​काठमाडौं विश्वविद्यालयद्वारा उपाधि रक्षा

काठमाडौं, १ साउन । काठमाडौं विश्वविद्यालय दोस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदमा टिम च्याम्पियन बनेको छ । साविक विजेता काठमाडौंले ४ स्वर्ण, १ रजत र २ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । तीन खेल भलिबल, ब्याडमिन्टन र  टेबलटेनिस समावेश खेलकुदमा काठमाडौंले चारै स्वर्ण टेबलटेनिसतर्फ जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।
टेबलटेनिसतर्फ सिंगल्सको छात्रमा करण राई र छात्रामा दीपिका श्रेष्ठले काठमाडौंलाई स्वर्ण दिलाएका थिए । त्यस्तै डबल्सको छात्रमा करण र युगेश राई तथा छात्रामा इशिका रेग्मी र दीपिको जोडीले काठमाडौंका लागि स्वर्ण जितेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय ३ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको पोखरा विश्वविद्यालयले २ स्वर्ण, २ रजत र ३ कांस्य जित्यो ।
प्रतियोगिताको अन्तिम दिन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र भलिबलमा त्रिवि पहिलो भयो । त्रिविले उपाधि भिडन्तमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई २५–१९, २५–२१ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो । मध्यपश्चिमाञ्चल र काठमाडौंबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मध्यपश्चिमाञ्चल २५–१६, २५–१९ र २५–२१ को सीधा सेटमा विजयी भयो । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य एवं प्रतियोगिता संयोजक प्रा.डा. अरविन्द श्रीवास्तव, राखेपका सदस्य गंगाबहादुर थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको भलिबलमा ८ छात्र टिम सहभागी थिए । ब्याडमिन्टन र टेबलटेनिसको छात्रमा ९ विश्वविद्यालय तथा छात्रामा ७ विश्वविद्यालयबाट समान ४–४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Related News