​घरमा पाहुना बनेर लुटपाट

दृष्टि न्यूज

काठमाडौं, १६ मंसिर । 
पाहुना बनेर एक समूहले चितवनमा फिल्मी शैलीमा लुटपाट गरेको छ । 
गत ७ मंसिरमा साँझ ७ बजेतिर ३ जना युवा ‘हामीलाई बचाइदिनुस्, सुरक्षा दिनुस्’ भन्दै भरतपुर ८ गौरीगन्ज ज्योतिष टोलस्थित तारानाथ सुवेदीकोे घरमा पसेका युवाले नै लुटेका हुन् । घरधनीले आपत् परेको होला भनेर आश्रय दिएका थिए । राति १० बजेपछि जाने भन्दै उनीहरूले सोही घरमा खाना पनि खाए । आश्रय दिएकै युवा लुटपाट गरी फरार भए । 

७ मंसिरमा सुवेदीको घरबाट २ लाख नगदसहित ७ लाखबराबरको धनमाल लुटपाट भएको छ । मोटरसाइकलसमेत लुटेराले लगेकामा भोलिपल्ट भोजाडमा भेटिएको चितवन प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए । 
 
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले ३ जना पक्राउ गरेको छ । मकवानपुर हेटौँडा २ का ५० वर्षे रामचन्द्र थापा, मकवानपुर राक्सिराङ ८ का ३२ वर्षे रामकुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका ७ आग्रा चौवासका ४८ वर्षे सन्तबहादुर थिङलाई प्रहरीले पक्रेको हो ।

थापा केन्द्रीय बसपार्क भरतपुरबाट, मोक्तान मनहरीबाट र थिङ काठमाडौं कलंकीबाट पक्राउ परेको राठौरले बताए । चोरीको गरगहना किनेको आरोपमा चितवन रत्ननगर नगरपालिका–१० का ३७ वर्षे कृष्ण ढकाललाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेमध्ये थापा र मोक्तानले यसअघि पनि साढे ७ वर्ष डाँका मुद्दामा जेल सजाय काटेका थिए । २७ जेठ ०६६ मा चितवन कविलासस्थित घुमाउनेमा पेस्तोल देखाई डाँका गरेको आरोपमा थापा र मोक्तान पक्राउ परेका थिए । मोक्तान ०६७ मा डाँका मुद्दामा मकवानपुरमा पक्राउ परी ०७२ मा जेलबाट निस्केको चितवन प्रहरी प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए ।

Related News