​लोकतान्त्रिक अधिनायकत्वको आवश्यकता

रवीन्द्र श्रेष्ठ । अहिले नेपालमा विकास किन भएन भन्ने प्रश्न सबैले गरिरहेका छन् र नेपालको विकास नहुनुमा नेताहरुलाई दोष दिने आम जवाफ बनेको छ । तर नेताहरुले के कस्तो गल्ती गरेकोले विकास भएन र के गरेमा विकास हुन्छ भन्ने प्रश्नको जवाफ भने आम रुपमा गलत ढंगले दिइने गरिन्छ । उदाहरणका लागि नेताहरु जनताका शासक हुन् कि सेवक हुन् भन्ने प्रश्न गरिँदा करिब करिब सबैजसोले नेताहरु जनताका सेवक हुन् भन्ने मात्र उत्तर दिने गर्दछन् । तर के यो नै यथार्थ हो त ? के नेताहरु जनताका सेवक मात्र हुन् ? के नेताहरु शासक हुन आवश्यक छैन ? नेताहरु सेवक मात्र हुने भए देशका शासक को हुन् ? लोकतन्त्रमा जनता नै शासक हुन् भन्ने उत्तर पनि आउन सक्दछ । यदि जनता नै शासक हुन् भने जनताले कसरी शासन गर्दछ ? नेताहरुको काम भनेको के जनताको सेवा गर्नु मात्र हो ? 
अर्को गम्भीर यक्ष प्रश्न हो लोकतन्त्र भनेकै के हो ? लोक भनेको जनता हो र तन्त्र भनेको शासन हो, यस अर्थमा लोकतन्त्रको सरल परिभाषा भनेको जनताको तन्त्र अर्थात् जनताको शासन हो । अमेरिकाका प्रथम राष्ट्रपति अब्राहम लिंकनको लोकतन्त्र भनेको जनताका लागि, जनताद्वारा जनताको सरकार भन्ने परिभाषा पनि सबै शिक्षित नेपालीहरुलाई कण्ठ नै छ । तर जनताले चुनेको भनिएको सरकारको काम भने जनताको सेवा गर्ने अर्थात जनताको नोकर बन्ने मात्र हो भन्ने ठान्छन् बहुसंख्यक नेपालीहरु । त्यसो हो भने लोकतन्त्रमा कसैको कसैमाथि शासनको आवश्यकता हुन्छ कि हुँदैन भन्ने प्रश्नमा भने अलमलिन्छन् । लोकतन्त्रमा कसले शासन गर्छ भन्ने प्रश्नको उत्तर जनताले शासन गर्छ भन्दैमा लोकतन्त्रको यथार्थ प्रष्ट हुँदैन । नेपाली राजनीतिको एक गम्भीर समस्या यही देखिन्छ जसलाई बहुसंख्यक नेताहरुले पनि अझ अस्पष्ट बनाउने गरेका छन् र जनतालाई भ्रम दिने तथा प्रकारान्तरले आफैँलाई पनि भ्रमित बनाउने काम गरिरहेका छन् । 
पश्चिमा देशहरु र पछि आएर विकास हुन थालेका पूर्वका देशहरुका नेताहरुमा नेता भनेका शासक र सेवक दुबै हुन् भन्ने कुरामा प्रष्टता थियो, त्यसैले ती देशहरुमा विकासको गति छिटो भएको हो । उनीहरुले शासन पनि गरे, सेवा पनि गरे, त्यसैले ती देशहरुको विकास तीब्र गतिमा भएको हो । उनीहरुले सेवक भएर सेवा मात्र गरेर शासन चाहिँ नगरेको भए ती देशहरुमा विकास तीब्र गतिमा हुन सक्ने थिएन । नेपालका नेताहरुमा भने जनताको सेवक हौं भन्ने ढोंगी पाखण्डी कुराका बकवासहरु मात्रै गर्ने क्षमता देखियो तर, शासन गर्ने क्षमता देखिएन । पुष्पकमल दाहाल र बाबुराम भट्टराई पनि शासन गर्ने मामलामा हुतिहारा र ढोंगी पाखण्डी देखिए । लोकतन्त्र भनेको लोकको तन्त्र अर्थात् जनताको शासन हो भनिए पनि जनताले प्रत्यक्ष रुपमा शासन गर्न सक्दैन । तसर्थ जनताले आफ्नो शासकीय प्रतिनिधिहरु चुन्ने गर्छन् र ती चुनिएका प्रतिनिधिहरुले सरकार छानेर त्यस सरकारले शासन गर्ने हुन्छ । एकातिर जनतामा लोकतन्त्रमा हामी शासक हौं र सरकारमा जाने नेताहरु केवल नोकर मात्र हुन् भन्ने भ्रम छ भने सरकारमा जाने नेताहरुमा न त जनताको सेवक बन्ने अर्थात् जनताको सेवा गर्ने क्षमता छ, न त शासक बन्ने क्षमता नै छ । यथार्थमा नेताहरु अर्थात सरकारमा जानेहरु जनताका शासक पनि र जनताका सेवक पनि दुबै बन्नु पर्ने हो, जुन बिना देशको विकास सम्भव छैन । 
