​माडीको त्यो कत्लेआम र भरतपुरको षड्यन्त्रपूर्ण चुनाव

आलोक नेपाली । २३ जेठ २०६२, चितवनको गोविन्दवस्तीबाट यात्रुले खचाखच भरिएको बस भरतपुरका लागि छुटेको थियो ।  गन्तव्यतर्फ बढिरहेको बस माडी पुग्दा खतरनाक बिष्फोटनले कच्याककुचुक भयो । घटनास्थलमा रगतको आहाल बन्यो । रगतले लतपतिएका यात्रुमध्ये कतिपयले पानी सम्म भन्न पाएनन् । निर्दोषहरू मारिए अङ्गभङ्ग भए । सम्झदा पनि कहालीलाग्ने जघन्य घटना प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीले गराएको थियो । ३९ जनाको ज्यान गएको र ७२ जना घाइते भएको घटना प्रचण्डको गृहजिल्ला चितवनमा भएको थियो । जुन घटना अन्तर्राष्ट्रिय रूपमै बदनामित छ । बिडम्बना, जुन जिल्लामा माओवादीले रगतको होली खेल्यो र निर्दोष जनताको बम बिष्फोट गराई विभत्स हत्या ग¥यो त्यही जिल्लाको महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहालले मेयर जितिन् । रगतको होली खेल्नेले लोकतन्त्रको मसियाहा दाबी गर्ने शक्तिको काँध चढेर चुनाव जित्यो । तथापि, यो जितिमा गम्भीर राजनीतिक षड्यन्त्र छर्लङ्ग छ । नेपाली राजनीतिमा बेथिती र मनपरी क्रियाकलापलाई स्थापित गर्ने अर्को नजिर बनेको छ । जसको दुरगामी असरले देशको राजनीतिलाई पिरोलिरहनेछ । 
षड्यन्त्रको अर्को नाम
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डको अर्को नाम षड्यन्त्र भनेका थिए । हुनपनि प्रचण्ड षड्यन्त्रमा माहिर छन् । उनको व्यक्तिगत जीवन षड्यन्त्रहरूले भरिएको छ । सत्ता र शक्तिका लागि सबै रणनीति अपनाउँदै आए । रक्तपात मच्चाएर शक्तिमा आएका प्रचण्डले कम्युनिष्ट सिद्धान्तकै उपहास गरेका थिए जसले भरतपुर घटनामा छद्म षड्यन्त्रको रुप लियो । नेपाली राजनीतिमा प्रचण्डको षड्यन्त्रले अझै निरन्तरता पाउने संकेत पनि हो यो । चितवन प्रचण्डको गृहजिल्ला पनि हो । उनी त्यहीं क्षेत्रलाई चुनावी क्षेत्र बनाउने रणनीतिमा देखिन्छन् । जुन छोरी रेणुले जितपछि खुलाइसकेकी छिन् । काठमाडौंमा हालका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीबाट हार व्यहोर्नु र सिराहामा हारेको चुनाव जिताइदिएबाट प्रचण्डले आगामी चुनावमा कुनै एक सुरक्षित क्षेत्र खोजिरहेका थिए । तर, चितवनमा कांग्रेस बलियो देखिदै आएको छ । जसलाई प्रचण्ड तोड्न चाहन्थे । केही हदसम्म सफल भए । 
