लुम्बिनी बृहत्तर गुरुयोजना तीन वर्षमा पुरा गर्छुः सदस्य सचिव ढकाल

दृष्टि न्यूज

पाल्पा  । लुम्बिनीको बृहत्तर विकासका लागि सन् १९७८ मा तयार भएको गुरु योजना अहिलेसम्म पुरा हुन नसक्दा बौद्ध धर्मावलम्बीको प्रमुख गन्तव्यको विकास प्रभावित भएको छ । सन् १९९५ मै सकिनुपर्ने गुरुयोजना अबको तीन वर्षमा पुरा गर्ने भर्खर नियुक्त भएका लुम्बिनी विकास कोषका सदस्य सचिव बिष्णुप्रसाद ढकालले बताएका छन् । 
नेपालमा धार्मिक, सांस्कृतिक पर्यटक भित्राउने निक्कै सम्भावना छ । बौद्ध धर्मावलम्बीका लागि लुम्बिनीसँगै यसक्षेत्रका अन्य सम्पदासँग समन्वय गर्नु छु । अहिलेसम्म विभिन्न कारण गुरुयोजनाका कामहरु पनि प्रभावित भए । अब हामीले नयाँ ढंगले काम गर्नुछ, आईतबारदेखी जिम्मेवारी सम्हालेका ढकालले भने । ‘गुरुयोजनाको ३० प्रतिशत काम बाँकी छ । अहिलेसम्म गरिएका काम कस्ता रहे, अबका काम कसरी गर्नुपर्छ भन्ने बारेमा अध्ययन गर्नका कन्सल्टेन्सीसँग छलफल गरि अध्ययनको काम गर्छौ, ढकालले भने, ‘बाँकी कामको सम्पूर्ण प्रारुप तयार भएपछि ग्लोबल टेण्डर आह्वान गरेरै भएपनि हामीले गुरुयोजना पूरा गर्नेछौं । गुरुयोजना पूरा गर्न झण्डै ६÷७ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।’
पाल्पाका प्रमुख जिल्ला अधिकारीबाट विदाई हुँदै पत्रकार भेटघाटका क्रममा सदस्य सचिवको जिम्मेवारी लिएका ढकालले अन्तर्राष्ट्रिय गौरवको स्थानलाई राष्ट्रियताको भावनामा समेट्ने बताए । उनी भन्छन्, ‘लुम्बिनीको प्रचारप्रसार गरि संरचना तयार गरि लुम्बिनीलाई हेर्नलायक सून्दर र पवित्र स्थल बनाउन लुम्बिनी विकास कोष लागि पर्नेछ । जेजति कारणले गुरुयोजनाभन्दा बाहिर गएर काम भएका छन् त्यसमा अब पुनरावलोकन गर्न वा के कसरी सुधार्न सकिन्छ त्यस विषयमा पनि हामीले ध्यान दिनेछौं ।’ अन्तर्राष्ट्रिय महत्वको निकाय लुम्बिनी विकास कोषका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा समिति गठन हुने गर्दछ । 
लुम्बिनीको विकासका लागि कोषले नीति निर्माणदेखि महत्वपूर्ण कामको सदर र टुङ्गो लगाउने अधिकार उपाध्यक्षलाई रहने गर्दछ । लुम्बिनीमा सञ्चालित विभिन्न योजनाका काममा पनि उपाध्यक्ष नहुँदा प्रभावित भइरहेका छन् । हाल त्यहाँ आधा दर्जनभन्दा बढी विभिन्न योजनाको काम भइरहेका छन् । तर समिति पूर्ण नहुँदा काम प्रभावित बन्ने गुनासो आईरहेको थियो । सरकारले उपाध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुने कोषको केन्द्रीय खातामा रकम निकासा गरिने र सो खाताको रकम लुम्बिनी विकास कोषको अन्य खातामा पठाइने व्यवस्था छ ।
विश्व शान्तिको मुहान लुम्बिनीसँग जोडिएर रहेको लुम्बिनी अन्तराष्ट्रिय विकास समितिलाई क्रियाशिल गराउने वा खारेजी गर्ने विषयमा आफु अगाडी बढ्ने सदस्य सचिव ढकालले बताए । ‘१५ देश सदस्य रहेको समिति क्रियाशिल नहुँदा पनि काम गर्न समस्या छ । २०१८ सम्म सम्पूर्ण विकास हुनुपर्ने थियो । झण्डै ७० प्रतिशतमात्र सकियो । जसका कारण बृहत्तर लुम्बिनी जुन रुपमा बाहिर आउनुपर्ने हो, त्यो हुन सकेन, सदस्य सचिव ढकालले भने, ‘१९९८ र २००४ मा भएको बौद्ध शिखर सम्मेलनबाट पारित कामहरु पनि बाँकी छन् । जसलाई पुरा गर्नुछ ।’ 
सदस्य सचिव बिष्णुप्रसाद ढकाल भन्छन्, ‘पाल्पालाई पनि बौद्धिष्ट सर्कलमा जोड्ने योजना रहनेछ । बौद्ध दर्शन अध्ययन गर्ने व्यवस्था मिलाउने छु । अन्तराष्ट्रिय धार्मीक पर्यटकीय गन्तव्य लुम्बिनी हुनेछ । भीक्षु अमृतानन्द महास्थिवरको दर्शनलाई पनि ध्यान दिनेछु ।’ ढकाललाई सरकारले साउन १० गतेको मन्त्रिपरिषद् निर्णयबाट सदस्य सचिवमा नियुक्त गरेको हो । उनले साउन २२ गतेबाट उमेर हदका कारण सेवा निवृत्त हुँदै थिए । उनी २००४ मा लुम्बिनी विकास कोषमै योजना प्रमुखको रुपमा काम गरिसकेका थिए । ढकाल गृहसँगै वाणिज्य, भूमिसुधार, उद्योग, स्थानीय विकास मन्त्रालयसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुभव लिईसकेका व्यक्ति हुन् ।

Related News