​लिखु ४ को आयोजनाको ठेक्का रद्द, १० दिनभित्र नयाँ ठेक्का लगाइने

दृष्टि न्यूज

काठमाडौं, २५ फागुन । रामेछाप र ओखलढुंगाको सिमाना भएर बग्ने लिखु खोलामा निर्माण हुन लागेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत् आयोजनाले इटालियन कम्पनी कोपेरेटिभा मुराटोरी एन्ड सिमेस्टिटी (सिएमसी)लाई बर्खास्त गरेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी ग्रिन भन्चर्स प्रालिलाई समयसीमाअनुसार काम नगरेको भन्दै ठेक्काबाट हटाएको हो । 
रामेछापमा निर्माण गर्न लागेको आयोजनाले इटालियन ठेकेदार कम्पनी सिएमसिडी रभेनासँगको सम्झौता रद्द गरेको हो । गत १० मंसिरमा ग्रिन भेन्चर्सले इटालियन कम्पनीसँग सुरुङ मार्ग, विद्युत्गृहलगायतका सिभिल र हाइड्रो मेकानिकलको ठेक्का दिएको थियो । ठेकेदार कम्पनीले सम्झौतामा उल्लेख भएअनुसार रामेछापतर्फको एक्सेस रोड तथा सुरुङको काम सुरु नै नगरेको र समयसीमाअनुसार आयोजना सम्पन्न हुन नसक्ने भन्दै रम्झौता रद्द गरिएको कम्पनीका आयोजना प्रमुख बद्री रिजालले बताए ।
मंसिरमा आयोजना निर्माणको सम्झौतापश्चात् ३० महिनाको अवधिमा आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसीमा बाँकी छ, जसमध्ये ३ महिनाको समय सिएमसीले कामै नगरी गुजारेको ग्रिन भेन्चर्सले बताएको छ । सिएमसी मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको कम्पनी हो ।
‘कार्यतालिकाअनुसार समयभित्र काम सुचारु नै नगरेपछि ३० महिनाका लागि गरिएको सम्झौता रद्द गरिएको हो, अब नयाँ प्रक्रियाअनुसार ठेकेदार चयन हुन्छ,’ रिजालले भने । सन् २०२० को जुनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ९ अर्ब ५४ करोडबराबर छ । ठेकेदार कम्पनीले आयोजना निर्माणमा ढिलाइ गरेपछि आयोजना समयमै सम्पन्न हुन कठिनाइ देखिएपछि आयोजनाले ठेक्का रद्द गरेको हो ।
सम्झौताअनुसार काममा अतिसुस्तता देखिएपछि र यसले निर्माणमा समेत असर पर्ने देखिएकाले सम्झौता रद्द गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । सम्झौताअनुसार सिएमसीले हालसम्म सुरुङका दुईवटा अडिट टनेलको काम सुचारु गरिसक्नुपर्ने थियो ।
कम्पनीले सिएमसीलाई बर्खास्त गरेपछि बाँकी २७ महिनाभित्र आयोजना सम्पन्न गर्न नयाँ ठेकेदार कम्पनीलाई १० दिनभित्र नियुक्त गरिसक्ने रिजालले बताए । ‘कम्पनीले आह्वान गरेको टेन्डर विडमा अन्य कम्पनीले पनि दरखास्त दिएका छन्,’ उनले भने, ‘सिएमसीभन्दा अझ राम्रो अर्को कम्पनीलाई समयसीमाअनुसार काम सक्ने गरी ठेक्का दिने तयरी गरेका छौँ ।’ उनका अनुसार कम्पनी छनोट गर्ने काम अन्तिम चरणमा पुगेको छ र अर्को कम्पनी नेपाल र भारतको संयुक्त निर्माण कम्पनी (जेभी)लाई दिन सकिने बताए । उनले सिएमसीका कर्मचारीलाई भाषालगायत स्थानीय बासिन्दासँग डिल गर्न समस्या रहेको बताए ।
–नयाँ पत्रिकाबाट
 

Related News