पाल्पा लोक आइडलमा आकर्षण बढ्दो

दृष्टि न्यूज

पाल्पा, २९ फागुन । लोक गीतमा स्थानीयता, जातीय विश्वास, आस्था, प्रचलन, पेशागत काम झल्किएको हुन्छ । तर पछिल्लो समय लोक गीतका नाममा अन्य गीत गाएर मौलिक संस्कृति, परम्परा तथा रीतिरिवाजको आस्थामा चोट पुगेको भन्दै एक स्थानीय टेलिभिजनले आयोजना गरेको कार्यक्रममा लोक पारखीहरुको आकर्षण बढेको छ । 
श्रीनगर सामुदायिक टेलिभिजले जिल्लामा पहिलो पटक आयोजना गरेको कार्यक्रमप्रति बालबालिकादेखी वृद्धवृद्धाहरुसम्मको आकर्षण देखिएको हो । पौष १५ देखी सुरु भएको आईडलको अडिसन राउण्डमा २ सय २३ जनाको सहभागीता रहेको थियो । जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १ सय ३८ प्रतिस्पर्धीहरु छनौट भएका हुन् । बगनाशकाली ११, रिब्दीकोट ६, रैनादेवी छहरा १३, तिनाउ ७, रम्भा १८, पूर्वखोला ७, निस्दी ९, माथागढी गाउँपालिकाबाट १० साथै रामपुर २४ र तानसेन नगरपालिकाबाट ३६ जना प्रारम्भिक छनौटमा परेका हुन् । कार्यक्रममा ११ वर्षीय बालिका सुस्मिता परियार र ५५ वर्षीय वृद्ध रुद्रबहादुर गाहाले समेत आफ्नो गायनकला लोक गीत मार्फत् प्रस्तुत गरेका थिए । उनीहरुले आफुहरुले पछिल्लो समय गीत संगितको मौलिकपन हराएको भन्दै सो को जगेर्नाका लागि पनि गीत गाएको बताए । बगनाशकाली गाउँपालिकाबाट तानसेन अडिसनमा सहभागी गाहाले आफुलाई बुढेसकाल लागेता पनि अचेलका गीतहरूमा विकृति आएकोले सांस्कृतिक पहिचान र विशिष्टतालाई बचाई राख्न कार्यक्रममा सहभागी भएको बताए । आइडलको रम्भा अडिसनमा गाउँ कार्यपालिका सदस्य नानूकुमारी गन्धर्वले समेत सहभागिता जनाईन् । यस्तै शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको समेत सहभागीता भएको थियो । आईडलमा पाल्पासँगै स्याङ्जा, गुल्मी, तनहुँ, पर्वत, काठमाण्डौं, धादिङ्ग, जाजरकोट, रुपन्देही र नवलपरासी जिल्लाका लोक पारखीहरुको सहभागीता रहेको छ । 
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले मौलिक भाषामा लोक गीत स्वभावैले लोकले गाउने र लोकको जीवनमा आधारित गीत भएको बताए । लोकसाहित्य, लोकसंस्कृतिलाई जोगाई राख्ने उद्देश्यले गरिएको कार्यक्रमले स्थानीय प्रतिभा उजागर हुने र मौलिकता जोगाई राख्ने नगर प्रमुख शाहीले बताए । उनले पाल्पाली समुदायमा रहेका बिशेषता, समाजका समस्या उजागर गर्नुको साथै समस्या समाधानका लागि समेत सूचनाको माध्यमबाट टेलिभिजनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 
बगनासकाली गाउँपालिकाबाट सुरु भएको आइडलको अडिसन तानसेन राउन्डसँगै सकिएको कार्यक्रम व्यवस्थापक बिष्णुप्रसाद घिमिरेले बताए । उनले पाल्पा लोक आईडलका उत्कृष्ठलाई एक लाख रुपैयाँसँगै गीत रेकर्डिङ्गको अवसर दिने बताए । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सभापति गोविन्द भट्टराईले लुकेका प्रतिभा पहिचान र लोक संगीतको जगेर्नाका लागि प्रतिभा प्रस्फुटनाका कार्यक्रमको महत्व बढ्दै गएको बताए । कार्यक्रम निर्देशक नारायण न्यौपानेले लोक संगीतमा शक्ति भएकोले यसलाई जीवित राख्न अभियान थालिएको बताउँछन् । 
कार्यक्रममा लोकगायक पुरुषोत्तम गैरे र प्रेम लामिछाने मगरले निर्णायकको भूमिका निर्वाह गरेका छन् । उनीहरुले लोक गीतलाई अहिलेसम्म धेरैजस्तो मनोरञ्जनको दृष्टिकोणले बढी हेरिएको बताए । गैरे भन्छन्, ‘कान्छा र कान्छी, च्याङ्बा र मैच्याङबीचको ठट्टा, रमाइलो र प्रेम सन्दर्भमा हेर्ने प्रवृत्ति बढी छ । लोक परम्परा जोगाउने कुरा गरिरहँदा लोक गीतलाई हामीले उदार ढंगले पनि हेर्नुपर्छ । सामाजिक प्रचलनहरूलाई बन्धनको रूपमा स्वीकार गरिनु हुँदैन । मान्छेको जीवनमा निरन्तर परिवर्तन आइरहे जस्तै समाजमा प्रचलित नाचगान, रीतिरिवाज र रहनसहनमा पनि परिवर्तनहरू आउनु अस्वाभाविक हैन ।’ गायक प्रेम लामिछानेले लोक गीतमा स्थानीयता, जातीय विश्वास, आस्था, प्रचलन, पेशागत काम झल्किने भएकोले यसलाई जीवन्तता दिईरहनु आवश्यक रहेको औल्याउँछन् । 
प्रकृतिको चित्रण, जैविक विशेषता, स्थानीय जातिका भाषा र मूल्यमान्यता झल्किने भएको लोक संस्कृति जगेर्नामा टेलिभिजन लागि परेको कार्यवहाक अध्यक्ष कमलराज तिमिल्सिना बताउँछन् । पाल्पा लोक आईडलको आगामी पूनः १० राउन्ड जिल्ला सदरमुकाम तानसेनमै सञ्चालन हुने र आगामी असार महिनाभित्रमा उत्कृष्ठ नवप्रतिभाको पहिचान हुने टेलिभिजनले जनाएको छ । 

Related News