कुलमानः जनताका सच्चा कलाकार

श्याम रिमाल । जो गर्न सक्छ समाजको सेवा निःस्वार्थी बनेर उसैको बन्छ चित्र र मूर्ति समाजले गनेर(कुलमानसिंह भण्डारी), ग्याँचे मान्छे, ढ्याके जिउ, छन्द न बन्दको बान्की, असरल्ल परेको अनुहार, लठ्यौरा जस्ता । उनी थिए जनकलाकार, खासमा चित्रकार, मूर्तिकार पनि । गुरुहरु थिए–बाबु एकबहादुर, मसूरीशम्शेर जबरा, तेजबहादुर चित्रकार, चन्द्रमानसिंह मास्के, पारसमणि रञ्जितकार, बालकृष्ण सम, मोहनमानसिंह वज्राचार्य, मङ्गलबहादुर पौडेल, चामु गुभाजु । बागलुङ पुगेर वज्राचार्यसँग हुक्का खाने नलीको बुट्टा पनि सिके । एक पल्ट कालीगण्डकीबाट ढुङ्गा बनाएर माओकै मूर्ति पनि बनाइदिए । अहिले घरमा उनले नै  बनाएको ढुङ्गाको एक मूर्ति छ । मूर्तिकार छोरा रामकृष्ण  भण्डारी भन्छन्–“हेरिल्याउँदा त त्यो बाकै अनुहार जस्तो पो लाग्छ ।” रामकृष्ण अहिले बालाई समाजबाट बिर्सन नदिन प्रदर्शनीहरु गरिरहन्छन् । 
सुरुमा विभिन्न  रङको माटो पिसी पानी या तेलमा घोलेर पनि चित्र बनाउँथे । मट्टीतेलको बत्तीको धुवाँ र ध्वाँसाबाट पनि । गाउँघरमा जे पाइन्छ त्यसैलाई रङ बनाउँथे भण्डारी–रातो, कालो, सेतो,  पहेँलो, नीलो, हरियो र   फुस्रो माटो, पात, ध्वाँसो, ढुङ्गा, फूल आदि । नेपाली कागज वा बाक्लो कार्डबोर्ड क्यानभास अनि च्याङ्ग्रा–भेंडाको रौँबाट कुची अर्थात् ब्रस । गाउँ गाउँमा गएर चित्र बनाउने र त्यहाँ  झुम्मिन  आउने गाउँलेलाई त्यसको अर्थ बुझाउने उनको बानी थियो । “जनताका लागि चित्र कोर्नेहरुले साधारण शैलीमा कला सिर्जना गर्नुपर्छ, अमूर्त चित्र जनताले बुझ्दैनन्, शोषकहरु जहिले पनि जनताले कला नबुझून् भन्ने दृष्टिकोण राख्छन् तर हामी जनताका कलाकारहरुले जनताले बुझ्ने कला सिर्जनातिर लाग्नुपर्छ”, यो उनको कलासम्बन्धी मान्यता थियो । कलालाई बैठक खोपीको खेलौना नभई जनताको गहना  बनाउनुपर्छ भन्थे । 
बागलुङ गएर निगालाको नली र कलममा बुट्टा बनाउन पनि सिके ।  एघार सालमा विभिन्न रङका मकैका गेडा कार्डबोर्डमा टाँसेर यिनले बनाएको ‘वैरागी बुद्ध’ प्रधानमन्त्री बिपी कोइरालाले २०१६मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई पठाइदिए ।
झोलाभरि  चित्रकला बोकेर हिँड्थे र मौका पर्नासाथ प्रदर्शनी गर्न सुरिइहाल्थे र तिनको व्याख्या पनि । माक्र्सवादी दर्शन र प्रगतिकशील विचारका अनुयायी । शोषित–पीडित जनतालाई जागरण, परिवर्तन, क्रान्ति र सिर्जनशीलताको सन्देश दिने उनका कला । चित्रमा मानिसका पीडा र भयग्रस्त जीवन र त्यसबाट मुक्ति पाउने चित्रण हुन्थ्यो । कलासम्बन्धी लेख, कविता, गीत पनि लेखिरहन्थे । 
