​राजनीतिक संस्कारको खाँचो

दृष्टि न्यूज

स्थानीय, प्रदेश तथा संघीय तहको निर्वाचनबाट पराजित भएको दल नेपाली कांग्रेसका सभापति एवं कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो सरकारको आयु लम्ब्याउन र जाँदाजाँदै शक्तिको दुरुपयोग गर्न जुन स्तरमा ओर्लिएका छन्, त्यसले हाम्रो राजनीतिको विडम्बनापूर्ण पक्षलाई इंगित गर्दछ । उनी आफ्ना राजनीतिक, आर्थिक र पारिवारिक सम्बन्ध भएकालाई राज्यको ढुकुटीबाट मनोमानी रुपमा पैसा वितरण गर्दै छन् । समग्र राज्यकै पुनःसंरचनाको काम भइरहेका बेला पुरानै संरचनाको शिरानमा थप दरबन्दी सिर्जना गरेर प्रशासनतन्त्रलाई व्यवस्थापन गर्नै नसकिने बनाउँदै छन् । जाँदाजाँदै ठेकापट्टाका काम आफ्नो स्वार्थ जोडिएका पक्षलाई दिन प्रत्यक्ष परोक्ष दबाब दिँदै छन् । चुनाव हारिसकेपछि पनि सत्तामा टाँस्सिइरहने, जसरी हुन्छ सिंहदरबार बसाइँको आयु लम्ब्याउन खोज्ने यो प्रवृत्ति जनादेशको घोर अपमान त हुँदै हो, राजनीतिक संस्कारका दृष्टिले समेत एकदमै निकृष्ट व्यवहार हो ।
प्रधानमन्त्री देउवा नेपाली राजनीतिमा लोकतान्त्रिक संस्कार, व्यवहार र प्रतिबद्धताका दृष्टिले सबैभन्दा अधम पात्र हुन् । उनीबाट राजनीतिक संस्कार अपेक्षा गर्नु नै मुर्खता ठहर्छ । उनको दल नेपाली कांग्रेसमा हिजो गिरिजाप्रसाद कोइरालाले जुन अलोकतान्त्रिक चरित्र र शक्तिको दम्भ प्रदर्शन गरेका थिए, आज देउवाले त्यसलाई पनि माथ गरेका छन् । तसर्थ, नेपाली कांगे्रस र उसको हालसम्मको नेतृत्वपंक्तिलाई कुनै पनि मानेमा हाम्रो राजनीतिक संस्कारको मानक मान्न मिल्दैन । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह केही अपवाद पुरुष हुन् ।
कांग्रेसमा मात्र होइन, यतिखेर राजनीतिक संस्कारको अभाव प्रायः दल, संगठन र तिनका हरेक तप्कामा देखिन्छ । यतिखेर राष्ट्रिय सभाको निर्वाचन भइरहेको र प्रदेश र प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ विजेता उम्मेदवारको नामावली टुंग्याउने सन्दर्भमा समेत केही अराजनीतिक व्यवहार जिम्मेवार नेताहरुबाट भइरहेका देखिन्छन् । राष्ट्रिय सभामा प्रायः कुन दलले कति स्थान जित हासिल गर्छ भन्ने स्पष्ट छ । तसर्थ यसमा उम्मेदवारी प्रस्तुत गर्दादेखि नै दलका प्रभावशाली नेताहरुले कुनै उदात्तता देखाउन सकेका छैनन् । निकै संकीर्ण भएर उनीहरुले आफ्नो स्वार्थ र सम्बन्धको घेराभित्रका व्यक्तिहरुलाई प्राथमिकता दिएर मौका दिइरहेका छन् । 
