​बैंकिङ संस्कारको पहिलो पाठशाला विकास बैंक हो- महेशप्रसाद काफ्ले, प्रमुख कार्यकारी अधिकृत, कामना सेवा विकास बैंक

दृष्टि न्यूज

‘क’ वर्गका ठूला बाणिज्य बैंकहरुको भीडमा ‘ख’ वर्गको विकास बैंक सञ्चालन गरेर शेयर सदस्यहरुलाई प्रतिफल र ग्राहकलाई सन्तुष्टि दिनु सामान्य कुरा होइन ।  तर, नेपालका विकास बैंकहरु यो चुनौतीमा सफल भइरहेका छन् । 
जसमध्ये एक हो कामना विकास बैंक । विगत करिब एक वर्षदेखि राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कामना सेवा विकास बैंकले प्रतिस्पर्धीलाई उछिनेर अघि बढ्न सफल बैंकको रुपमा ग्राकहको मन जित्न सफल भएको छ ।  सम्पूर्ण कर्मचारीको मेहनत, शेयर सदस्यहरुको विश्वास तथा उद्यमी व्यवसायीहरुको मायाका कारण छोटो समयमा नै राष्ट्रिय स्तरको विकास बैंकहरुको सूचिमा छैटौं स्थानमा पर्न सफल भएको बताउँछन् प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्ले ।
 गत वर्ष साउन २० गते कामना र सेवा विकास बैंक मर्जर भएर बनेको कामना सेवा विकास बैंक अहिले विकास बैंकहरुको बीचमा अलग्गै पहिचान बनाउन सफल भएको छ । हाल काठमाडौंको ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय राखेर देशका ५१ वटा शाखा कार्यालयमार्फ सेवा प्रवाह गरिरहेको बैंकको सेवा पश्चिम क्षेत्रमा केन्द्रीत छ । पोखरामा केन्द्रीय कार्यालय राखेर राष्ट्रियस्तरको  विकास बैंकको रुपमा वित्तिय कारोबार गर्दै आएको कामना विकास बैंक र सेवा विकास बैंक मर्जर भई कामना सेवा विकास बैंकको रुपमा हाल काठमाडौंमा केन्द्रीय कार्यालय राखेर देशैभरि वित्तिय कारोबार गर्दै आएको बैंक हो । 
सुरुमा क्षेत्रीय तहमा काम गर्दै अनुभवद्वारा खारिएर अघि बढेको कामना विकास सेवा बैंकका सिईओले काफ्ले काठमाडौंमा सिक्नका लागि केही समय लागेको बताउँछन्। ‘क्षेत्रीय स्तरको विकास बैंकको रुपमा काम गर्न त खासै गाह्रो थिएन । हामी भर्खरै भर्खरै राष्ट्रियस्तरको विकास बैंकको रुपमा अनुभव गर्दैछौं । हामीले दशौं वर्ष बिताऔं ,’ उनी भन्छन्,‘सम्बन्धको आधारमा व्यापार गर्दथ्यौ । सानो पुँजी रिटर्न राम्रो दिन सकिरहेका थियौं । कर्मचारीहरुलाई पनि राम्रोसँग समन्वय गरेका थियौं । अहिले राष्ट्रियस्तरको विकास बैंक भएका छौं । त्यस आधारमा पुँजी पनि बढ्यो । यसअघिको राष्ट्रियस्तरको बाणिज्य बैंकको भन्दा ठूलो आर्थिक कारोबार गर्नुपर्ने दायित्व हामीमा छ । त्यसलाई व्यवस्थापन गर्ने अभ्यास गरिरहेका छौं ।’
तीव्र प्रतिस्पर्धाका बीचमा बैंकले कूल नाफाका आधारमा छैटौं स्थानमा रहन सफल हुनु बैंकका कर्मचारी, शेयर सदस्य तथा सञ्चालकहरु सबैका लागि गौरवको विषय भएको सिईओ काफ्ले बताउँछन् । ‘बिजेनस त यही नेपाल नै त हो । अस्वस्थ प्रतिस्पर्धां भइरहेको छ’ उनले भने,‘एउटा बैंकले २० लाख दिएको छ भने अर्को बैंकले बोलाएर ४० लाख दिने परिपाटीको विकास भएको छ । भ्यालुएटरको पनि समस्या छ । एउटै सम्पत्तिको फरक फरक भ्यालुएटरले फरक फरक मूल्याङ्कन गर्ने गरेको अवस्था छ ।’
विकास बैंकलाई बाणिज्य बैंकहरुसँग प्रतिस्पर्धी गर्दै बढाउन निकै चुनौतिपूर्ण रहेको सिईओ काफ्लेको अनुभव छ । ‘विकास बैंक भनेपछि आम जनताको धारणा नै  फरक छ । विकास बैंकले डिपोजिट तान्नु प¥यो भने बढि ब्याज त दिनै प¥यो । बढि ब्याज दिएपछि हामीले ऋणीसँग पनि केही बढि त लिनै प¥यो । कर्जा लिने ऋणीले त सधैं प्रतिफल नै हेर्छन ।’
