभागले परीक्षण गर्दा टेन्साइल प्रपर्टी पाँच सय हुनुपर्नेमा साढे चार सय मात्रै भएको भेटिएको थियो । टेन्साइल कम हुँदा भारवहन क्षमता कमजोर हुने प्राविधिकको भनाई छ । कमजोर छडबाट भवनहरु निर्माण गर्दा भवन नै कोल्याप्स हुने खतरा हुन्छ भने विकास आयोजनाहरु चाँडै बिग्रन्छन् ।
न्यूजिल्याण्डको प्रविधि प्रयोग गरी अत्याधुनिक छड उत्पादन गर्दै आएको दावी गर्ने काठमाडौं स्टील्सले गुणस्तरहीन कच्चा पदार्थ ल्याएर इकोनोमी ब्राण्डको छड उत्पादन गर्दा समस्या आएको सूत्रको दावी छ । सो छडको सम्बन्धमा बजारमा धेरै गुनासो आएपनि मुनाफाका लागि निर्माणमा प्रयोग भइरहेको छ । गुणस्तरहीन भनेर प्रतिबन्ध लगाएको छड हजारौं मानिसले घर बनाउँदा प्रयोग गरेका छन् । यस्तो तथ्यको उजागरसँगै घरमा उक्त छड हालेकाहरु चिन्तित बन्ने देखिएको छ ।
गुणस्तरहीन छड उत्पादन गरिएको सम्बन्धमा काठमाडौं स्टील्सका सिईओ केशव पोखरेलले गुणस्तरमा समस्या आएको बताए । तर उनले प्रिमियम ५०० डि मा समस्या नआएको दावी गरे । उनले एफई–५०० भैरहवा आयोजनामा प्रयोग लैजाने उद्देश्यले स्याम्पल परिक्षणको क्रममा फेल भएको स्वीकार गरे । उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनामा हामीले त्यतिकै दिँदैनौं । हाम्रो उत्पादन यस्तो छ, लगेर स्याम्पल गरिक्षण गर्नुस्, तपाईहरुको रिक्वाएरमेन्ट मिल्यो भने लैजानु होला भनेर स्याम्पल पठायौं, फेल भयो अहिले त्यसैलाई इस्यु बनाइएको हो । अरु केही होइन ।’ साथै उनले भैरहवामा विमानस्थलमा प्रयोग गरिएको प्रिमियम ब्राण्डका छडहरु भने गुणस्तरीय रहेको दावी गरे ।

Related News