​लालु र देउवा

शम्भु श्रेष्ठ । स्थानीय तहको निर्वाचनमा सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रित भयो । प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिष्ठाको विषय बन्यो भरतपुर महानगर । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले माओवादी केन्द्रकी मेयरकी उम्मेदवारलाई भोट मागे । नेपाली कांग्रेसकै इतिहासमा यो अनौठो समीकरण थियो । खासगरी एमालेलाई देशभरबाट एक्ल्याउन विदेशी शक्तिको आडमा स्थानीय निकायमा कांग्रेस–माओवादी गठबन्धन गरिएको थियो । यो गठबन्धनको उद्देश्य एमाले–माओवादी केन्द्रलाई मिल्न नदिने र कम्युनिष्ट कम्युनिष्ट भिडाएर गैरकम्युनिष्ट पार्टीको बर्चस्व स्थानीय निकायमा कायम गर्नु थियो । त्यसका लागि पहिलो प्रयोग प्रचण्ड भए । उनी सम्मिलित ओली सरकार ढाल्ने औजार बने प्रचण्ड । त्यसो नहुँदो हो त प्रचण्डको पार्टी न त विघटनको संघारमा पुग्ने थियो, न त कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नै बन्ने थिए । नेपालको राजनीतिमा खेल्दै आएको र नेपाललाई सधैँ असफल राष्ट्र बनाउँदै आएको शक्ति पनि त्यतिखेर आएर पराजित भयो, जतिखेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनता नेकपा एमालेकोे पक्षमा उर्लिए । पहिलो र दोस्रो चरणका निर्वाचन परिणामले विदेशीको त्यो षड्यन्त्र विफल बनायो । माओवादी केन्द्रलाई भरतपुरको मेयरमा समर्थन गरेर आफू प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवा प्रधानमन्त्री बन्न त सफल भए, तर उनले आफ्नै पार्टीलाई असफल बनाए । लोकतन्त्रको धज्जी उडाए ।
लोकतन्त्रमा निर्वाचन जित्नु हार्नु ठूलो कुरोे होइन । कसरी जितियो र कसरी हारियो भन्ने कुरो ठूलो कुरो हो । प्रजातन्त्रको जगमा स्थापित नेपाली कांग्रेसलाई देउवाले देउघाटमा लगेर दाहसंस्कार गरिदिए । मानौ भरतपुरमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नै छैनन्, जस्तो गरेर आफ्नो व्यक्तिगत स्वार्थका लागि कांग्रेसको इतिहासलाई उग्रवामपन्थको पाउमा चढाए । 
एमालेको उम्मेदवारले जितिसकेको अवस्थामा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेर जितेकालाई हराउने, हारेकालाई जिताउने कुसंस्कृतितर्फ नेपालको राजनीतिलाई डोहो¥याएको छ । निर्वाचन जित्न भविष्यमा पनि यस्तै हर्क गर्दै जाने र त्यसलाई निर्वाचन आयोग, सर्वोच्च अदालतले समर्थन गर्दै जाने हो भने नेपालको लोकतन्त्र बिहारी लोकतन्त्रमा परिणत हुन कतिबेर पनि लाग्दैन । लोकतन्त्रको माध्यमबाट नेपाल र नेपाली जनतालाई सुसंस्कृत बनाउँदै समृद्धितिर डोहो¥याउन हजारौं जनताले बलिदानी दिएका हुन् । तर, दुर्भाग्य शासक वर्गमा तिनै भ्रष्ट, कमिशनखोर, हत्याराको हालीमुहाली हुँदा नेपाली जनता तिनका सामु निरीह हुन परिरहेको छ । जसले देशलाई सही मार्गमा डोहो¥याउने जिम्मेवारी पाएको छ, त्यही व्यक्ति नै विक्षिप्त बनेपछि त्यस देशको अवस्था कस्तो होला भन्ने कुराको वर्तमान छायाँ नेपालको राजनीति बनेको छ ।
त्यसैले राजनीतिलाई नीतिले नडोहो¥याउँदासम्म नेपाली राजनीतिको चरित्र यस्तै रहने छ । राजनीतिलाई माथि उठाउन सबैभन्दा पहिला राजनीतिक नेतृत्वमा उच्च चरित्र हुनु आवश्यक छ । तर, अहिले हेर्दा समकालीन नेताहरुमा त्यो चरित्र देखिन छाडेको छ । वीपी कोइराला त्यत्तिकै महान् बनेका होइनन् । राजनीतिक चरित्रकै कारण विपी कोइराला बनेका हुन् । उनका सहयात्रीहरुले विपी कोइरालामा भएको गुण अनुशरण गर्न नसक्दा नेपालको लोकतान्त्रिक आन्दोलन नै धरापमा पर्न थालेको छ । राष्ट्रपति, प्रधानमन्त्रीको वैदेशिक प्रलोभनलाई त्यागेर विपी नेपाली राजनीतिमा अगाडि बढेका थिए । उनका अनुयायी र उत्तराधिकारी सत्ता र स्वार्थका लागि जे पनि त्याग गर्न तयार छन् । त्यसैले उनको तुलना विपीसँग होइन, विहारका लालुसँग गरिनु विपीप्रति पनि न्यायिक हुनेछ ।

Related News