कांग्रेसको पकड क्षेत्र तोड्न प्रचण्डलाई स्वयं कांग्रेस सभापति शेरबहादुर देउवा सहयोग पु¥याए । आफ्ना आन्तरिक प्रतिद्वन्द्वीहरूको बलियो आधारस्थल भएकाले पनि देउवाले चितवनको पार्टी संगठनलाई दाउमा मात्र राखेनन् बली चढाइदिए सत्ताका लागि । सत्ताको सौदावाजीमा प्रचण्डले चितवनलाई सुरक्षित राजनीतिक क्षेत्र बनाउने प्रयास गरे । देउवाका कारण उनी धेरै हदसम्म सफल भएका छन् । तर, चितवनमा बलियो पकड बनाएको कोइराला परिवारका सदस्यले मैदान खाली गर्ने अवस्था छैन । विगतमा सुशील कोइराला चितवनबाट निर्वाचित भएका थिए । सशांक कोइराला चितवनसँग जोडिएको नवलपरासीको गैंडाकोट क्षेत्रलाई चुनावी क्षेत्र बनाउँदै आएका छन् । यसकारण पनि कोइराला परिवारले देउवाको कदमलाई सहज मान्न सकेका छैनन् । सुजाता कोइरालाले फेसबुक वालमा स्टाटस लेखेर पकड क्षेत्रमा देउवाबाट चालिएको गलत कदमको विरोध गर्दै कार्यकर्तालाई धैर्य रहन आग्रह गरिसकेकी छिन् । महामन्त्री सशांक कोइरालाले माओवादीलाई कांग्रेसको काँधमा चढेर नउफ्रन चेतावनी दिइसके । यसकारण प्रचण्डको चितवनमा पछिल्लो समय भएका षड्यन्त्रहरू पछि उत्पन्न थप षड्यन्त्रहरूमा कोइराला परिवार चुनौती बन्न सक्छ । 
षड्यन्त्रका सारथीहरू
भरतपुरको चुनावमा रेणुलाई जिताउन लागिपर्नेमा प्रचण्ड छँदैथिए देउवाले पनि मुख्य भूमिका निभाए । त्यसैले मत गनिरहँदा रेणु केही मतले अगाडि पर्ने वित्तिकै देउवाले बधाई दिए । जुन अंकगणित सोचेर षड्यन्त्र गरिएको थियो त्यो सफल भयो । नेपाली जनताको मानमर्दन गर्न देशका वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले साँठगाँठ गरे । प्रचण्डका जुनसुकै गलत क्रियाकलापको अन्धभक्त भएर समर्थन गर्ने माओवादीका युवा नेताहरू समेत भरतपुरमै पुगरे सक्रियता देखाए । तिनले कम्युनिष्ट पार्टीमा नमिल्दो विरासतको राजनीतिलाई मलजल गर्न भूमिका निभाए । माओवादीका कतिपय जिम्मेवार नेताहरू यस घटनाप्रति सन्तुष्ट छैनन् तर मौन छन् । 
नेपाली कांग्रेसको देउवा पक्ष षड्यन्त्रको सबैभन्दा सहयोगी देखियो । देउवा स्वयं रेणुको चुनावी अभियान देखि खुलेर लागेका थिए । कांग्रेस उम्मेदवारलाई जर्बजस्ती उम्मेदवारी फिर्ता गराएर रेणुको समर्थन गरेका थिए । उतिसम्मकी उनी रेणुको प्रचारमा चुनावी भाषण गर्न पुगेर कांग्रेस सभापतिको हैसियतलाई हल्का बनाउन पुगे । यो यस्तो घटना थिए जसमा कांग्रेसको सभापति कम्युनिष्ट उम्मेदवारको प्रचारमा भाषण गर्न पुगेका थिए । मतपत्र च्यात्ने घटनापछि देउवाले आफ्ना विश्वासपात्रहरूलाई भरतपुर पुगेर सहयोग गर्न निर्देशन दिए । कांग्रेसका जिम्मेवार भनिएका युवा नेताहरू रेणुको पक्षमा खुलेर लागेको देखियो । उनीहरू षड्यन्त्रमा अप्रत्यक्ष संलग्न भए । देउवाको आदेशमा प्रहरी प्रशासनको समेत दुरुपयोग गरियो जसको भित्री पाटो भविष्यमा खुल्नेछ । 
दुरगामी असर 