एक राणा प्रधानमन्त्रीले पनि पदभार सम्हाल्ने बित्तिकै म राष्ट्रको नोकर हुँ भनेका थिए । भारतका अहिलेका प्रधानमन्त्रीले पनि पदभार सम्हालेपछि म प्रधानमन्त्री होइन प्रधानसेवक हुँ भनेका थिए । वास्तवमा यी दुबै कुरा यथार्थ होइन । यथार्थ यो हो कि ती राणा प्रधानमन्त्री पनि प्रधानशासक थिए र मोदी पनि मुख्यतः प्रधानशासक नै हुन् । ती राणा प्रधानमन्त्रीले  शासकीय क्षमता देखाउन सकेनन् र नालायक सावित भए । मोदीको मेक इन इण्डिया कार्यक्रम सफल भएमा उनी सफल शासक बन्नेछन् । तर केबल हम प्रधानसेवक है मात्रै भनेर ढोंगी बन्दै शासकीय काममा निपूर्ण हुन सकेनन् भने उनी पनि असफल बन्ने छन् । नेपालका जननिर्वाचित सरकारका नेताहरु म राष्ट्रको नोकर हुँ भन्ने ती राणा प्रधानमन्त्री कै पथमा अग्रसर भएको हुनाले देश विकास हुन नसकेको हो । अर्थात भन्ने वेलामा म राष्ट्र र जनताको नोकर हुँ भन्ने तर गर्ने वेलामा न त जनताको सेवा गर्ने, न त जनताको शासक नै वन्ने, केवल व्यक्तिगत स्वार्थका लागि मात्र काम गर्ने तथा जनतामा भ्रम छर्न केही काम गरे जस्तो देखाउने । 
लोकतन्त्रबारे अर्को एउटा पनि भ्रम रहेको छ । लोकतन्त्र भनेको अधिनायकत्वको विपरीत हो अर्थात लोकतन्त्रमा अधिनायकत्व हुँदैन भनिन्छ । तर यथार्थ यो होइन । लोकतन्त्र भनेको जनताको शासन हो र शासन भनेको वल प्रयोग गरेर जनतालाई विकासमा लगाउनु हो अर्थात शासन भनेको सारमा अधिनायकत्व नै हो । कानूनी शासन भनेको कानूनी अधिनायकत्व अर्थात कानूनी वल प्रयोग हो । कानून लागु गर्नु र स्वअनुशासन भन्नु फरक छ । कानून लागु गर्नु भनेको वल प्रयोगको डर देखाएर वा वल प्रयोग गरेर कानूनमा लेखिएका कुरा कार्यान्वयन गर्नु हो भने स्वअनुशासन भनेको विना वल प्रयोग नै काम गर्नु हो । वल प्रयोग विनाको कानून, यथार्थमा  कानून नै हुन सक्दैन । त्यसैले लोकतन्त्रमा पनि सेना प्रहरी अदालत जेल तथा सजाँयका अनेक उपायहरु रहेका हुन्छन् । तर नेपालका नेताहरुको समस्या भनेको यिनीहरु शासन गर्न नै जान्दैनन्, अर्थात आफु मातहत भएको कानूनी शासन लागु गर्न असक्षम छन्, अर्थात आफ्नो मातहत भएको वल प्रयोगको अधिकार र कर्तव्य, देश र जनताको हितमा प्रयोग गर्न असक्षम छन् । शासन गर्नु र सेवा गर्नु भनेको जनताको पक्षमा नीति योजना कार्यक्रमहरु तथा कानूनहरु वनाउनु र त्यसलाई लागु गर्नु हो । यसका लागि वल प्रयोग पनि आवश्यक हुन्छ, वुद्धि प्रयोग पनि आवश्यक हुन्छ, हिम्मत पनि आवश्यक हुन्छ, दाउपेच वा चलाखीपन पनि आवश्यक हुन्छ, तर यी क्षमता नेपालका नेताहरुमा भएन । यसको मुख्य समस्या लोकतन्त्रको वुझाइमा नै रहिरहेको छ । नेताहरु ठान्छन् कि लोकतन्त्र भनेको विशुद्ध जनताको सेवा मात्र हो, यहाँ शासनको अर्थात वल प्रयोगको आवश्यकता हुँदैन । शासन गर्नु पर्छ भन्ने नेताहरु पनि शासन भनेको भाषण गर्ने तथा योजना र कानुनहरु वनाउने मात्र ठान्छन् र त्यसको कार्यान्वयनका लागि अनिवार्य रुपमा गर्न पर्ने वलप्रयोग गर्न चाहँदैनन् वा हिम्मत गर्दैनन् । 
