‘म लोकमानलाई चिन्दिनँ’

काठमाडौं, ३१ जेठ । आइतबार सर्वोच्च अदालतको एक नम्बर इजलासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दा सुनुवाइको पालो थियो । मुद्दा सुन्ने न्यायाधीश थिइन् कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की ।
जब मुद्दाको मिसिल (कागजपत्र) इजलस अधिकृतले पढेर न्यायाधीशलई सुनाए, कार्कीका पक्षबाट बहस गर्न आएका अधिवक्ता करुणाकर मल्लिक जुरुक्क उठे । भने, ‘श्रीमान् हजुरले यो मुद्दा हेर्न (सुनुवाइ गर्न) मिल्दैन, विपक्षी लोकमानसिंह कार्की र तपाईंबीच सात पुस्ताभित्रको नाता सम्बन्ध पर्छ ।’ लगत्तै लोकमानसिंह कार्कीले कामु प्रधानन्यायाधीशलाई लेखेको अनुरोधपत्र इजलास अधिकृतमार्फत कार्कीलाई दिए । जसमा लेखिएको थियो, ‘तपाईं र म मुुलुकी ऐनको अदालती बन्दोबस्तको ३० नम्बर महलअनुसार सात पुस्ताभित्रको नातामा पर्दा रहेछौं, त्यसकारण कानुनी व्यवस्थाअनुसार सम्माननीयज्यूको मानमर्यादामा समेत कोहीकसैले प्रश्न गर्न नपाई अदालतको मर्यादामा समेत वृद्धि हुने व्यहोरा सादर अनुरोध छ ।’
इजलास अधिकृतले पत्रको व्यहोरा पढेर सुनाएपछि सुरु भयो सवालजवाफ । ‘म लोकमानलई चिन्दा पनि चिन्दिनँ, यसअघि हाम्रो भेट पनि भएको छैन, मैले किन हेर्न नमिल्ने ?’ कार्कीको जिज्ञासामा लोकमानका तर्फबाट बहस गर्ने अधिवक्ता मल्लिक बोले, ‘श्रीमान् अदालती बन्दोबस्ती महलअनुसार नाता परेको देखिएको छ, फेरि अवहेलना मुद्दा पनि लोकमान व्यक्तिविरुद्ध परेको छ त्यसैले हजुरले नहेर्दा नै राम्रो हुन्छ ।’
अब बोल्ने पालो थियो निवेदकका विपक्षमा बहस गर्ने अधिवक्ता रमेश बडालको । बडालले लोकमानले पेस गरेको ६ पृष्ठको वंशावली विवरणको वैधतामा मात्र प्रश्न उठाएनन्, मुलुकी ऐनको व्यवस्थाअनुसार अपुताली खान पाउने महलअनुसारको समेत सम्बन्ध नदेखिएको जिकिर गरे । दुवै पक्षको बसहपछि अब निर्णयमा पुग्ने पालो न्यायाधीशको आयो । न्यायाधीशले आफूले विचार गर्ने जवाफ दिइन्, इजलास सकियो, अवहेलना मुद्दामा के आदेश गर्नेभन्दा पनि हेर्न मिल्ने कि नमिल्ने भन्नेमा बहस मोडिएको राजधानी दैनिकमा खबर छ ।
केही बेरमा अदालतको आदेश तयार भयो । आदेशमा भनियो, ‘मेरो विवाह भई गोत्र नै परिवर्तन भएको स्थितिमा निज (लोकमान)ले अनुरोध गरेअनुसारको अपुतली खाने नाता एवं हकदारको समेत अवस्था कानुनतः रहेको देखिँदैन, अनुरोधकर्ताले मेरो नातेदार एवं हकवाला रहेको भनी उल्लेख गर्न सकेको समेत देखिँदैन ।’
कामु प्रधानन्यायाधीश कार्कीले जारी गरेको दुई पृष्ठ लामो आदेशमा भनिएको छ, ‘लोकमानसिंह कार्कीसँग आफ्नो सम्बन्ध अदालती बन्दोबस्तको ३० नम्बर महलले मुद्दा हेर्न रोक लगाएको नाताभित्र परेको नदेखिएकाले निज संलग्न रहेको मुद्दा मसहितको इजलासबाट हेर्न मिल्ने नै देखिन आयो ।’ लोकमानसँग आफ्नो नाता नरहेको ठहर गर्दै न्यायाधीश कार्कीले कार्कीविरुद्ध यसअघि परेको निवेदनसमेत साथै राखेर अर्को सुनवाइका लागि पेस गर्न आदेश दिइन् ।
साथै, आदेशमा लोकमानविरुद्धको मुद्दा व्यक्तिगत नभई संस्थागत भएको समेत उल्लेख छ । लोकमानले सुनवाइअघि पेस गरेको अनुरोधपत्रमा कामु प्रधानन्यायाधीश कार्की र आफूबीचको सात पुस्ताअघिका नातेदार भन्दै सात पुस्ताअघि दुवैको वंशज भोजराज कार्की भएको जिकिर गरेका थिए ।
उनले वंशावलीको लामो फेहरिस्तमा भोजबहादुरका दुई छोरामध्ये आफू महेन्द्रसिंहपट्टिको सन्तान र कामु प्रधानन्यायाधीश कार्की नन्दरामतर्फका सन्तति भएको दाबी गरेका थिए ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अदालतको आदेश उल्लंघन गरी पक्राउ गरेर अदालतको अवहेलना गरेको दाबीसहित दीक्षित पत्नी शान्ताले दायर गरेको मुद्दामा न्यायाधीश र अख्तियार प्रमुखबीच नाता विवादको बहस भएको हो ।

कामु प्रधानन्यायाधीश कार्कीले यसअघि गत १७ जेठमा दीक्षितलाई थुनामा राखेर मुद्दा अनुसन्धान अघि बढाउने विशेष अदालतको आदेश बदर गरिदिएकी थिइन् । अख्तियारले दीक्षितलाई पक्राउ गरी भ्रष्टाचार मुद्दा दायर गरेपछि विशेष अदालतले थुनामा राखेर मुद्दा सुनुवाइ अघि बढाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशले थुनामुक्त भएपछि हाल अख्तियारले दीक्षितको थप सम्पत्ति स्रोतमाथि अनुसन्धान जारी राखेको छ ।
 

Related News