​संस्कृति जोगाउन माघी मेला हुने

दृष्टि न्यूज

धनगढी २४ पुस । माघी मेला समिति धनगढी उपमहानगरपालिका ९ बंगराकटानको आयोजनामा पुस ३० देखि माघ १ गतेसम्म माघी मेला हुने भएको छ । 
‘हाम्रो संस्कृति हाम्रो पहिचान,
संस्कृति बचाउने हाम्रो ।। 
मेची महाकाली भाइ–भाइ,
मेलामा आउनेलाई हार्दिक बधाई ।।

भन्ने मूल नाराका साथ दुई दिने महोत्सवको बंगरा कटानमा  आयोजना गरिएको कुरा मेला समितिका संयोजक तथा भलभन्सा ओमप्रकाश चौधरीले जानकारी दिएका छन् ।
मेलामा थारु कला र संस्कृतिमा आधारित खानाका परिकारहरु जस्तै : ढिक्री, अन्दीको भात, रोटी, तरुल, घोंगी, चट्नी, गँगटा, मुसाको मासु, बंगुर,सिद्रा वयरको चट्नी सक्करगन्जी लगायतका परिकारहरु राखिने कुरा संयोजक ओमप्रकाश चौधरीले जानकारी दिएका छन् । उनका अनुसार मेलामा १९ वटा स्टलहरु समेत राखिने छन् । 
माघी मेलालाई सभ्य र रमाइलो मनाउनका लागि थारु संस्कृतिमा आधारित विभिन्न सांगीतिक कार्यक्रमहरु  प्रस्तुत गर्ने कार्यक्रम रहेको कुरा सांस्कृतिक समितिका संयोजक दिनेश चौधरीले जानकारी दिएका छन् । उनका अनुसार मेला अवधीभर थारु र पश्चिमेली पहाडमा गाइने देउडालगायतका गीतहरुको प्रस्तुती समेत राखिने भएको छ ।
मेलामा चर्चित थारु जातीकाबाट राष्ट्रिय पहिचान बनाउन सफल दिनेश चौधरी, रमेश मिशन, मनिराम चौधरी, दर्पन कुश्मीया र देउडा गायक हिरण्डे सावदको पनि प्रस्तुती रहने पनि सांस्कृतिक संयोजक दिनेश चौधरीले जानकारी दिए । 
माघी मेलामा थारु संस्कृति झल्किने झाँकी र नाँचहरु प्रस्तुत गरिने पनि संयोजक चौधरीले बताए । 
पहिलो पटक आयोजना गरिएको उक्त माघी मेलालाई आगमी दिनहरुमा थप व्यवस्थित बनाउँदै लैजाने योजना रहेको पनि मूल आयोजक समितिका संयोजक ओमप्रकाश चौधरीले बताए ।

Related News