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले जिति छाडिन् । जे जति नाटकहरू भए त्यसका पछाडि रेणुलाई जिताउने षड्यन्त्र लुकेको थियो । यो षड्यन्त्रले नेपाली राजनीतिमा दुरगामी प्रभाव पार्न सक्छ । षड्यन्त्रमा जो जति संलग्न भए र गराइए तिनीहरूको राजनीतिक भविष्यलाई समेत असर पार्नेछ । पिता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रेणुलाई साम, दाम, दण्ड भेदको सबै रणनीति अपनाएर जिताएका हुन् । मतपत्र च्यात्न लगाउने देखि खटिएका कर्मचारीलाई समेत प्रभावित पार्ने क्रियाकलाप भए । च्यात्नेमाथि अझै कारबाही भएको छैन । उनीहरू कुनै समय माओवादी पार्टीबाट पुरस्कृत भएमा आश्चर्य नमाने हुन्छ । माओवादीभित्र प्रचण्डको स्वार्थका लागि मान्छे मार्नेहरू धेरै पुरस्कृत भएका छन् । कतिपय जघन्य अपराधका दोषी खुलेआम हिडिरहेका छन् । प्रचण्डको वर्तमान जति षड्यन्त्रमय छ विगत झनै डरलाग्दो छ । १८ हजारको ज्यान जानेगरी गरिएको सशस्त्र द्वन्द्वका प्रमुख खलनायक उनै हुन् । 
लासको चाङमाथि चढेर प्रचण्डले सत्ताको भोग गरे । नैतिकता बिर्सेर सत्ता र शक्तिका लागि बढ्न तयार हुने उनले जो अवरोध बन्छ उसलाई पन्छाएको इतिहास छ । आलोक गौतमको रहस्यमय हत्या भयो । माओवादीभित्र उनका विरोधीहरू लखेटिए । सर्वहारा वर्गको नेता दाबी गर्ने प्रचण्ड कुलिन भइसके । परिवारवादी पहिचान बनाइसके । माओवादी पार्टीभित्र प्रचण्डको परिवारका सदस्य र नातेदारको बलियो पकड हुनेगरी संरचना बनेको छ । बालुवाटारमा विवादास्पद पुत्र प्रचण्ड हालीमुहाली छन् । कम्युनिष्ट पार्टीलाई पारिवारिक पार्टी बनाएर कम्युनिष्ट नामकै बदनाम गरेका छन् । सत्तालिप्सा र नातागोता परिवारलाई स्थापित गर्ने अभियानमा लागेर प्रचण्डले नेपाली राजनीतिमा विरासतको राजनीति र परिवारवादलाई कम्युनिष्ट पार्टीमा समेत बलियो बनाउन खोजेका छन् । यस घटनाले नेपाली राजनीतिमा नकारात्मक सन्देश प्रवाह भइसकेको छ । राजनीतिक दलका नेताहरूप्रति जनतामा असन्तुष्टि बढ्न सक्छ । लोकतन्त्रका पहरेदार बन्नुपर्ने नेताहरूले लोकतन्त्रकै धज्जी उडाएपछि देशमा सकारात्मक सन्देशहरू गइरहेको छैन । राजनीतिमा जस्तोसुकै गलत क्रियाकलाप गरेर भएपनि शक्ति आर्जन गर्नुपर्छ र चुनाव जित्नुपर्छ भन्नेहरू हौसिएका छन् । नेपालको राजनीतिमा भविष्यमा खतरनाक षड्यन्त्रहरू हुनसक्छन् । यस्ता षड्यन्त्रहरू हिंसात्मक पनि हुनसक्छन् । राजनीतिक सफलता हासिल गर्न हिंसाको भर पर्नेहरू हावी भएमा देशमा अशान्ति र अराजकता निम्तनसक्छ । आफू र परिवारको स्वार्थका लागि प्रचण्डले जे षड्यन्त्र गरे र देउवा सहायक भए यसबाट उनीहरूले तत्कालको जित हासिल गरेपनि लोकतन्त्रमाथि नराम्रो प्रहार भएको छ । नेपाली जनता यस्ता गतिविधिप्रति बेलैमा सचेत हुन जरूरी छ । 

Related News