​लोक सेवाको भर्ना अनिश्चित

दृष्टि न्यूज

काठमाडौं, २० मंसिर । 
हजारौं युवाहरु लोक सेवा परिक्षाको तयारी गरिरहँदा लोक सेवा आयोगको बिज्ञापन भने अनिश्चित बनेको छ । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ ।   कर्मचारी समायोजन प्रक्रिया सकिएपछि भर्ना खोल्न लागिएको स्रोत बताउँछ । 

समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोत बताउँछ । 
मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कम्तीमा तीन महिना लाग्नेछ । सरकारले तीनवटै तहमा कर्मचारी समायोजन गर्ने उद्देश्यले समायोजन अध्यादेशलाई स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको छ ।
कर्मचारी समायोजनपछि मात्रै संघमा रहने दरबन्दीको अन्तिम टुंगो लाग्ने भएकाले मंसिरमा खुल्ने भनिएको लोकसेवा नखुल्ने निश्चित भएको हो ।

लोकसेवा आयोगले निजामती सेवाका विभिन्न पदमा आगामी २६ मंसिरमा विज्ञापन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार २६ मंसिरमा निजामती सेवाका अप्राविधिक र प्राविधिकतर्फका सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाको विज्ञापन गर्ने तयारी आयोगले गरेको थियो । 
यसअघि असोजमा हुने परीक्षा सरकारकै आग्रहका कारण लोकसेवाले मंसिरमा सारेको थियो तर अहिले आएर पुनः सरकारले रिक्त पदसंख्या नै नपठाएपछि आयोगले लिने परीक्षा स्वतः स्थगित हुने अवस्था आएको हो ।
लोकसेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रिक्त दरबन्दीको विवरण पठाउन पटकपटक पत्राचार गर्दै आएको छ । तर, सामान्यले भने समायोजनपछि मात्रै भर्ना गर्नुपर्ने भएकाले रिक्त दरबन्दीको विवरण आयोगमा पठाउन इन्कार गर्दै आइरहेको छ । 

लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सामान्य प्रशासन मन्त्रालयबाट १५ मंसिरसम्मै रिक्त दरबन्दी विवरण आइसक्नुपर्ने भए पनि हालसम्म नआएको जानकारी दिए । सूचना अधिकारी सुवेदीले सामान्य प्रशासनबाट निर्धा्रित समयमा रिक्त दरबन्दीको विवरण आउने सम्भावना क्षीण हुँदै गएकाले २६ मंसिरमा विज्ञापन हुने सम्भावना टरेर गएको बताए ।
 समयमा बिज्ञापन नखुल्दा परिक्षाको तयारीमा रहेका हजारौं युवा युवतीहरु निराश भएका छन् । 

Related News