दूतावासको सम्पर्कमा पुगे कर्नेल कुमार लामा

काठमाडौं, २३ भदौ । बेलायतको फौजदारी अदालतले मंगलबार यातनासम्बन्धी मुद्दामा सफाइ दिएसँगै नेपाली सेनाका महासेनानी कुमार लामा नेपाली दूतावासमा हाजिर भएका छन् । लामा बुधबार दूतावासमा हाजिर भएका हुन् । ट्राभल डकुमेन्ट बनाएर उनी एक साताभित्रै नेपाल आउन लागेको नयाँ पत्रिकामा खबर छ ।
‘महासेनानी कुमार लामा बेलायतस्थित नेपाली दूतावासमा हाजिर हुनुभएको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयका सहनिर्देशक महासेनानी रामनाथ शर्मा ढुंगानाले भने, ‘उहाँको ट्राभल डकुमेन्ट बन्छ र स्वदेश आउनुहुन्छ ।’
लामाले स्वदेश फर्किएपछि सेवामा निरन्तरता दिनेछन् । उनले बुधबार बेलायतबाट नेपालस्थित विभिन्न पदाधिकारीलाई टेलिफोन गरी आफूलाई विगतमा गरेको सहयोगप्रति धन्यवाद दिएका छन् ।
तीन वर्षअघि बेलायतमा पक्राउ परेका महासेनानी लामाले यातनासम्बन्धी मुद्दामा सफाइ पाएका थिए । १९ पुस ०६९ मा उनी बेलायतमा पक्राउ परेका थिए । उनी लन्डनको इस्ट ससेक्सस्थित घरमा नजरबन्दमा थिए । बेलायती नागरिकता पाएकी श्रीमती लक्ष्मीको नाममा रहेको सोही घरबाट उनी समातिएका थिए ।
दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा लियाजोन अफिसरका रूपमा कार्यरत लामा परिवार भेट्न बेलायत जाँदा पक्राउ परेका थिए । नेपालको एड्भोकेसी फोरम र बेलायतको हिकम्यान्ड एन्ड रोज सोलिसिटर्सको उजुरीका आधारमा लामा पक्राउ परेका थिए । त्यति बेला फोरमकी कार्यकारी निर्देशक मन्दिरा शर्मा पनि लन्डनमा थिइन् ।
०६२ मा गोरुसिंगे ब्यारेकमा गणपति हुँदा स्थानीय जनकबहादुर राउत र करम हुसेनलाई ६ महिना गैरकानुनी हिरासतमा राखेर चरम यातना दिएको आरोपमा लामा समातिएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले उनको रिहाइका लागि कूटनीतिक प्रयास गर्दै कानुनी प्रक्रियामा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको थियो । तत्कालीन सरकारले नेपालका लागि ब्रिटिस राजदूतलाई बोलाएर अप्रसन्नता व्यक्त गरेको थियो । त्यसपछि तत्कालीन परराष्ट्रसचिव अर्जुनबहादुर थापा र प्रधानसेनापति गौरवशमशेर राणा बेलायत भ्रमणमा जाँदा लामाको रिहाइका लागि प्रयास गरेका थिए । 

Related News