​लोकतन्त्रको उपहास

जननेता मदन भण्डारी भन्नुहुन्थ्यो– एउटा माघले जाडो जाँदैन । हरेक वर्ष घुम्दै फिर्दै माघ आइरहन्छ जाडो आइरहन्छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले षड्यन्त्रमूलक ढंगले भरतपुर महानगरपालिकाको नतिजा उल्टाएका छन् त्यसले उनीहरूलाई तत्कालका लागि लाभ पुगेपनि तिनको राजनीतिक भविष्यमा धक्का पुग्ने सन्देश प्रवाह गरेको छ । अर्को चुनावमा जनताले गतिलो जवाफ दिनेछन् । कम्युनिष्टको खोल ओढेका प्रचण्ड स्वभावले कुलीन र विलासी हुन् जसले देशलाई जहिले पीडा दिइरहे चुसिरहे । कांग्रेसको खोल ओढेका शेरबहादुर देउवा अर्का कुलिन र विलासी हुन् जसले लोकतन्त्रलाई पटक पटक जुवाको खालमा चढाए । विदेशीलाई खुशी पार्न मर्यादा समेत भुलेर दलाई लामा उद्घाटित विवादास्पद गोष्ठीमा सहभागी भए । देउवाकै कारण प्रजातन्त्र गुमेको कालो इतिहास छ । देशमा घातक हतियार भित्राउने देखि हिंसालाई ऊर्जा दिनमा दुवैले भूमिका खेलेको इतिहास साक्षी छ । प्रचण्ड विदेशी भूमिका बसेर देशको सेना र प्रहरीमाथि आक्रमण गर्थे । योभन्दा राष्ट्रघात अरू के हुनसक्छ । 
प्रचण्ड हिंसाको राजनीतिबाट आएका थिए । कथित जनयुद्धमा जनप्रतिनिधिमाथि आक्रमण गरिरहे । लोकतन्त्रको धज्जी उडाउने यस्ता धेरै क्रियाकलाप गरिहन्थे । अहिले पनि उनी संसदीय लोकतन्त्रलाई सहज रूपमा स्वीकारिरहेका छैनन् । उनै प्रचण्डको षड्यन्त्रका सारथी बने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । षड्यन्त्र गरेर रेणुलाई जिताउन कांग्रेसका नेता कार्यकर्ता समेत परिचालन गरे । योभन्दा लज्जास्पद घटना कांग्रेसको इतिहासमा अर्को के हुनसक्ला ?  लोकतन्त्रको मसियाहा दाबी गर्ने कांग्रेसका सभापति देउवाले प्रचण्डपुत्रीलाई मतदान गर्न दबाब सृजना गरेका थिए । प्रचण्डले मात्र होइन देउवाले समेत लोकतन्त्रको खिल्ली उडाएका छन् । यसले नेपाली राजनीतिमा पार्ने नकारात्मक असरको जिम्मेवार प्रचण्ड मात्र हुनेछैनन् देउवा पनि हुनेछन् । यी दुवै पात्र फरक दलको भएपनि स्वभाव र शैली मिल्दोजुल्दो छ । विचार र सिद्धान्तको धज्जी उडाउँदै व्यक्तिगत स्वार्थमा तल्लो तहमा झरेर गलत क्रियाकलाप गर्छन् । जुन भरतपुर महानगरपालिकाको चुनावमा गरे । अनेकन षड्यन्त्र गरेर भएपनि रेणु दाहाललाई जिताइछाडे । त्यसपछि सर्वोच्च अदालतको पुनः निर्वाचन गर्ने फैसलापछि भएको चुनावमा भरतपुरमा पैसाको खोलो बगाइयो । चुनावमा नेपाली कांग्रेसनिकट युवा नेताहरूको उल्लेख्य सक्रियता पछाडि पैसाको खेलको चर्चा कांग्रेसवृत्तमै चलिरहेछ । देशमा विगतका नकारात्मक राजनीतिक संस्कार मेटाएर सुसंस्कार स्थापित गर्नुपर्ने युवा नेताहरू जसरी परिचालित भए त्यसले भविष्यमा कांग्रेसमा स्थापित हुने युवाहरूप्रति विश्वास गर्ने ठाउँ रहेन । 
सत्ताका लागि देउवाले जुन हदसम्म गिरेर प्रचण्डलाई सहयोग गरे त्यसले सच्चा कांग्रेस हुँ भन्नेहरूले आफूलाई लज्जित भएको दुखेसो पोखे । नैतिक मूल्य मान्यता कांग्रेसभित्र टिक्न मात्र छाडेन लखेटिन थाल्यो । यसकारण कतिपय कांग्रेस समर्थकहरूले विकल्पमा लोकतान्त्रिक शक्तितर्फ ध्यान दिइरहेछन् । प्रदेश र संसदको चुनावमा त्यसको नतिजा देखिनसक्छ । काठमाडौं उपत्यकामा कांग्रेसप्रति असन्तुष्टि प्रकट भइसक्यो । यसले तरङ्गको रूप लिदै गइरहेको छ । तेस्रो चरणको स्थानीय चुनाव अन्र्तगत प्रदेश नम्बर दुईमा कांग्रेस कमजोर छ । उसले सोचे जस्तो मधेश भोट बैंक पनि रहेन । कांग्रेस मुद्दाबिहीन छ । एमालेलाई मधेशविरोधी देखाएर मत बटुल्ने रणनीति बाहेक छैन । देउवाले एकपछि अर्को विवादास्पद क्रियाकलाप देखाएर कांग्रेसलाई कमजोर बनाएका छन् । आइजीपी प्रकरण, महाभियोग प्रकरण, राजदूत प्रकरण हुँदै भरतपुर प्रकरण जोडिएको छ । यस्ता अनेकन प्रकरणमा जनता किनाराको साक्षी बनेर मात्र बस्दैनन् । अब हुने चुनावमा यसको गतिलो जवाफ दिनेछन् । माओवादी त पत्तासाफ जस्तै थियो कांग्रेसको बुई चढेर छिटफुट जोगियो । अबको चुनावहरूमा सबैभन्दा ठूला झड्का कांग्रेसले खानुपर्नेछ । त्यो पनि उस्कै कारणले । कांग्रेस गलत व्यक्तिको हातमा पुग्दा जीवनभर कांग्रेसमा रहेर संघर्ष गरेकाहरूले विकल्प सोच्नुपर्ने अवस्था समेत बनाइदिएका छन् देउवाले । राजनीतिलाई प्रदूषित बनाउने प्रचण्ड र देउवाको गठजोडले देश र लोकतन्त्र नै खतरामा पर्ने अवस्था बनिसकेको छ । लोकतन्त्रको मेरुदण्ड चुनावको धज्जी उडाउने गतिविधिले जनता झस्किएका छन् । जनताले उचित समयमा गतिलो जवाफ देलान् । त्यो समय अब टाढा छैन । जनताले लोकतन्त्रको उपहास गर्नेलाई राम्ररी चिनेका छन् र तिनको छिनोफानो गर्नेछन् । 

Related News