​खुल्ला सीमामा लागुऔषध कारोबारी बढेकोमा सर्वत्र चिन्ता

सिद्धार्थनगरलाई लागुऔषध दुव्र्यसनमुक्त क्षेत्र बनाउन सबै एक

नरेश के.सी.भैरहवा, २७ भदौ । रुपन्देही सदरमुकाम भैरहवा नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्दछ । खुल्ला सीमाका कारण भैरहवाबाट भारतीय सीमावर्ती बजार सुनौली, नौतनवा, गोरखपुरसम्म आवतजावत गर्न सहज छ । जसको कारण यो नाकाको सदुपयोग भन्दा बढी दुरुपयोग भएको भन्दै यस क्षेत्रका संघसंस्था र सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । सरोकारवालाहरुले नाकाको सहजताको दुरुपयोग गर्दै नेपाली किशोर तथा युवापुस्ता दुव्र्यसनको लतमा फसेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
लायन्स क्लब ६७ जोनले आइतबार भैरहवामा आयोजना गरेको युवा, लागु पदार्थको समस्या र समाधान कसरी ? भन्ने विषयको संस्थागत भेलाका सहभागीले सिद्धार्थनगरलाई लागुऔषध दुव्र्यसनी मुक्त बनाउन विशेष कदम चाल्ने पनि निष्कर्ष निकालेका छन् ।
लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब सिद्धार्थनगर प्रोफेसनल, लायन्स क्लब सिद्धार्थनगर युथ र लायन्स क्लब रामग्राम नवलपरासी आवद्ध लायन्स क्लब ६७ जोनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारीले सिद्धार्थनगर नगरपालिकालाई लागु औषध दुव्र्यसनी मुक्त नगरका रुपमा स्थापीत गर्न सबैको सहयोग आवश्यक भएको बताए । उनले भने “आवश्यक बजेट हामी व्यवस्थापन गछौं । स्वास्थ्य क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सकिन्छ । तपाईहरु जस्तो सामाजिक संघसंस्था आउनुस् हातेमालो गरेर यो नगरलाई मर्यादित, अनुशासित र दुव्र्यसनीमुक्त नगर बनाऔं । ”
मेयर अधिकारीले कार्यक्रममा भने “२ दशक अगाडिसम्म आफूभन्दा पाको मान्छेको अगाडि कसैले पनि चुरोट पिउने हिम्मत गर्दैन्थ्यो तर अहिले मानमर्दन गर्दै कसैको वास्तै नगरी केही युवापुृस्ता खुलेआम चुरोट रक्सी पिउँछन् जसले समाजमा विकृति निम्त्याएको छ । यसलाई न्यूनीकरण गर्न सचेतना जरुरी छ ।”
समाजमा नैतिक चरित्रको खडेरी परेको बताउँदै मेयर अधिकारीले जसरी पनि पैसा कमाउने आधुनिकताको नाममा हाइफाई गर्ने संस्कारको विकासले गर्दा समाजमा विकृति देखिएको बताए । उनले हिजोसम्म नाम र प्रतिष्ठाको इज्ज्त हुने समाजमा आज पैसाको बढी इज्जत गरिने पूँजीवादी संस्कारले गर्दा दुव्र्यसन झन् झांगिदै गएको तर्क गरे । मेयर अधिकारीले औषधी बेच्ने पसलले लागुऔषधको कारोबार गरेर धेरै धन कमाउने र सोही धनको बलमा समाजमा इज्जत पाउने मोहमा लाग्दा समस्या निम्तिएको पनि बताए । 
कार्यक्रममा लायन्स क्लब ६७ जोनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लागु औषध नियन्त्रणका लागि नागरिक स्तरको दबाब समूह बनाउनुपर्ने आवश्यकता औंल्याए । होटल एशोसिएसन सिद्धार्थनगरका अध्यक्ष समेत रहेका श्रेष्ठले पैसा कमाउन जे को पनि व्यापार गर्ने परीपाटीलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । उनले लायन्सको सेवा गछौं भन्ने मुल मर्म अनुसार यस क्षेत्रका सबै संघसंस्थाको सहकार्यमा लागु औषध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने बताए । 
