कुवेरको पदचाप पछ्याउँदै कुशल (नयाँ भिडियोसहित)

नयाँ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्। ‘मनै त हो नि, मन पर्ने मान्छेसँग ठट्यौली गर्ने मन छ हो’

काठमाडौं, २१ वैशाख । इलामको श्रीअन्तुका युवा कुशल राई झन्डै दशकयता उच्च शिक्षा अध्ययनका क्रममा राजधानीमा छन् । यही अवधिमा अंग्रेजी विषयमा स्नातकोत्तर पढाइ पूरा गरे उनले । यससँगै  सांगीतिक क्षेत्रमा पनि लागिपरे, यद्यपि, अध्ययनलाई पहिलो प्राथमिकता दिए उनले । उनी हालै नयाँ म्युजिक भिडियोसहित दर्शक÷श्रोतामाझ आएका छन् । 


उनको स्वरमा सजिएको ‘मनै त हो नि, मन पर्ने मान्छेसँग ठट्यौली गर्ने मन छ हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । प्रदीप निरौलाको शब्द तथा संगीत रहेको यो गीतको भिडियो सङ्स नेपालले युट्युबमार्फत सार्वजनिक गरेको हो । निर्मल लामा (बीजी)ले निर्देशन गरेको भिडियोमा अञ्जना तामाङ, सुजन राई र भीमफेदी गाइजको अभिनय हेर्न सकिन्छ । 

गायक कुवेर राईका छोरा हुन् कुशल । सुगम संगीतका साधक राईका ‘मायाले मूलबाटो भुलेछ’, ‘टाढा भए के भो मायालु’, ‘बिरानो यो आकाशमा’, ‘मेरो मृत्यु केही होइन’, ‘जिन्दगीको पाठशाला तीन पैले डुंगा’लगायत दर्जनौं गीत चर्चितसहित कर्णप्रिय गीत छन् । उनै गायकका छोरा कुशल सानै उमेरदेखि गायनमा लागे पनि यसलाई नै करिअर बनाउने सोचमा देखिएका थिएनन् । झन्डै दर्जन गीत गाइसकेका उनी भन्छन्, “समयले साथ दिए सांगीतिक क्षेत्रलाई निरन्तरता दिने सोचमा छु ।” नयाँ गीतचाहिँ कस्तो प्रकारको हो ? भन्छन्, “यो मोडर्न लभ सङ हो ।” 

Related News