लेखनकुञ्जमा गुन्जिए सिक्किमका गायक

दृष्टि न्यूज

काठमाडौँ । ग्रामीण भेगका विद्यालयमा पुस्तकालय सञ्चालन गर्ने र त्यसका लागि अक्षयकोष  निर्माण गर्ने उद्देश्य राखेर उर्वरा फाउन्डेसन नेपालले गत वर्षबाट एकल सांगीतिक साँझको आयोजना गर्दै आएको छ । यसै क्रममा शनिबार भारतको २२औँ राज्य सिक्किमका गायक तथा संगीतकार जीवन शर्मालाई निम्त्याएर फाउन्डेसनले सांगीतिक साँझको आयोजना गरेको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित कार्यक्रममा पाहुना गायक शर्माले प्रतिष्ठानका सदस्य सचिव तथा प्रसिद्ध गायक गणेश रसिक, प्रसिद्ध गायकद्वय दीप श्रेष्ठ र किरण प्रधानलगायतका गीत–संगीत पारखीहरूका अगाडि चर्चित तथा कालजयी हिन्दी गजलका साथै आफ्ना नेपाली भाषाका गीतहरू सुनाए । उनको गायनमा दर्शक÷श्रोताको निरन्तर ताली गुन्जिरह्यो । शर्मालाई तबलामा पल्टु साह, गिटारमा शुभ्रदीप मुखर्जी र पर्कुनिष्टमा गौतम दासले साथ दिएका थिए ।
लेखनकुञ्ज, थापागाउँस्थित थिएटरमा भएको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक तथा फाउन्डेसनकी अध्यक्ष देवकी अभिलाशी तथा गायक शर्माको गायन यात्राबारे रसिक, दीप श्रेष्ठ र रामगोपाल आसुतोषले बोलेका थिए । कार्यक्रममा नेपालमा उदीयमान गायक अधिश्री कसपालले शम्भुप्रसाद ढुंगेलको रचना र हरि लम्सालको संगीतमा ‘आफूलाई उचो देखाउन अरुलाई निचो नबनाऊ’ बोलको गीत सुनाएका थिए । 
शर्माको सन् २००१ मा ‘प्रियतम्’ नामक गीति एल्बम प्रकाशित छ भने थुप्रै गीतमा संगीत र स्वर दिएका छन् । सिक्किम साहित्य परिषद्का महासचिवसमेत शर्मा सिक्किम सरकारी सेवामा कार्यरत छन् ।      

Related News