सोही अवसरमा जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी श्यामलाल ज्ञवालीले प्रणालीको फेरबदल गर्दै सबै संघसंस्थाले हातेमालो गरेर अगाडि बढेमा सबै किसिमका अपराध नियन्त्रण र निर्मूल हुने तर्क गरे । एसपी ज्ञवालीले रुपन्देहीमा लागु औषधको तथ्यांक डरलाग्दो रहेकोले त्यसकोलागी व्यवस्थीत काउन्सिलिङ एवं चेतनामूलक कार्यक्रमको आवश्यकता भएको बताए । 
भारतीय पक्षको तर्फबाट व्यापार मण्डल सुनौलीका अध्यक्ष विजय रौनियारले सीमावर्ती क्षेत्रमा हुने लागु औषध दुव्र्यसन र ओसार पसार रोक्न सीमावर्ती क्षेत्रका संघसंस्था र नागरिकसँग दुबै देशका प्रशासनको सहकार्य जरुरी रहेको बताए । लायन्स क्लब वि टु का पुर्व गर्भनर अरुणप्रताप राणाले लागु औषध नियन्त्रणका लागि सबैको सहभागितामा बृहत सन्जाल निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए । उनले जिल्लामा रहेका करिब ४५ भन्दा बढी क्लबहरुले सक्रियतापूर्वक काम गरेमा मात्रै पनि धेरै प्रभावकारी हुने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष विजय पाण्डेले कलेजस्तरीय  चेतनामूलक कार्यक्रम गर्नुपर्ने, लागु औषध दुव्र्यसनिमा परेकाका लागि अलग काउन्सिलिङ गृह बनाउन पहल गर्नुपर्ने धारणा राखे । 
पछिल्लो समय रुपन्देही जिल्ला लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएकोमा त्यसप्रति चिन्ता व्यक्त गर्दै नागरिक अगुवा विजय सागर, क्रिकेट एशोसिएसनका अध्यक्ष प्रशान्तविक्रम मल्ल, नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष सिद्धार्थ अग्रवाल, लायन्स क्लब अफ होलिसीटिका संस्थापक अध्यक्ष ओमकुमार श्रेष्ठ, रोटरी क्लब अफ लुम्बिनीको  अध्यक्ष सावित्री गुरुङ र रोटरी क्लब भैरहवाका अध्यक्ष राजकुमार गुप्ता, माइती नेपाल प्रमुख प्रभा खनाल लगायत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले नेपाल भारत सीमावर्ती क्षेत्र बेलहिया, सिद्धार्थनगर, भैरहवा मात्रै नभएर सिंगो रुपन्देहीलाई लागुऔषध मुक्त बनाउन विशेष रणनीति बनाएर अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गरेको लायन्स क्लब अफ भैरहवाका अध्यक्ष रविन्द्र शर्मा घिमिरेले जनाए ।
सो कार्यक्रमको सन्चालन लायन्स क्लब अफ सिद्धार्थनगर युथका धिरज मल्लिक र स्वागत लायन्स क्लब अफ प्रोफेसनलका अध्यक्ष अमृत थापाले गरेका थिए । सो अवसरमा रुपन्देहीमा लागु औषध दुव्र्यसनीको अवस्थाको बारेमा युनाइटेड फाउन्डेसनमा आवद्ध लागु औषध दुव्र्यसनीविरुद्धका अभियन्ता सुमन हितंगाले प्रस्तुति गरेका थिए ।
अहिले रुपन्देही प्रहरीको हिरासतमा ९० प्रतिशत भन्दा बढी लागुऔषध दुव्र्यसनी तथा ओसार पसारमा संलग्न थुनुवा रहेका छन् । काठमाडौं, बाग्लुङ, पोखरा, चितवन, गुल्मी , हेटौडासम्मका युवायुवतीहरु लागुऔषध सेवन गर्न तथा खरिद गर्न भैरहवा हँुदै सीमावर्ती भारतीय बजार सुनौली नौतनवामा जाने गर्दछन् । यस्तो विकाराल अवस्थालाई न्यूनीकरण गर्न यस क्षेत्रका सामाजिक संघसंस्थाले सक्रियतापूर्वक चासो दिएका हुन् । 
नेपाल प्रहरीले लुम्बिनी अन्चल प्रहरी कार्यलयको मातहत प्रहरी निरीक्षकको कमाण्डमा लागु औषध नियन्त्रण ब्यूरो पनि सिभिलमा संचालन गरेको छ । तर त्यो खासै प्रभावकारी हुन सकेको छैन । सो व्यूरोमा कार्यरत कर्मचारीले दुव्र्यसनमा फसेकाहरुसंँग बार्गेनिङ गर्ने एवं उनीहरुका बहुमूल्य समान समेत बेलाबेलामा लुट्ने त्यसो गर्न नपाएमात्रै पक्राउ गर्ने गरेको गुनासो आइरहेको छ । 

Related News