यहाँ लोकतन्त्रको अमूर्त व्यवस्था होइन, जनताको शासन चाहिएको छ । जनताको शासन विना जनताको सेवा हुन सक्दैन । जनताको शासन भनेको जनताको हित हुने गरि योजना र कानुनहरु वनाउनु र वल प्रयोग गरेर त्यसलाई लागु गर्नु हो किनभने वलप्रयोग विना ती योजना र कानूनहरु लागु हुन असम्भव छ भन्ने प्रमाण नेपालको सात सालदेखि अहिलेसम्मको असफल लोकतान्त्रिक इतिहास हो । फलानो देशमा यस्तो विकास भयो नेपालमा किन भएन भन्ने प्रश्नको उत्तर हो फलानो देशको सरकारले योजना र कानुनहरु कस्तो कडा रुपमा लागु गराउँछ, तर नेपालमा योजना र कानुन केवल कितावमा मात्र लागू गर्ने हुतिहारा नालायक नेताहरुलाई शासकीय पदहरुमा पु¥याइन्छ । नेपालको संविधान कानुनहरु र सरकारी योजनाहरुमा हजारौं राम्रा कुराहरु छन्, तर ती कार्यान्वयन गर्ने गरी शासन गर्ने अर्थात् बल प्रयोग गरेर लागू गर्ने हिम्मत र बुद्धि भएका नेताहरु भएनन् जसले गर्दा ती किताबमा सीमित भए । देश र जनताका लागि विकास बजेट बनाइन्छ, तर त्यस विकास बजेटको २० प्रतिशत पनि खर्च भएन भनिएको छ भने त्यसको जिम्मेवार व्यक्तिहरुलाई लोकतान्त्रिक सरकारले किन कानुनी बल प्रयोग गरेर तह लगाउन सक्दैन वा चाहँदैन ? अर्बौ बजेट सरकारी शिक्षा र सरकारी अस्पतालका लागि छुट्याइएको छ तर ती सरकारी विद्यालय र अस्पतालको दुर्दशाका खबर दिनहुँ आइरहेकै छन् र जिम्मेवार मानिसहरुलाई कारवाही गर्न सरकार नालायक सावित भइरहेको छ । यातायात वैदेशिक रोजगार मालपोत आदि ठाउँहरुमा हुने भ्रष्टाचार ढिलासुस्ती गर्नेहरुमाथि सरकारमा जानेहरुले शासन गर्न अर्थात् कानुनी बल प्रयोग गरेर तह लगाउन सक्दैनन् वा चाहँदैनन् भने देश कसरी विकास हुन्छ ? 
तर विकसित देशहरुमा लोकतन्त्र भनेको पूँजीवादी औद्योगिक क्रान्ति सहितको आर्थिक क्रान्ति लागु गर्ने गरि शासन गर्ने अर्थात वल प्रयोग गरेर पूँजीवादी आर्थिक क्रान्ति गर्ने शासन प्रणाली हो भन्ने स्पष्ट वुझाइ भएका नेताहरुले लामो समय शासन गर्न पाएकोले गर्दा ती देशहरुको आर्थिक विकास भएको हो । तसर्थ नेपालको तीब्र आर्थिक विकास गर्ने हो भने लोकतान्त्रिक गणतन्त्र मात्र भन्नु भन्दा हामीलाई चाहिएको व्यवस्था भनेको लोकतान्त्रिक अधिनायकत्व सहितको गणतन्त्र हो भन्ने हिम्मत गर्नु पर्दछ र नेताहरु भनेका जनताका नोकर भन्दा पनि शासकीय क्षमता भएका मान्छे हुन् भन्ने परिभाषा स्थापित गरिनु पर्दछ । जुन नेता शासक वन्न सक्दैन उ वास्तवमा नोकर वन्न पनि सक्दैन । जुन लोकतन्त्रमा जनपक्षीय शासकहरु अर्थात जनपक्षीय अधिनायकहरु हुँदैनन् र पुष्पकमल र बाबुरामजस्ता राजनैतिक दलाल जोकरहरुले शासन गर्छन् त्यो लोकतन्त्र विदेशी शासकहरु अर्थात विदेशी अधिनायकहरुको खेलौना बन्ने हुन्छ । 

Related News