भिजन नेशनल्स र मिर्सी मिशन हिमालय संविधान विरोधी गतिविधिमा संलग्न

दृष्टि न्यूज

काठमाडौं, ११ वैशाख । ठूलो अन्तर्राष्ट्रय गैर सरकारी संस्था नै भ्रष्टाचार, विकृति र अन्तर्राष्ट्रिय चासोे घुसपैठको संवाहक बन्दा सिंगो समाजसेवाप्रति नै आम जनताको धारणामा परिवर्तन हुनसक्ने चुनौति अगाडि आएका छन् । समाजिक सेवा, मानवीय सेवा र असहायको अभिभावक भन्दै संविधानविरुद्धका हर्कतहरु हुन थालेपछि महालेखा परिक्षकको कार्यालयले समेत त्यस्ता गलत परियोजना स्वीकृत दिने निकायको नाममा टिप्पणी उठाएको छ ।
भिजन नेशनल्स नेपाल, भारत थाईल्याण्डमा सामाजिक सेवाको नाममा ठूलो रकम खर्च गर्दै आएकोछ । जसमा भारतको बिशाखापट्टन, थाईल्याण्डको च्याङ मेई र नेपालको काठमाडौं केन्द्रीय समाजसेवा गर्दै आएको सो संस्था दुई करोड १७ लाखभन्दा बढि रकम नेपालको संविधानविरुद्ध परिचालन गरेको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ । परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था भिजन नेशनल्सबाट नियमत रुपमा अनुदान लिई नेपालमै दर्ता रहेको मर्सी मिसन हिमालय नेपाल नामक एक संस्थाले सो बजेट संविधानले निषेध गरेको क्रिश्चियनरी प्रचार प्रसारमा खर्च गरेको टिप्पणी गरेको छ । 
महालेखा प्रतिवेदनको पृष्ठ २५१ र २५२ मा मिर्सी मिशन हिमालय नेपाल नामक संस्थाले संविधान विरुद्धको नतिजाका लागि विदेशी सहयोग खर्च गरेको टिप्पणी गर्दै कार्यक्रम स्वीकृति गर्नेदेखि अनुदान ल्याएर समाजसेवाको नाममा धर्म प्रचार गर्नेमाथि कारवाही गर्न मार्ग प्रशस्त गरेको छ । महालेखाको टिप्पणीपछि धर्म प्रचारका लागि समाजसेवाको आवरणमा काम गर्दै आएका एनजिओ तथा आईएनजिओहरु अत्तालिन पुगेका छन् ।
ललितपुरमा दर्ता रहेको मिर्सी मिशन हिमालय नेपालले सन् २००८ देखि बाइबल स्कूल र पादरी प्रशिक्षण लगायतका कार्यक्रम चलाइरहेको देखिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको मर्सी मिसनले समाज कल्याणकै स्वीकृतिमा पछिल्लो दुई आर्थिक वर्षमा एक करोड बढीका परियोजना ल्याएको महालेखाले टिप्पणी गरेको छ । भिजन नेशनलको प्रस्तावनामै सबै हिन्दूलाई पादरी बनाउने उल्लेख छ । तर, नेपालमा परियोजना सम्झौता गर्दा भने बाल गृह र एकल महिला गृह निर्माणको नाममा स्वीकृति लिएर कार्यक्रम भने चर्चका पादरहरुलाई तालिम सञ्चालन गरिएको देखिएको छ । संस्थाले समाज कल्याण परिषदमा बुझाएको प्रगति विवरणमा एक करोड ९ लाख रुपैयाँ खर्च गरेर १० जना प्रशिक्षक र ३०० पाष्टरलाई तालिम दिएको  उल्लेख गरेको छ । नेपालको संविधानले धर्म परिवर्तनलाई निषेध गर्दै धर्म निरपेक्षता व्यवस्था गरेको छ । संविधानविरुद्ध नतिजा भरेर ल्याउने र सो प्रयोजनको लागि खर्च गर्ने निकायलाई समाज कल्याण परिषदले कारवाही गर्न सकेको छैन ।