राष्ट्रिय सभा एउटा परिपक्व र विज्ञहरुको सभासमेत हो । यस सभामा प्रतिनिधित्व गर्ने सदस्यहरु केवल राजनीतिक दलका अडानको पैरवी गर्न मात्र होइन, राष्ट्रिय स्वार्थको रक्षा गर्न, दीर्घकालीन हितका कोणबाट विषयवस्तुमाथि हस्तक्षेप गर्न भूमिका खेल्न सक्ने हुनुपर्छ । दलीय अडानले त्यहाँसम्म मात्र भूमिका खेल्नुपर्छ, जहाँसम्म सत्ता समीकरणमा पक्ष र विपक्ष हुन्छ । संसदको तल्लो सदनमा मात्र सत्ताको खेल हुन्छ । तसर्थ त्यहाँ पक्ष प्रतिपक्ष हुन्छ । राष्ट्रिय सभामा पार्टीको टोपी फुकालेर वास्तवमै राष्ट्रिय स्वार्थका पक्षमा उभिन सक्ने प्रतिनिधि प्रस्तुत गर्नु हरेक पार्टीको जिम्मेवारी हो । तर, नेताहरुले प्रत्यक्ष निर्वाचनमा पराजय बेहोरेका र जनतबाट बहिष्कृत भएकाहरुलाई क्षतिपूर्तिस्वरुप उपल्लो सदनमा पुरस्कृत गर्न खोजेको देखिन्छ । कतिपय समानुपातिक प्रणालीमा सुरक्षित रहन खोजेका नेताहरु प्राविधिक र कानुनी बाध्यताका कारण संसदमा आउन छुट्दा उनले श्रीमती वा यस्तै अन्य आफन्तलाई पु¥याएर आफ्नो क्षतिपूर्ति भराई लिन खोजेको भान हुँदैछ । 
कतिपय नेताहरुका दम्पत्ति नै राज्यसत्तामा पुग्न कसरत गरिरहेका छन् र प्रत्यक्ष, समानुपातिक, केन्द्र, प्रदेश आदि जुन तह र मार्गबाट सम्भव हुन्छ, सत्ता र शक्तिलाई आफ्नै पकडमा राख्न चाहेको देखिन्छ । प्रकारान्तरले यो सामन्तवादी प्रवृत्ति हो । आफूभन्दा टाढा हेर्न नसक्ने, आफ्नाभन्दा बाहिरकालाई प्राथमिकता दिन नसक्ने र सधैँ आफ्नै घेराभित्र राज्यशक्तिलाई कैद गरी चल्न चलाउन खोज्ने प्रवृत्ति नयाँ स्वरुपको तानाशाही हो । समानुपातिक निर्वाचन प्रणालीले यस खालको कुप्रवृत्तिलाई हुर्कने ठाउँ दिएको छ । भलै यो निर्वाचन प्रणालीको प्रयोजन यो थिएन । समाजका सबै तप्काको न्यायोचित प्रतिनिधित्व होस्, कुनै पनि वर्ग र क्षेत्रले आफू बहिष्कृत गरेको अनुभव नगरोस् भन्ने महत्तम उद्देश्यले अपनाइएको निर्वाचन प्रणालीलाई समेत निजी हित प्रवद्र्धनको माध्यम बनाइन्छ भने त्यो नेताहरुको दुर्भावनाको हद हो ।
कुनै समय राणाहरुको जहानियाँ प्रवृत्ति आलोच्य थियो । त्यसपछि पञ्चायती तानाशाही शैली आलोचनाको तारो बन्यो । विगतमा कांग्रेस नेताहरुले चुनावलाई भ¥याङ बनाएर राज्यसत्ताको दोहन गरे र तिनलाई भ्रष्टाचारी भन्यौँ । जनताले ती सबै खालका प्रवृत्तिको विपक्षमा आफूलाई उभ्याएका छन् र यतिखेर बाम शक्तिहरुप्रति अपेक्षाको सागर उर्लिएको छ । बामपन्थी दलका नेताहरुले समेत यस्तै संकीर्ण सोच राख्ने भने न त यिनीहरु हिजोका त्याज्य नेता र व्यवस्थाभन्दा भिन्न हुनेछन्, न त जनताले यिनलाई सहेर बस्नेछन् । तसर्थ, कम्तीमा बाम नेतृत्वले राजनीतिक संस्कार प्रदर्शन गरोस् र जनअपेक्षाको सम्मान गर्दै समावेशी आर्थिक समृद्धिको नारालाई राष्ट्रिय भावधारामा एकाकार गरोस् ।

Related News