कलाकारहरुको छुट्टै एकेडेमी चाहिन्छ भन्थे । भारत, मसुरीमा चित्रकला सिक्न गएका बेला कला र कवितासम्बन्धी लेख पढेर महापण्डित राहुल सांकृत्यान भेट्न नै आए । कुलमानका किसान र मजदुरका चित्र देखेर तिनको मुक्तिका लागि कला र संस्कृतिको बाटो लाग्न आग्रह गरे । त्यसअघि नै मनमोहन अधिकारीबाट माक्र्सवादमा लाग्न प्रेरणा प्राप्त गरिसकेका थिए । विसं २०११मा नेकपाका सदस्य बनेका भण्डारी पछि श्यामप्रसाद अध्यक्ष रहेको नेपाल कम्युनिष्ट सङ्गठनका अर्थमन्त्री । मान्छे निकै सरल, खेतीपाती सब गर्थे । पहिले तीनथाना र पछि कीर्तिपुर बसोबास । सुरुमा सेनामा जागिर खाए पनि पछि घरेलु उद्योग विभागमा ३१वर्ष बिताए । 
अमेरिकी साम्राज्यवादले भियतनाममा चलाएको बर्बरतापूर्ण युद्धमा वीरतापूर्वक लडिरहेका भियतनामी मुक्तियोद्धाहरुलाई चित्रकलाका माध्यमबाट भावनात्मक सहयोग पु¥याउन तथा एसियाली एकतामा साथ दिन चित्रकारहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा उनले पठाए ‘विषालु वृक्ष’ । उनमा यस्तो विश्वबोध थियो । ‘पहरो र कुहिना’ले जनतालाई पहरो र पञ्चायतलाई कुहिनो सङ्केत गरेको थियो भने ‘आफ्नै शल्यक्रिया’मा आफ्नो समस्या आफैँले हल गर्नुपर्छ भन्ने सन्देश दिएको थियो । ‘मनको कुरा’ले एक महिलाले आफूले बोल्न नपाउँदाको सकसलाई  देखाएको थियो ‘प्रतिज्ञा’ले समानता दिलाउने इच्छालाई । ‘मुटुको ज्वाला’ले काँढाबीच पनि फुल्ने फूल देखाएको थियो । थुप्रै व्यङ्ग्यचित्र र दृश्यचित्र पनि बनाएका छन् । आफ्नो स्याप्पिएको पेट रेट्ने गरिब गन्धर्वको चित्र ‘सारङ्गी’ ले नेपाली कलाकारको वास्तविक अवस्था ओकल्छ । ‘मेरा कलाकार गुरुहरु’, ‘कुलमानसिंह भण्डारीका गीत र कविता’, ‘कुलमानसिंह भण्डारीका आवरणपृष्ठ कला’ र ‘‘बालसाहित्यमा चित्रकला’ उनका कृति हुन् भने उनको निधनपछि ‘कुलमानसिंह भण्डारी स्मृतिग्रन्थ’ प्रकाशनमा आएको छ । निधनपछि आफ्नो शव सार्वजनिक प्रयोगमा आओस् भन्ने इच्छा गरे पनि प्राविधिक कारणले इच्छा पूरा भएन । साधारण जीवन बाँचेर महान् कलाकृति दिनसक्ने भण्डारीका उत्तराधिकारीको खोजी अहिलेको समयले गरेको छ । 
भियतनाम जान लागिरहेका प्रिय साथीहरु,
भियतनामका लागि हाम्रा संवेदनाहरु भनिदेऊ
एक मुठी अबिर,
गुराँसको पुष्पहार,
एउटा मादल र 
भियतनामीका लागि एउटा धारिलो खुकुरी,
कृपया लेऊ तिनका लागि
अप्ठेरो नमानीकन ( कुलमानसिंह भण्डारी, भियतनाम)
shyam_rimal@yahoo.com

Related News