नेपालमा जितबहादुर विश्वकर्माले स्थापना गरेको मिर्सी हिमालय नेपाल नामक संस्थामा अधिकांश सामान्य मानिसहरुलाई सदस्य राखेर जेबी आफैले संस्थाको रकम क्रिश्चियन धर्म प्रचारको लागि खर्च गर्दै आएका छन् । संस्थाको अध्यक्षमा विश्वकर्मा आफै छन् भने उपाध्यक्षमा लिला बहादुर तामाङ, सचिवमा शंखा दत्त भट्ट तथा कोषाध्यक्षमा ईश्वर श्रेष्ठ रहेका छन् । केही दिन पहिले सार्वजनिक भएको महालेखा प्रतिवेदनमा भनिएको छ, ‘समाज कल्याण परिषद्सँग मिर्सी तालिम केन्द्र परियोजना स्वीकृतिको लागि पेस गरेको प्रारम्भिक प्रस्तावको सि.नं.७ मा चर्चसँग आबद्ध युवालाई ग्रामीण तथा हिमालय क्षेत्रमा परिचालन गर्न प्रशिक्षित गर्ने, बाइबलको ज्ञान फैलाउने तथा स्थानीय चर्चमा नेतृत्व विकास गर्ने, हिमाली जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा अल्पकालीन मोबाइल बाइबल तालिम सञ्चालन गर्नको लागि सक्षम प्रशिक्षक तयार गर्ने कार्य उल्लेख गरेको देखियो । उक्त संस्थाको २०७१।७२ को प्रगति प्रतिवेदनमा ६ महिने बाइबल तालिमबाट १० जना दीक्षित भएको, घुम्ती बाइबल तालिमबाट ३०० पास्चरलाई तालिम दिएको उल्लेख छ ।’ सो सम्बन्धमा मिर्सी हिमालय नेपालको विद्यालयमा सम्पर्क गर्दा आफूहरु केही भन्न नसक्ने बताए ।
उता, महालेखाकै प्रतिवेदनमा अर्को गैर सरकारी संस्थाले पनि संविधानविरुद्ध कार्य गरेको टिप्पणी गरेको छ । बेलायतमा मुख्यालय रहेको टियर फण्ड नामक संस्थाले नेपालको तीन जिल्लाका सीमान्तकृत जनताको जीवनस्तर सुधार एवम् क्षमता अभिवृद्धि गर्न १४ जून २०१३ मा समाज कल्याण परिषद्सँग पाँच करोड २३ लाख ७० हजारको परियोजना सम्झौता गरेर सम्झौता बमोजिमको काम गर्नुको साटो संविधानले निषेध गरेको धर्म परिवर्तनको खेलमा सहभागी भएको देखिएको छ । 
टियर फण्ड, बेलायतको संस्थागत उद्देश्यमा संसारभरका मानिसलाई गरिबी, पीडा र रोगबाट मुक्ति दिलाउँदै क्रिश्चियन शिक्षा र ज्ञानको प्रचार गर्ने उल्लेख भएको संस्था हो । महालेखाले सम्झौता गर्दा नै क्रिश्चियनको अस्तित्व कायम गर्न र अनुयायीबीच एकता कायम गर्न क्रिश्चियन कर्मचारी भर्ना गर्ने कुरा उल्लेख गरेको र त्यसलाई परिषदले स्वीकृति दिएको भन्दै महालेखाले टिप्पणी गरेको छ । 
उता, महालेखाको धर्म परिवर्तन गर्ने गैर सरकारी संस्थाको खर्चमाथि टिप्पणी गरेपछि त्यसको प्रत्यक्ष मारमा अर्को क्रिश्चियनरी मिशनमा संलग्न संस्था प्लान इन्टरनेशन परेको छ । जसले नेपालमा ल्याउन लागेको ठूलो रकम रोकिएको छ । सो संस्थाले नेपालमा क्रिश्चियनरी मिशनमा ठूलो रकम खर्च गर्दै आएको छ ।

Related News