​फरक लाहुरे

उनी सिंगापुरे लाहुरेमा पहिलो लेखक रहेछन् । तर, आफूलाई लेखक ठान्दैनन् । ‘म आफूलाई लेखक हुँ भन्ने नै लाग्दैन,’ उनी भन्छन्, ‘भोगाइलाई किताबमा उतारेको मात्र हुँ ।’

–सचित राई
काठमाडौं । पुग–नपुग १८ वर्षमा भर्ती । २७ वर्ष नोकरी । ४५ वर्षको उमेरमा अवकाश । त्यसपछि लेखन र अनुसन्धान । 
झट्ट सुन्दा कुनै लाहुरेको जीवन यात्राजस्तो । लेखन र अनुसन्धान भन्दा होइन कि जस्तो पनि । लाहुरेले त पेन्सन आएर नेपालमै छरछिमेकी भेला पारेर पल्टनको कथा सुनाउँदै गर्नुपर्ने हो । तर, यी गोर्खा लाहुरेको भने जीवनशैली फरक छ । गोर्खा सैनिकहरू बन्दुक मात्र होइन, कलम पनि उत्तिकै सशक्त ढंगले चलाउन सक्छन् भन्ने गतिलो प्रमाण उनी पनि हुन् । सिंगापुर पुलिस फोर्सअन्तर्गत गोर्खा कन्टिन्जेन्टको चिफ इन्स्पेक्टरबाट सन् २०१० मा अवकाश पाएका संखुवासभा गैरी पाङ्माका लिलानाथ लोहोरुङ राई (पीबीएस) उर्फ एलेन ठूले आफ्ना भोगाइको कथा हाल्दैनन् बरु पढाउँछन्– त्यो पनि मास्टर होइन, लेखक भएर । 
अवकाशपछि सन् २०१२ मा उनले यात्रा संस्मरणात्मक कृति ‘सम्झनामा किम्बर्ली क्रस’ प्रकाशन गरे । सन् १९९५ मा अस्ट्रेलिया महादेशको किम्बर्लीमा गरेको ‘फस्र्ट एडभान्चर ट्रेनिङ’को अनुभव उक्त कृतिमा समेटिएको छ । लेखकको शब्दमा ‘उटपट्याङ’ धेरै छ । त्यसको दुई वर्षपछि प्रकाशित ‘सम्झनामा कराते यात्रा’ पनि संस्मरणात्मक कृति नै हो । यसमा गोर्खा कन्टिजेन्ट कराते डोजोको संस्थापनालाई भोगाइसँग जोडेका छन् । उनले २००७ मा सार्क कराते टुर्नामेन्टमा निर्णायक भएर दुई घन्टा रेफ्रीको भूमिका निर्वाह गरेको रोचक प्रसंग पनि समेटेका छन् । उनले तिर्खा लागेर पानी माग्दा ‘आपुई यो चाइनिजले पनि नेपाली बोल्दो रहेछ’ भनेको उल्लेख गरेका छन् । 
सिंगापुर पुलिस फोर्समा कार्यरत ‘केटाहरूले साबको किताब पढें’ भनेर प्रतिक्रिया दिने गरेको उनी सुनाउँछन् । उनका अनुसार सिंगार पुलिस फोर्समा २ हजारभन्दा बढी नेपाली कार्यरत छन् । धेरैले ‘सा’बका किताब’ खोज्छन् । ‘केटाहरूले मेरो किताब पढेर फेसबुकमा प्रतिक्रिया पनि पो जनाइहाल्छन्, खुसी लाग्छ,’ उनी भन्छन् । 

