​ल्याण्डमार्कका ‘बलात्कारी’ डिएसपीकै साथी !

काठमाडौं, २३ माघ । कमलादीस्थित ल्याण्डमार्क होटल एण्ड अपार्टमेन्टमा भएको बहुचर्चित सामूहिक बलात्कार घटनाका अभियुक्तहरु महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन इन्चार्ज डिएसपी तिलक भारतीकै साथी भएको खुलेको छ । घटनाका मुख्य नाइके विकास गौतम र दीपक श्रेष्ठ डिएसपी भारतीकै पुराना साथी भएको अनुसन्धानमा खुलेको छ ।
आफ्नो पुरानो साथी भएकै कारण बलात्कार जस्तो गम्भीर घटनामा मिलापत्र गराउन डिएसपी भारतीले भूमिका खेलेका थिए । सोही प्रकरणमा उनीमाथि छानबिन भइरहेको छ । 
गत माघ ७ गते राति ल्याण्डमार्क होटलको ४०५ नम्बर कोठामा चार जना युवकले एक २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका थिए । आफ्ना प्रेमी शैलेस कार्कीसँग होटलमा बस्न गएकी ती किशोरीमाथि कार्कीकै सहयोगमा अन्य ३ जनाले बलात्कार गरेका थिए । 
घटनापछि होटलबाट निस्किएकी युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले चारै जनालाई पक्राउ गरेर एक रात थुनेपछि भोलिपल्ट मिलापत्र गराएर छाडिदिएको थियो । पछि घटना मिडियामा गएपछि छानबिन थालिएको हो । जस क्रममा दरबारमार्ग वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन् । घटनामा डिएसपी भारतीको प्रत्यक्ष संलग्नता भए पनि निलम्बन हुनबाट जोगिन उनले माओवादी नेताहरुमार्फत् दबाब दिइरहेका छन् । 
अभियुक्तहरु गौतम र श्रेष्ठसँग डिएसपी भारती फेसबुकमा पनि साथी छन् । स्रोतका अनुसार डिएसपी भारतीलाई दरबारमार्ग वृत्तमा ल्याउन सहयोग गर्ने डेजाभु डिस्कोका एक सञ्चालकको मध्यस्थतामा उक्त बलात्कार प्रकरणमा मिलापत्र भएको थियो । अभियुक्त गौतम राप्रपाका नेता बिक्रम पाण्डेका निकट व्यक्ति हुन् भने श्रेष्ठ सञ्चारमन्त्री मोहन बस्नेतसँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन् । श्रेष्ठ तरुण दल सिन्धुपाल्चोकमा समेत आबद्ध व्यक्ति हुन् । दुवै जनाको डिएसपी भारतीसँग पहिलेदेखि नै दोस्ती थियो । 
घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ । सुरुमा युवतीले उजुरी दिन नचाहेकोमा पछि प्रहरी र विभिन्न संघ संस्थाको दबाबपछि उनले उजुरी दिएकी हुन् । स्रोतका अनुसार घटनाको बारेमा एसएसपी रबिन्द्र धानुकलाई समेत थाहा थियो । तर उनले पनि मिलापत्रमा सहयोग गरेको स्रोत बताउँछ । सोही कारण उनले हतार–हतार एसपीको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । त्यसलाई काउन्टर दिन एआईजी जयबहादुर चन्दले अर्काे समिति बनाएर छानबिन गरिरहेका छन् । 

Related News