​काठमाडौंको आकाशमै खतरा

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । सडक यात्राको तुलनामा हवाईयात्रा धेरै नै सुरक्षित, विश्वासिलो र भरपर्दो मानिन्छ । त्यति मात्रै होइन निर्धारित समयमा गन्तव्यमा पुगिने र समय व्यवस्थापनको लागि उपयोगी मानिएको हवाई यातायात नेपालमा भने असुरक्षित, ढिलासुस्ती र अत्यन्तै महंगो पर्दै आएको छ । 
सोमवार अपरान्ह १२ः३५ बजेको समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न पाँच वटा अन्तर्राष्ट्रिय उठानका ठूला जहाज आकाशमै ‘होल्ड’ भइरहेका थिए । सो समयमा बंगलादेशको राजधानी ढाकाबाट काठमार्डौं आएको विमान बंगलादेशको जहाज करिब ४५ मिनेट देखि बारा, मकवानपुर माथिको आकाशमा फन्को मार्दै थियो । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सधैं हुने जामका कारण विमान बंगलादेशको जहाज जस्तै दिल्ली काठमाडौं उडानमा रहेको नेपाल एयरलाइन्सको लुम्बिनी जहाज पनि काठमाडौंमा अवतरण गर्ने प्रतिक्षामा बारा–मकवापुर माथिको आकाशमा तीन फन्का मारिसकेको छ । त्यस्तै मालिन्दो एयरलाइन्स, थाई एयरवेज र जेट एयरवेजका जहाज पनि काठमाडौं छिर्न आकाशमै फन्को मार्न बाध्य छन् । पाँच वटा जहाज एउटै विन्दुलाई आधार मानेर फन्को मार्न थालेपछि शायद असुरक्षित महसुस गरेर होला, नेपाल एयरलाइन्सको जहाजका क्याप्टेनले ‘होल्ड एरिया परिवर्तन गर्दै बारा–पर्साको आकाशमाथि पुगेर सर्कल लगाइरहेका थिए । ११ हजार तीन सय ५० फिटमाथि फन्को मारिरहेको जहाजका यात्रु सधंैका जस्तै सोमबार पनि अलमलमा थिए । अवतरण गर्नुपर्ने जहाज किन आकाशमा एकै ठाउँमा फन्को मारिहेको छ ? 
काठमाडौंस्थित त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलले बारा–मकवानपुरको आकाशमाथि एकै विन्दुलाई आधार मानेर पाँच वटा सम्म जहाज उचाई तलमाथि गराएर होल्ड गराउने गरेको छ । हालसम्म कुनै अप्रिय घटना भएको छैन, यो सुखद विषय भएपनि यसरी एउटै विन्दुमा तलमाथि गरेर आकाशमा जहाज होल्ड गराउँदा कुनै एउटा जहाजमा समस्या आएमा अन्य जहाजलाई समेत असर गर्नसक्ने त्यसबाट कुनै अप्रिय घट्ना भएमा ठूलो भौतिक र मानवीय क्षति हुने विज्ञहरु बताउँछन् । 
सोमबार मध्यान्ह पाँच वटा जहाज एउटै विन्दुमा होल्ड हुँदा ढाका–काठमाडौं उडानमा रहेको विमान बंगलादेश, दिल्ली काठमाडौं उडानमा रहेको जेट एयरलाइन्स, दिल्ली काठमाडौंकै उडानमा रहेको नेपाल एयरलाइन्स र मलेसिया–काठमाडौं उडानमा रहेको मालिन्दो एयरलाइन्सको जहाज र बैंकक–काठमाडौं उडानमा रहेको थाईएयरलाइन्सको जहाजका बीचमा करिब एक हजार पाँच सय देखि दुई हजार फिटको तलमाथि थियो । सबैभन्दा माथि थाई एयरलाइन्सको जहाज थियो । भने सबैभन्दा तल विमान बंगलादेश । त्यही पाँच वटा जहाजको  चापका कारण नेपाल एयरलाइन्सका जहाजका क्याप्टेनले यसअघि तीन फन्को मारिसकेको होल्ड एरिया परिवर्तन गरेको अनुमान गरिएको हो । 
अन्तर्राष्ट्रिय उडानमा रहेको  ठूला जहाज खराव मौषम, तीव्र हावाका कारण एक हजार फिटसम्म जम्प गरेका उदारहणहरु छन् । नेपाल जस्तो उच्च पहाडले भरिएको स्थानमा यस्तो खतरा बढि हुने गर्दछ । यसअघि नेपाल एयरलाइन्सकै जहाज धादिङ माथिको मध्य आकाशमा एक हजार फिट तल जम्प गरेपछि छानविन टोली नै बनाएर अनुसन्धान गरिएको थियो । 
जहाजले आकाशमा फन्को मारिहँदा सकुशल होइन्छ भन्नेमा ढुक्क भएपनि यात्रुको मन भने अशान्त नै हुने गरेको ‘होल्ड’बाट आजित बनेका यात्रुहरु बताउँछन् । काठमाडौंस्थित विमानस्थल व्यवस्थापनले जहाज उडान र अवतरणका लागि सही योजना बनाउन नसक्दा नेपाल आउने सबै जहाजले आधा घण्टा देखि दुई घण्टासम्म आकाशमै होल्ड हुनु समान्य विषय बनिसकेको छ । तर, यसबाट सुरक्षा खतरा एकातिर छ भने अर्कोतर्फ काठमाडौं आउने सबै जहाजले महंगो भाडा लिन समेत बाध्य हुुनुको पछाडि होल्डको कारण पनि एक हो । अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजले एक घण्टा आकाशमा होल्ड हुँदा करिब तीन हजार केजी इन्धन खपत हुन्छ भने जहाजको इन्जिनको आयु समेत क्षयिकरण आकाश प्रयोग गरे बापत राज्यलाई तिर्नुपर्ने कर समेत जोड्दा प्रतिघण्टा करिब पाँच देखि १० लाख रुपैयाँसम्म क्षति व्यहोर्न बाध्य छन् । काठमाडौं स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक दर्जनभन्दा बढि अवतरणमा आकाशमै होल्ड हुने गरेको छ । 
एकतर्फी र सानो धावनमार्गका कारण काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै साँघुरिँदै गएको छ । त्यसमाथि आन्तरिक जहाजको चाप, अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको पार्किङस्थलको अभावमा कारण अवतरणको क्रममा रहेको जहाज सधैं आकाशमै फन्को मार्न बाध्य छन् । सरकारले पर्यटन वृद्धि, सर्वसुलभ र सस्तो हवाई यात्राको बारे सोच्ने हो भने काठमाठौंस्थित विमानस्थलाई व्यवस्थित, नियमित र योजनाबद्ध सुधारको काम गर्न ढिलाई गर्नु हुँदैन ।

Related News