कसरी किताब लेखनमा ?
सुरुमा किताब लेख्दा उनको खास उद्देश्य रहनेछ । यद्यपि, नामका लागि पहिलो किताब निकालेको स्वीकार गर्छन् । ट्रेनिङका लागि अस्ट्रेलियाको किम्बर्ली जाँदा त्यसबारे साथीभाइसँग कुराकानी हुन्थ्यो । इन्ट्रानेटमा छलफल चल्थ्यो । त्यस क्रममा साथीहरुले किताब लेख्न सुझाव दिए । त्यसलाई नै उनले डायरीको रूप दिए, पछि त्यही नै किताब लेखनमा सहायक सिद्ध भएको उनी सुनाउँछन् । उनी सिंगापुरे लाहुरेमा पहिलो लेखक रहेछन् । तर, आफूलाई लेखक ठान्दैनन् । ‘म आफूलाई लेखक हुँ भन्ने नै लाग्दैन,’ उनी भन्छन्, ‘भोगाइलाई किताबमा उतारेको मात्र हुँ ।’ किताब लेखन नयाँ पुस्तालाई बाटो देखाउन पनि हुँदो रहेछ भन्ने महसुस गरेका छन् उनले । ‘बन्दुक चलाउने हातले कलम चलाउन पनि हुँदो रहेछ भन्ने भयो,’ उनी भन्छन् । त्यसो त उनले गोर्खा कन्टिन्जेन्टका स्रष्टाका लागि भनेर २००२ डिसेम्बरदेखि प्रकाशन सुरु भएको त्रैमासिक ‘समाचा सँगालो’मा स्तम्भ नै लेखे । त्यसले लेखनलाई तिखार्ने अवसर पाएको उनको ठम्याइ छ ।
सांस्कृतिक अनुसन्धान
त्यसो त उनलाई लेखनमा आनन्द महसुस हुन थालेको छ । त्यही लेख्ने बानीले उनलाई सांस्कृतिक अनुसन्धानमा पनि तानेको छ । उनको ‘लोहोरुङ चिनारी’ नामक सांस्कृतिक खोजमूलक कृति प्रकाशनको तयारीमा छ । सांस्कृतिक अनुसन्धानमा चाहिँ कसरी ? ‘आफ्नो रीतिरिवाजबारे पहिले वास्ता गरिएन, अहिले संस्कार–संस्कृति लोप हुँदै गएको छ, लेखी राख्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘यी कुराहरुलाई दस्तावेजीकरण गरी राखियो भने पछिल्लो पुस्तालाई गाइड बुक हुनेछ । पुराना पुस्ताले थप जानकारी पनि पाउँछन् ।’ उनले यो किताब तयारीमा लामो समय खर्चेका छन् । उनका अनुसार किरात राई जातिमा पर्ने लोहोरुङको संस्कार–संस्कृतिबारे किताब प्रकाशनको पहल भए पनि सम्भव भएको थिएन । यूकेकी ‘गोरेनी कान्छी’ अर्थात् चार्लाेट ई. हार्डम्यानले भने लोहोरुङ भाषाको अनुसन्धान गरेकी थिइन् । त्यसलाई उनले ‘अदर वल्र्ड्स’ नामको कृतिमा दस्तावेजीकरण गरेकी छन् । ‘पाङ्मा गाउँमा कट्टर लोहोरुङहरु छन्, छुट्टी आउँदा प्रत्येक पटक गाउँलेलाई भेला पारेर हाम्रो संस्कृतिबारे सोधखोज गरें । काठमाडौंमा उपलब्ध लोहोरुङ दाजुभाइसँग अन्तक्र्रिया चलाएँ,’ उनी भन्छन्, ‘किताब निकाल्ने थाहा पाएपछि धेरैले चासो दिनुभयो ।’ 

ब्रुनाईको जागिर
सिंगापुरबाट पेन्सन आएर दुई वर्ष नेपाल बस्दा उनले पहिलो किताब प्रकाशनमा ल्याए । त्यसपछि उनी रोजीरोटीकै लागि बु्रनाई पुगे । त्यहीं रहँदा गीति एल्बम ‘उनैको सम्झनामा’ र ‘सम्झनामा कराते यात्रा’ बजारमा ल्याए । ब्रुनाई बसाइलाई समेटेर ‘सम्झनामा दोस्रो पाना’ नामक कृति नै तयार पार्ने उनको योजना छ । त्यहाँको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर किताब निकाल्ने उनी सुनाउँछन् । ‘ड्युटी गर्नुभन्दा लेखनमा आनन्द छ तर पैसाका लागि ड्युटी गर्नै पर्छ,’ उनी भन्छन्, ‘मैले लेखेर पैसा आउँदैन तर धेरै कुरा दस्तावेजीकरण हुन्छ ।’  

पढाइ कति रहेछ ?
पहिलो किताब लेख्दा पूर्वचिफ इन्सपेक्टरको शैक्षिक योग्यता सोधीखोजी भयो । त्यसप्रति उनलाई लागेको छ– पढ्नेले मात्र लेख्ने होइन । ‘लेख्दा विषयवस्तुको ज्ञान र लेखन शक्ति चाहिन्छ,’ उनी भन्छन्, ‘लेखनले समाजलाई परिवर्तनको बाटो डो¥याउँछ ।’ कारोबार दैनिकबाट


 

Related News