विकास बैंक नेपालमा बैंकिङ क्षेत्रको विकासको कोसेढुंगा भएको सिईओ काफ्ले  बताउँछन् । असल ऋणी र असल कर्मचारी उत्पादन गर्ने मुख्य थलो विकास बैंकहरु नै भएको उनको  ठम्याई छ । नेपालमा बैंकिङ संस्कारको पहिलो पाठशाला विकास बैंक भएको सिईओ काफ्ले बताउँछन् । हुन पनि हो,  ठूलो आर्थिक कारोबार गर्न बैंक प्रवेश गर्नुअघि उद्यमीले सबैभन्दा पहिला विकास बैंकबाट ऋण लिएको हुन्छ । कुनै पनि आर्थिक कारोबार नगरेको तर उद्यमी बन्ने सपना देखेको युवालाई कुनै पनि बाणिज्य बैंकहरुले ऋण दिँदैनन् । बैंकिङ कारोबारको हिस्ट्री खोज्दछन्, विकास बैंकले युवाहरुलाई उत्साह र प्रेरणासहित स–सानो आकारमा ऋण दिँदै अनुगमन गर्दै नियमित किस्ता र ब्याज तिर्ने प्रणालीमा अभ्यस्त बनाँउछ । अलि ठूलो व्यापार गर्ने भएपछि सस्तो ब्याजका लागि बाणिज्य बैंकतर्फ हान्निन्छन्, विकास बैंक फेरि अर्को नयाँ ऋणी उत्पादन गर्नतर्फ जुट्नुको विकल्प हुँदैन । कामना सेवा विकास बैंकका काफ्ले आफ्नो अनुभव यसरी सुनाउँछन्, ‘हामीले धेरै मेहनत गरेर बैंकिङ पद्धति र बैंकिङ संस्कार सिकाएर एउटा मानिसलाई उद्यमी, व्यापारी बनाएका हुन्छौं, अनि बाणिज्य बैंकले फ्याट्ट थुतेर लगेपछि हाम्रो समस्या जहाँको त्यही । भोलिपल्ट अर्को नयाँ ऋणी खोज्न हिड्नुपर्ने अवस्था आउँछ ।’
त्यसो त उद्यमी मात्रै होइन बाणिज्य बैंकका लागि आवश्यक ठूलो मात्रामा जनशक्ति उत्पादनमा विकास बैंकको भूमिका छ । सिईओ काफ्ले जनशक्ति समस्या मुख्य समस्याको रुपमा बैंकिङ क्षेत्रमा देखा परेको बताउँछन् । ‘दक्ष जनशक्ति माईग्रेट हुने समस्या छ । कर्मचारीहरुलाई प्लेटफर्म बनाईदियो, त्यो कर्मचारीलाई प्रमोशन गरेर बाणिज्य बैंकले लैजान्छ । हामी तालिम दिने, सिकाउने सिष्टम चलाउन अभ्यस्त बनाउने अनि बाणिज्य बैंकहरु जम्प गरेर कर्मचारी थुत्ने हुन थालेको छ ।’ सिईओ काफ्लेले भने । 
विकास बैंकको क्षेत्रमा नयाँ प्रयोगका साथ पहिलो नम्बरको बैंक बन्ने महत्वाकांक्षी योजनामा कामना सेवा विकास बैंक जुटेको छ । ख बर्गको राष्ट्रियस्तरको बाणिज्य बैंकको लागि पुँजी पु¥याउने अभियानमा रहेको बैंकको चुक्ता पुँजीमा कुनै समस्या छैन केवल कागजी प्रक्रिया मात्रै पूरा हुन बाँकी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत काप्mले बताउँछन् ।
साथै बैंकले चालु आर्थिक वर्षमा १८ वटा ब्रान्च थप गर्ने निर्णय गरेर कूल ५८ वटा शाखा पु¥याउँने लक्ष्य भेट्टाउनै लागेको छ । मर्ज हुँदा सेवा विकास बैंक र कामना विकास बैंकको कूल शाखा कार्यालय ४० वटा थियो । अहिलेसम्म ११ वटा शाखा कार्यालय थप भइसकेको छ । चालु आर्थिक वर्षभित्रैमा अरु ७ वटा शाखा कार्यालय थप गरेर आर्थिक कारोबारलाई बृहत बनाउने योजनामा छन्  सिइओ काफ्ले । कर्मचारीहरुबीचमा क्षमता विकास र अनुभव आदान प्रदानका लागि दुई बैंकका कर्मचारीहरुबीचमा इन्टरकल्चर मिक्स गरेर व्यवस्थापन गर्ने कार्य भइरहेको छ । गत चैत्रसम्मको नतिजा हेर्दा २२ करोडभन्दा बढि मुनाफा आर्जन गरेर शेयर सदस्यहरुलाई खुशी पार्न सफल भएका काफ्ले आगामी दिनमा सेवा प्रवाहलाई सरल, चुस्तदुरुस्त र सर्वसुलभ बनाएर उद्यमी व्यसवायी तथा आम सर्वसधारणको मन जित्ने प्रयत्नमा दत्तचित्त भएर अघि बढेका छन् ।   

Related News