​महासंघमा ढकालको भाँडभैलो

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । नेपाल उद्योग वाणिज्य महासंघमा भवानी राणालाई जसरी भए पनि अध्यक्ष बनाउन विधान नै संशोधन गरेका महासंघका पूर्वअध्यक्ष चण्डी ढकाल अहिले फेरि विधान संशोधनको चक्करमा लागेका छन् । राणालाई अध्यक्ष बनाउन ढकालले विधान संशोधन गरेका थिए । संशोधित विधानमा वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने कुरा पास भएपछि भवानी राणा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी थिइन् । तर, अहिले आएर वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न ढकालले विधान संशोधन गरेर पुरानै अवस्थामा पुर्याउन चलखेल गरेका छन् ।
त्यतिबेला पनि हतारमा विधान संशोधन नगर्न महासंघका पूर्वअध्यक्षहरुले सुझाव दिएका थिए । तर, ढकाल समूहले जबर्जस्ती विधान संशोधन गरेपछि विधान अधिवेशनमा चण्डी ढकाल र रविभक्त श्रेष्ठबाहेक अन्य सबै पूर्वअध्यक्षहरुले बहिष्कार गरेका थिए । त्यस दिनदेखि यता कुनै पनि पूर्वअध्यक्षहरु महासंघको कार्यक्रममा सहभागिता जनाएका छैनन् ।
महासंघको विधानमा २५ प्रतिशत सदस्यले विधान संशोधनको प्रस्ताव पेश गर्न सक्ने प्रावधान रहेको छ । आगामी चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न हुने महासंघको साधारणसभामा विधान संशोधनसम्बन्धी प्रस्ताव लैजाने तयारी भइरहेको महासंघका एक सदस्यले दृष्टिलाई बताए । सो सूत्रका अनुसार, वरिष्ठ उपाध्यक्ष गोल्छा जिल्लातिर नजाने गुनासो बढेपछि गोल्छा र ढकालबीचको सम्बन्धमा चिसोपन आएको थियो । त्यसैको बदला लिन ढकालले गत फागुन २५ गते सम्पन्न जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधानलाई विजयी बनाएका हुन् । प्रधान गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा गोल्छासँग पराजित भएका थिए । अहिले भएको जिल्ला नगर उपाध्यक्षको निर्वाचनमा गोल्छा निरक केसीको पक्षमा र ढकाल प्रधानको पक्षमा विभाजित भएका थिए ।
महासंघ सूत्रका अनुसार विधान संशोधन गर्न ढकाल समूह सफल भएमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान संशोधन हुने छ । त्यसो भएको खण्डमा अध्यक्षदेखि सबै पदमा मतदान हुनेछ । र, त्यस्तो स्थितिमा ढकाल समूहले उपाध्यक्ष चन्द्र ढकाल वा किशोर प्रधानलाई भावी अध्यक्ष बनाउने भित्री तयारी गरेको बुझिएको छ ।

Related News